
१ असार, काठमाडौं। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको ताला शुक्रबार सिडिओ कार्यालयले फुटाएको छ। तर, ताला फुटाए पनि तालाबन्दीकर्ताको धम्कीका कारण कोहीभित्र छिर्न सकेका छैनन्।
गत वैशाख २८ गते विभिन्न माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयको मुख्य गेटमा अखिल क्रान्तिकारीले ताला लगाएको नखुल्दै माओवादी निकटकै नेपाल राष्ट्रिय कर्मचारी संगठनले जेठ १२ गते विश्वविद्यालयमा अर्को ताला लगाएको थियो ।
सिडियो कार्यालयले ताला फुटाएको र प्रहरीहरु आएर गेटमा बसे पनि आन्दोलनकारीहरुको धम्कीको कारण भित्र कोही नछिरेको एक प्राध्यापकले जानकारी दिए। उनले भने, ‘सिडिओ आएर ताला फुटाएर जानुभयो। तर भित्र छिरे खुट्टा भाँच्ने भन्दै केही कर्मचारीहरुले धम्काएको सुनिन्छ। त्यसैले प्रहरी पनि आएर बसेको छ भित्र कोही छिरेका छैनन्।’
उपकुलपति, रजिष्टार तथा डीनहरु भने होटलमा कार्यक्रम गरेर बसिरहेको उनले बता । उनले भने, ‘उहाँहरु युएसएडको प्रोजेक्टको विषयमा छलफल गर्न सीजीको होटलमा व्यस्त हुनुहुन्छ यहाँ यस्तो छ हालत।’ आफू भने बाहिर भएको ल्याबमा काम गरेर फर्किएको बताए ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले बाहिर कार्यक्रममा रहेको जानकारी दिए। उनले भने ‘सिडियो कार्यालयले ताला खोलाउनु भएको छ। तर हामी बाहिर कार्यक्रममा व्यस्त छौं।’ विहीवारदेखि सनिबारसम्म पूर्व निर्धारित तीन दिने कार्यक्रम भएकोले आइतबार मात्रै कार्यालय जाने बताए।
कृषि विभागमा कांग्रेस निकटलाई डीन बनाइएपछि माओवादी निकट विद्यार्थी संगठन तथा कर्मचारीहरु आन्दोलित हुँदै आईरहेका छन्।
प्रतिक्रिया 4