३२ जेठ, काठमाडौं । नेपालको पुरुष भलिबल टिम आउने चार महिना धेरै व्यस्त हुनेछ । खेलकुदको भाषामा भन्दा यो टिमले यसबीचमा थुप्रै एक्स्पोजर पाउँदैछ ।
नेपालले खेल्ने आसन्न तीनमध्ये पहिलो प्रतियोगिता काभा नेशन्स लिग भलिबल किर्गिस्तानको बिस्केकमा हुँदैछ । नेशन्स लिग खेल्ने नेपाली टिम शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ ।
काभा नेशन्स लिगमा एसियन च्याम्पियन इरानसँगै अन्य ६ टिमको सहभागिता छ, जो नेपालभन्दा माथिल्लो वरीयतामा छन् ।
पछिल्लो ८ वर्षदेखि सेन्ट्रल जोन सिनियर मेन्स भलिबलमा नियमित सहभागिता जनाउँदै आएको नेपालले रुसी ब्लकका किर्गिस्तान, उज्वेकिस्तान, काजकस्तान र तुर्कमेनिस्तानसँगै मंगोलिया र इरानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
बलिया टिमसँग खेल्नुपर्ने नेपालको तयारी उति पर्याप्त छैन । हालै काभा भलिबल वुमन्स च्यालेन्ज कपको आयोजना गरेको नेपाल भलिबल संघले पुरुष टिमलाई त्यति प्राथमिकता दिएन । राष्ट्रिय महिला टिमको सहायक प्रशिक्षकका रुपमा रहेर महिला टिमको प्रशिक्षण गरेकै समयमा जगदीश भट्टले पुरुष टिमलाई पनि प्रशिक्षण दिइरहेका थिए ।
एसियन भलिबल महासंघले आफूमातहतका चार क्षेत्र छुट्याउँदा सेन्ट्रल एसियामा नेपाल पनि छ । सेन्ट्रल जोन भलिबल संघले सन् २०१५ देखि पुरुषको प्रतियोगिता आयोजना सुरु गरेको हो । त्यसले यो क्षेत्रका टिमहरुलाई अनुभव र एक्स्पोजरमा ठूलो सहयोग गरेको थियो ।
नेपालले पहिलो संस्करणदेखि नै सो प्रतियोगिता खेलिरहेको छ भने सन् २०१९ मा एक संस्करण आयोजनासमेत गरेको छ । सन् २०१७ मा माल्दिभ्समा भएको तेस्रो संस्करणमा नेपालले कांस्य पदक जितेको थियो । त्यो नै नेपाली भलिबलको झण्डै पाँच दशकको इतिहासमा एकमात्र अन्तर्राष्ट्रिय पदक हो ।
त्यतिबेला किर्गिस्तानसँग पराजित भएपछि नेपाल कांस्यमा सीमित भएको थियो । अहिले नेपालका लागि तुलनात्मक रुपमा सबै टिम बलिया प्रतिस्पर्धीका रुपमा छन् । नेपालले किर्गिस्तान, काजकस्तान र तुर्कमेनिस्तानलाई अहिलेसम्म हराउन सकेको छैन ।
मंगोलियालाई सन् २०१८ को एसियाली खेलकुदमा ३–१ र उज्वेकिस्तानलाई भने डेढ वर्षअघि बंगलादेशमा सम्पन्न छैटौं सेन्ट्रल जोन सिनियर मेन्स भलिबलको समूह चरणमा ३–१ कै सेटमा पराजित गरेको थियो । नेपालले इरानसँग अहिलेसम्म खेल्न पाएको छैन । इरानले सन् २०१८ को एसियाली खेलकुदमा स्वर्ण पदक जितेको थियो ।
‘जित/हार भन्दा पनि खेल्ने र सिक्ने नै यसको लक्ष्य हो । भलिबलको क्रमवद्ध विकासकै रुपमा लिन सकिन्छ । हामीले अहिलेसम्म सेन्ट्रल एसियामा प्रतिस्पर्धा गरिरहेको टिमको तुलनामा फरक टिमहरुसँग यसपल्ट खेल्न गइरहेका छौं,’ नेपाल टिमको प्रमुख उद्देश्यमा प्रशिक्षक भट्ट प्रष्ट छन् ।

उनले भनेजस्तै नेपालको वास्तविक लक्ष्य नै ठूला टिमसँग सिक्ने हो । नेपाल टिम डेढ वर्षपछि पहिलोपल्ट अन्तर्राष्ट्रिय भलिबल खेल्दैछ । त्यसमा पनि दक्षिण एसियाबाट माथि उठेर बलिया विपक्षीसँगको म्याच एक्स्पोजर नेपालका लागि आउने दुई प्रतियोगितामा सञ्जीवनी बुटी हुनसक्छ ।
