+
+

विषयगत समिति सभापति चयन गर्न सांसदहरुको माग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १९:४३

३२ जेठ, काठमाडौं। सांसदहरुले अविलम्व समिति सभापति चयन गर्न माग गरेका छन्। प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिहरुमा हालसम्म सभापतिको चयन हुन सकेको छैन। हाल समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरिरहेका छन् ।

सांसदहरुले निर्वाचित समिति सभापति नहुँदा समितिका काम कारबाहीहरुमा अफ्ठ्यारो परेको भन्दै छिटोभन्दा छिटो समिति सभापतिको चयन गर्न माग गरेका हुन्।

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले समिति सभापति चयन नगर्दा समिति र संसदले तीव्र गतिले काम गर्न नसकेको बताए।उनले गठबन्धनका नेताहरुले भागबण्डा गर्न ढिलाइ गर्नु नहुने र समिति सभापति चयन हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘संसदले जसरी तिब्र गतीमा काम गर्न सक्नुपर्थ्यो, काम गर्न नसक्नुको महत्वपूर्ण पार्ट भनेको समितिहरुको सभापति तीव्र गतिमा निर्वाचित नहुनुले पनि ढिलाइ भएको छ। राजनीतिक दलहरुको काम गर्ने तरिका ढिलासुस्ती छ। त्यही भएर त हामी आलोचना खेपिराखेका छौँ। समितिका सभापति क-सलाई कुन भागमा पर्ने हो तुरुन्त बाँडेर तुरुन्त समितिलाई सक्रिय बनाउनुपर्थ्यो नि। किन ढिलाइ गरेको होला ? समितिलाई म दोष दिन्न।’

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले समिति सभापति नहुँदा समितिको काममा प्रभाव परेको बताए। उनले कतिपय विषय सभापति आएपछि गर्ने भनेर पनि राखिएको बताए। उनले बजेट पास भएपछि समिति सभापति चयन हुने बताए।

नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले यतिका दिनसम्म समिति सभापति चयन हुन नसक्नु अनुत्तरदायी र गैरजिम्मेवारीको पराकाष्ठा भएको बताए । उनले सत्तापक्षको कारण सभापति चयन हुन नसकेको उल्लेख गर्दै सत्तापक्षलाई गम्भीर बन्न आग्रह गरे ।

उनले भने, ‘यो भन्दा हाम्रो जनताको बीचमा अनुत्तरदायी र गैरजिम्मेवारीको पराकाष्ठै हो भनेर म भन्नसक्छु। छिटोभन्दा छिटो समिति सभापति चयन गर्नुपर्‍यो। सभापति नभएका कारणले बैठकहरु नियमित हुन सकिराखेका छैनन्। सघन ढंगले गम्भिरताका साथ छलफल हुन सकिराखेको छैन। सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने, निगरानी गर्नुपर्ने, यि कामहरु पनि हुन सकिराखेका छैनन्। समिति काम चलाउ मात्र छ अहिले । त्यसले गर्दा संसदको प्रभावकारिता बढ्न सकेको छैन। सत्तापक्षको कारणले गर्दा समिति सभापति चयन हुन नसकेको हो। यसमा सत्तापक्ष गम्भिर बन्नुपर्‍यो।’

नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले अविलम्ब सभापति चयनको कार्यतालिका सार्वजनिक गर्न सभामुखलाई आग्रह गर्नुभयो। अनन्तकालसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्नु नहुने उनको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले समितिको कामलाई प्रभावकारी बनाउन समिति सभापति चाँडै चाहिएको बताए ।

जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले ज्येष्ठ सदस्यले समिति बैठकको अध्यक्षता गरिरहेको उल्लेख गर्दै समितिको प्रभावकारिता ज्येष्ठ सदस्यको इच्छाशक्तिमा भर पर्ने बताइन्। यद्यपि, हालसम्म समितिको काम नरोकिएको उनको भना छ। उनले समिति सभापति चाँडै चयन हुनेमा विश्वास व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?