
३२ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताएका छन् । विभिन्न किसान संघसंगठनका प्रतिनिधिसँग बिहीबार भएको भेटमा उनले यस्तो बताएका हुन् ।
विभिन्न किसान संघसंगठनका प्रतिनिधिले आयातित आलु, प्याज लगायतका तरकारीमा लगाइएको करले नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएको भन्दै अर्थमन्त्री महतलाई आभार प्रकट गरेको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताए ।
आलु र प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्नु रहेको उनको भनाइ छ । यस करले आयातित वस्तुलाई महँगो बनाउने र स्थानीय उत्पादनलाई सहयोग गर्ने उनले बताए ।
पहिला कागज देखाएर मात्रै अनुदान लिने प्रवृत्ति रहेकोमा अब उत्पादनमा आधारित भएर अनुदान दिइने उनले बताए । अर्थमन्त्री महतले अहिले करको दर लागु नहुँदै सुनियोजित रुपमा केहि संगठित व्यक्तिहरुले मूल्यवृद्धि गराएको बताए ।
प्रतिक्रिया 4