
१ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले घरेलु मदिरा उत्पादनलाई प्रवर्द्धन गर्न आगामी आर्थिक वर्ष २०८०-०८१ को वजेटमा पौने १३ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ।
लुम्बिनी सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की रानाले शुक्रबारको प्रदेश सभा वैठकमा पेश गरेको वजेट वक्तव्यको ९२औं बुंदामा आदिवासी जनजाति समुदायबाट परम्परागत सीपका आधारमा उत्पादन हुने घरेलु मदिरा र पेय पदार्थको ब्राण्डिङ गर्न कानूनी व्यवस्था र औद्योगिक प्रवद्र्धनात्मक कार्यक्रमका लागि १२ करोड ८९ लाख रुपैयां विनियोजन गरिएको छ।
‘महुवा,अनदी,कोदो,मकै,जामुन,टिमुर,कुरिलो आदिको पेय पदार्थ र मदिरा उत्पादनमा आधुनिक प्रविधिको प्रयोग गरी ब्राण्डिङ गर्न कानूनी व्यवस्थाका लागि वजेट व्यवस्था गर्दै विभिन्न स्तरका औद्योगिक प्रवद्र्धनात्मक कार्यक्रमका लागि १२ करोड ८९ लाख रुपैयां विनियोजन गरिएको छ।’ वजेट वक्तव्यमा उल्लेख छ ।
यस कार्यक्रमबाट २५ हजार जनाले रोजगार पाउने वा स्वरोजगारीमा आवद्ध गर्न सकिने प्रक्षेपण गरिएको छ ।
आदिवासी जनजातिको बाहुल्य रहेको लुम्बिनीसहित देशभर हालसम्म घरेलु मदिराको उत्पादन र विक्रि अवैध ढंगले भइरहेको छ।
सरकारको यो घोषणालाई मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेश समितिले स्वागतयोग्य भनेको छ। महासंघका प्रेश अध्यक्ष शम्भु भट्टराईले घरेलु मदिराको गुणस्तर निर्धारण गरी आधुनिक प्रविधिमार्फत उत्पादन गरेर करको दायरामा ल्याई अन्य मदिरा जस्तै विक्रि वितरण प्रणालीबाट कारोबार हुनुपर्ने बताउँछन्।
‘अहिले देशभरि अवैध तरिकाले उत्पादन र विक्री हुँदा सरकारले ठूलो मात्रामा राजस्व गुमाएको छ,अर्कोतिर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भएको छ’-अध्यक्ष भट्टराईले भने-‘घरेलु मदिराको अवैध कारोबारले मदिरा व्यवसाय संकटमा परेको छ।’
प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विगत वर्षदेखि नै घरेलु मदिरा ब्राण्डिङ गर्नुपर्ने आवाज उठाउँदै आएका थिए ।
आदिवासी जनजाति समुदायको संस्कार र संस्कृति पनि घरेलु मदिरासंग जोडिएकाले यसलाई मानव स्वास्थ्यमा कम भन्दा कम असर पर्ने गरी आधुनिक प्रविधिमार्फत गुणस्तरीय बनाई करको दायरामा ल्याउने र विदेशबाट हुने मदिराको आयात रोक्न सकिने चौधरी तर्क गर्छन्।
‘विदेशी पर्यटकलाई नेपाली मदिराको स्वाद चखाएर पनि विदेशी मुद्रा आर्जन गर्न सकिन्छ’मुख्यमन्त्री चौधरी भन्छन्-‘रुसले कोदोको रक्सी र कोरियाले जाँड (छ्याङ) बनाएर विश्वभर व्यापार गरिरहेका छन् भने हामीले किन नगर्ने ?’
प्रतिक्रिया 4