
१ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले तत्काल प्रदेश युवा नीति जारी गर्ने प्रतिवद्धता जनाएकी छन् । मन्त्री सिंखडाले गण्डकी प्रदेशका युवाका समस्या र सम्भावना पहिचान गरेर जतिसक्दो चाँडो युवा नीति पारित गर्ने बताइन् ।
राष्ट्रिय युवा परिषद र सामाजिक विकास मन्त्रालयद्वारा पोखरामा सञ्चालित चार दिने नमुना युवा संसद अभ्यासको समापन समारोहमा बोल्दै मन्त्री सिंखडाले भनिन्, ‘हामी पहिला प्रदेश युवा नीति बनाउँछौं र क्रमशः प्रदेश युवा परिषद गठन गर्ने दिशामा अघि वढ्छौं ।’
कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले आजका युवाले भोलिको सुन्दर नेपालको सपना साकार पार्नुपर्ने बताए । उनले भने, ‘आज मुलुकले युवाको भुमिका खोजेको छ । तर युवाहरुले आफूलाई तयार पार्नुपर्दछ ।’
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले कूल जनसंख्याको ४२.५६ प्रतिशत हिस्सा ओगट्ने युवाहरुलाई तिनै तहका सरकारले उच्च प्राथमिकतामा राखेर काम नगरेसम्म देशले काँचुली नफेर्ने बताए ।
बस्नेतले नमुना युवा संसद अभ्यासको माध्यमबाट युवाहरुलाई मुलुकको संविधान, लोकतान्त्रिक मूल्य, शासकीय स्वरुप, सुशासन, विकास र दिगो विकास लक्ष्य जस्ता विषयमा प्रशिक्षित गर्ने गरिएको जानकारी दिए ।
प्रतिक्रिया 4