
१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणनामा पुन मगरलाई छुट्टै जातिको रुपमा राखिएकोमा त्यसलाई सच्याइने बताएका छन् ।
शुक्रबार नेपाल मगर संघले भूमे/भूम्या पर्वको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय जनगणना २०७८ मा पुन मगरलाई छुट्टै जातिको रुपमा राखेर त्रुटि गरिएको र त्यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गरे ।
उनले पुन मगर लगायतका अन्य जनजातिहरुलाई राष्ट्रिय जनगणनामा छुट्याउने काम भएको बारेमा आफूलाई जानकारी नभएको भन्दै गुनासो आएसँगै तथ्यांक विभागलाई निर्देशन दिइसकेको बताए ।
जातिहरुलाई फुटाएर देशको हित नहुने उनले बताए । ‘तथ्यांक कार्यालयको प्रमुख मान्छे विदेश भ्रमणमा भएको हुनाले आएपछि त्यसलाई स्पष्ट गर्ने र करेक्शन गर्ने मैले प्रतिबद्धता व्यक्त गरिसकेको छु’ प्रचण्डले भने, ‘त्यसकारण फुटाउने काम हुँदैन । जातिहरुलाई फुटाएर देशको हित हुँदैन भन्ने कुरामा म स्पष्ट छु । र मैले यो प्रक्रिया अगाडि बढाइ पनि सकेको छु ।’
उनले मगर समुदायले राजनीतिक परिवर्तनमा खेलेको भूमिकालाई सम्मान गर्दै आफूले मगर समुदायका नेताहरुलाई उपराष्ट्रपति, सभामुख, रक्षामन्त्री, अर्थमन्त्री, राष्ट्रिय सभा सदस्य लगायतमा अघि सारेको पनि दाबी गरे ।
कार्यक्रममा उपसभामुख इन्दिरा रानाले मगर समुदायलाई जातीय स्वार्थभन्दा माथि उठ्न आग्रह गरिन् ।
प्रतिक्रिया 4