
१ असार, काठमाडौं । धादिङको गजुरी गाउँपालिकाले राहत शिक्षक पदमा दोस्रो पत्रको परीक्षा लिएपछि प्रकृया नपुगेको भन्दै फेरि परीक्षा सञ्चालन गर्ने भएको छ ।
पालिकाको वडा नम्बर ७ मा रहेको किराञ्चोक कटुञ्जे माध्यमिक विद्यालयले गत वैशाख १४ गते निमावि तहको नेपाली विषयको लागि १ र गणित तथा विज्ञान विषयका लागि १ राहत शिक्षकको माग गर्दै आवेदन माग गरेको थियो ।
सोही विज्ञापनको आधारमा परेको निवेदकहरुको पालिकाले प्रथम पत्रको परीक्षा वैशाख ३१ गते परीक्षा सञ्चालन गरेर नतिजा सार्वजनिक गर्नुको साथै सोही दिन दोस्रो पत्रको परीक्षा पनि लिएको थियो ।
दोस्रो पत्रको परीक्षा लिएको एक महिनापछि प्रकृया नपुगेको भन्दै पालिकाले पुन परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
पालिकाका शिक्षा तथा प्रशासन शाखाका अधिकृत भीमसेन विष्टले भने ‘विद्यालय र विद्यालय व्यवस्थापन समितिले विज्ञ समिति छनोट गर्ने निर्णय गरेको रहेनछ । त्यहि प्रकृया नपुगेकोले प्रकृया पुर्याएर परीक्षा फेरि लिने निर्णय भएको छ ।’
त्यसबेला आफू नभएकोले प्रक्रिया नपुगी परीक्षा सञ्चालन हुन पुगेको उनले जिकिर गरे ।
तर परीक्षार्थीले भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद जम्कट्टेलको स्वार्थको कारण नतिजा रोकिएको आरोप लगाएका छन् ।
वडा नम्बर ७ का वडाअध्यक्ष समेत रहेका जम्कट्टेलले आफ्नो मान्छेलाई घुसाउनको लागि खेल खेलेको एक परीक्षार्थीले आरोप लगाए ।
उनी भन्छन्, ‘उहाँको आफ्नो मान्छे पहिलो पत्रमा नै उत्तीर्ण हुन नसकेपछि दोस्रो पत्रको नतिजा रोकिएको हो । आफ्नो पहुँचको आधारमा यो तहको गलत नियत राख्नुहुँदैन थियो ।’
उनीहरुको गलत नियतको कारण नाम निकालेका परीक्षार्थीहरु माथि अन्याय भएको उनले बताए ।
प्रतिक्रिया 4