+
+

दलितले छोरी भगाएको भन्दै केटाकी आमाको अपहरण

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते २०:५४
अपहरणमा परेकी राजकुमारी महरा ।

३२ जेठ, जनकपुरधाम । प्रेम सम्बन्धमा रहेका सिरहाका १९ वर्षीय कमलेश महरा र १८ वर्षीया नेहा कापरले भागेर बिहे गरे । २३ चैतमा भागेका उनीहरु अहिलेसम्म सार्वजनिक भएका छैनन् । तर गैरदलितको छोरी भगाएको भन्दै केटीपक्षले केटाको आमाको अपहरण गरेको पाइएको छ ।

सिरहाको मिर्चैया नगरपालिका–१ की ४५ वर्षीया राजकुमारी महरा मंगलबार बन्दीपुरस्थित भुल्केचोकबाट अपहरणमा परेकी थिइन् । कमलेशकी आमा राजकुमारीलाई बुधबार राति साढे ८ बजे अपहरण मुक्त गरिएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

अपहरणमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका–१० की ललिता कापर, मनोज कापर र सुवेल अंशारी रहेको डीएसपी वस्नेतले बताएका छन् । ललिता, नेहा कापरकी आमा हुन् ।

डीएसपी बस्नेतका अनुसार राजकुमारी ट्याम्पुमा आफन्तसित धनुषाबाट आउँदै गरेको थाहा पाएपछि ललिलतासहित ८ जनाको समूहमा अपहरण गरेका थिए ।

खोजतलासको क्रममा बुधबार राति राजकुमारीलाई लहानबाटै अपहरण मुक्त गरिएको हो । ललितालाई त्यहीबाट नियन्त्रणमा लिइएको डीएसपी वस्नेतले बताए ।

अपहरणमुक्त भएकी राजकुमारीका अनुसार अपहरण गरेर राति गाडीमा भारततिर लगेका थिए । प्रहरीले चेकजाँचका लागि रोक्दा आफूले अपहरण गरेर लगेको गुहार मागेको भएपनि उपचारको लागि लग्न लागेको भनेर ढाँटेका थिए । अपहरणको क्रममा आफूमाथि कुटपिट र यातना दिएको राजकुमारीले बताइन् ।

उनका अनुसार तल्लो जात (दलित) ले आफ्नो छोरी भगाएको भन्दै केटी पक्षले निरन्तर तनाव दिने गरेको छ । केटीकी बुबा राजकुमार, आमा ललिताले कहाँ भगाएको भन्न दबाब दिँदै कुटपिट तथा यातना दिँदै आएका छन् ।

केटाकेटी भागेकै समय केटीको घरपरिवारले केटाको आमा राजकुमारीमाथि निर्घात कुटपिट गरेका थिए । प्रहरीलाई जानकारी भएपछि केही दिन सुरक्षा दियो, तर कुटपिट गर्नेमाथि केही कारबाही भएन ।

केटीका बुवा राजकुमार र आमा ललितासहितले केटाका काका रामअशिषका छोरा २५ वर्षीय रुपेश महरामाथि आक्रमण गरे । विराटनगरको न्युरो र काठमाडौंको मेडिसिटीमा उपचार गराएका उनी केही दिनअघि मात्र घर फर्किएका छन् ।

रुपेशको परिवारले केटीकी आमाबुबामाथि मिर्चैया प्रहरीमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएका छन् । तर राजनीतिक पहुँचको कारण प्रहरीले पक्राउ नगरेको र त्यही कारण एकपछि अर्को घटना घटाएको पीडित परिवारको आरोप छ ।

डीएसपी बस्नेतले पक्राउ गर्ने प्रयासमा लागेको बताए । अपहरण घटनामा केटीकी आमासहित आठजनाविरुद्ध किटानी जाहेरी दर्ता भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?