नेपालले साउन १७ देखि २५ सम्म श्रीलंकामा आयोजना हुने काभा भलिबल मेन्स च्यालेन्ज कप खेल्नेछ भने असोज ६ देखि १९ सम्म चीनको होङ्झोउमा आयोजना हुने १९औं एसियाली खेलकुदमा सहभागी हुनेछ । राष्ट्रिय खेल भलिबलमा महिला र पुरुष दुवै टिमले एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नेछन् ।
‘उचाइ, अनुभव र वरीयता सबैमा उनीहरु हामीभन्दा अगाडि छन्,’ विपक्षीबारे प्रशिक्षक भट्ट भन्छन्, ‘यो हाम्रो भलिबल विकासका लागि एउटा अवसर पनि हो । हामीले आफूभन्दा माथिल्लो वरीयताको टिमसँग खेल्छौं भने स्तरमा केहि न केहि प्रभाव पर्छ ।’
नेपाल भलिबल संघले उच्च वरीयताका टिमहरु सम्मिलित प्रतियोगिता खेलाउने निर्णय गरेको हो । जहाँ दक्षिण एसियाका अन्य कुनै टिम सहभागी छैनन् तर, हामी जाँदैछौं । उच्च वरीयताको टिमसँग खेल्नु र प्रतियोगिता राउण्ड रोविन प्रणालीमा हुँदा सबै टिमसँग खेल्न पाउनु पनि नेपाल भलिबलका लागि उपलब्धीको कुरा हो ।
यो अनुभवले हामी श्रीलंकामा सेन्ट्रल जोन डेढ महिनापछि खेल्नुपर्नेछ । त्यसपछि एसियाली खेलकुद आउनेछ । त्यो खेलमा सहभागी हुने टिमहरु फरक देशका छन् । किर्गिस्तानमा सिकेर आएको कुरालाई हामी श्रीलंका र त्यसपछि एसियाली खेलकुदमा प्रयोग गर्नेछौं ।
१२ सदस्यीय नेपाल टिममा यसपल्ट निवर्तमान कप्तान इम रानामगरसहित केहि खेलाडी छुटेका छन् । इम र अर्का सिनियर लिबेरो ईश्वर थापामगरले डेढ महिनाअघि आयोजित छनोट प्रतियोगिता खेलेनन् । छनोटबाट छानिएका १८ जनाले करिव एक महिना प्रशिक्षण गरेपछि उत्कृष्ट १२ जनालाई छनोट गरिएको प्रशिक्षक भट्ट बताउँछन् ।
‘हाम्रो टिम यसअघिको भन्दा राम्रो छ । किनभने अनुभव र युवा जोशको समिश्रण छ । यो सन्तुलनलाई कोर्टमा कायम राख्न सकियो भने बलिया टिमहरुलाई चुनौति दिन सक्छौं’, भट्टले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘हामीसँग चारै पोजिसनमा एक एक जना नयाँ खेलाडी छन् ।’
अलराउण्डरका रुपमा हेमन्तबहादुर मल्ल, मिडिल ब्लकर सफल विश्वकर्मा र लिवेरो भीमबहादुर गाहा पहिलोपल्ट राष्ट्रिय टिममा परेका छन् । स्पाइकर रोविन चन्दले टिममा पुनरागमन गरेका हुन् । लिबेरोका रुपमा भीम एक्लै छन् । सफल र हेमन्त यू–२३ राष्ट्रिय टिमबाट आएका हुन् ।

बलिया टिमसँग प्रतिस्पर्धा गर्न लागेको नेपाल टिमले दबावमुक्त भएर प्रदर्शनको राणनीति लिनेछ । विपक्षी टिमलाई दबाव दिने गरी आत्मविश्वासका साथ खेल्ने नयाँ कप्तान हरिहजुर थापाले बताए ।
‘जतिसुकै बलियो टिम भए पनि हामी हार्नका लागि खेल्दैनौं । पदक लिन नसके पनि पहिलेको तुलनामा राम्रो खेल्न सक्यौं भने भलिबलको विकास भएको सन्देश दिन सकिन्छ’, अनलाइनखबरसँगको कुराकानीमा नयाँ कप्तान थापाले भने, ‘यति ठूलो प्रतियोगिताअघि आफ्नो क्षमताको परीक्षण गर्न पाएको भए अझै राम्रो हुन्थ्यो भन्ने चाहीँ थियो ।’
नेपालले नेशन्स लिगअघि कुनै अभ्यास वा मैत्रीपूर्ण खेल खेल्न पाएन । एक महिनाको तयारी, बलिया विपक्षी र कुनै प्रतिस्पर्धात्मक परीक्षणविना सिधै प्रतियोगिता खेल्दैछ । एक महिनाको तयारीमा नेपालले सर्भिस, रिसिभ र डिफेन्समा केन्द्रित भएको छ । नेपालको परम्परागत कमजोरी पनि त्यही नै हो । यसपल्ट सर्भिसमा नयाँ शैलीको प्रयास गरिने र सफल भएमा आसन्न प्रतियोगिताका लागि फाइदा हुने प्रशिक्षकले बताए ।
‘सर्भिस भनेको नै विपक्षी टिमलाई दवावमा राख्ने सबैभन्दा प्रमुख हतियार हो । तर, हामी कमजोर भइरहेका छौं । केहि खेलाडीले अहिले जम्पिङ सर्भिसको प्रयास गरिरहेका छन् । उनीहरुका लागि पनि यो प्रतियोगिता राम्रो अभ्यास हुनेछ’, प्रशिक्षक भट्टले भने ।
टिमका सिनियर खेलाडी धनबहादुर भट्ट पनि आफूहरुले अहिलेसम्मको तयारीका आधारमा शतप्रतिशत प्रदर्शन गर्नुपर्ने बताउँछन् । उनले नयाँ खेलाडीहरुको जोश टिमको अतिरिक्त उर्जा रहेको बताए । ‘हाम्रो लक्ष्य भनेको आफ्नो शतप्रतिशत प्रदर्शन गर्नेमा हुनुपर्छ जस्तो लाग्छ । नयाँ खेलाडीहरु राम्रो उचाइ र शक्तिशाली प्रहार गर्न सक्छन् । नयाँ पुस्ता यसै पनि परिस्कृत भइहाल्छ,’ उनले भने ।
पहिलोपल्ट टिममा परेका लिवेरो भीम र मिडिल ब्लकर सफल विकले आफूहरु उत्साहित रहेको बताए । दुवै नेपाल पुलिस क्लबबाट घरेलु भलिबल खेल्छन् भने गण्डकी प्रदेशका हुन् । पाल्पा, रम्भाका ३० वर्षीय भीमले आफ्नो पोजिसनमा एक्लै हुँदा उत्साहित र डर एकैपल्ट लागेको बताए ।
उनले भने, ‘पहिलादेखि नै खेलिरहेको भएर आत्मविश्वास त छ तर, आफ्नो पोजिसनमा एक्लै हुँदा कतै राम्रो खेल्न सक्दिन कि भनेर डर पनि लागेको छ । प्रशिक्षक र टिमा साथीहरुले हौसला दिइरहनुभएको छ ।’
कास्की, मादीका सफल २० वर्षका भए । यू–२३ टिम हुँदै राष्ट्रिय टिमको ढोका खोलेका उनसँग धेरै अनुभव पनि छैन । प्रशिक्षक भट्टको भनाईमा यी खेलाडीको शशक्त प्रहार र आत्मविश्वास राम्रो छ । उनले सिनियर खेलाडीहरुसँग सिक्दै खेल्दा रमाइलो भइरहेको बताए ।
इमलाई प्रतिस्थापन गरी हरिहजुर
भरत शाहले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएपछि कैलाश भट्ट र त्यसपछि इम रानामगर नेपाल राष्ट्रिय टिमको कप्तान बनेका थिए । ९ वर्षको अन्तरालमा नेपालले खेलेका सबै प्रतियोगितामा इमको कप्तानी रह्यो । उनी सन् २०१७ मा सेन्ट्रल जोन भलिबलको ऐतिहासिक कांस्य पदक जित्दाका कप्तानसमेत हुन् ।
इमले अघोषित सन्यास लिएपछि नेपाल टिममा नेतृत्वगर्ने जिम्मेवारी हरिहजुरको काँधमा आएको छ । ८ वर्षदेखि राष्ट्रिय टिमबाट नियमित खेलिरहेका हरिहजुर पनि इमजस्तै सेटर पोजिसनका खेलाडी हुन् । टिममा अहिले सबैभन्दा सिनियर खेलाडीसमेत हुन् ।

भलिबल संघले उनलाई यही प्रतियोगितादेखि कप्तानको जिम्मेवारी दिएको हो । ‘सेटर पोजिसनबाट खेल्ने खेलाडीलाई सधैं नै खेलमा एक किसिमको छुट्टै जिम्मेबारी हुन्छ । अहिले कप्तानी पनि गर्नुपर्दा जिम्मेवारी बढेको छ,’ कप्तान बनेपछि प्रतिक्रिया दिँदै हरिहजुरले भने ।
नयाँ टिमलाई एउटा लय दिने चुनौति भने हरिहजुरमा छ । कमजोर तयारी र बलिया प्रतिस्पर्धी उनको पहिलो कप्तानीका चुनौति हुन् । युवा खेलाडीहरुको जोशलाई लय लिन सकियो भने प्रदर्शन लिन सकिने उनी बताउँछन् । यो प्रतियोगिता आसन्न दुई प्रतियोगिताका लागि भने धेरै नै महत्वपूर्ण हुने उनले बताए ।
‘यसअघि सामान्यत तीन वा चार खेल खेल्न पाइन्थ्यो भने यसपल्ट राउण्ड रोविन प्रणालीमा बलिया टिमसँग ६ खेल खेल्नेछौं,’ उनले थपे, ‘सेन्ट्रल जोन र एसियाली खेलकुदका लागि पनि आत्मविश्वास बलियो पारेर फर्कनेछौं ।’
नेपाल टिम :
हरिहजुर थापा (कप्तान), लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्तबहादुर मल्ल र भीमबहादुर गाहा ।
प्रशिक्षक : जगदीश भट्ट,
सहायक प्रशिक्षक : भरत यादव ।
प्रतिक्रिया 4