
१ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रैमा सीमित बन्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस व्यवहारवादी बन्दा चुक्दै गएको बताए । ‘कांग्रेसको विगतको जुन चरित्र थियो, त्यो चरित्रमा कता-कता अल्मलिएको हो कि भन्ने मलाई लाग्छ’ उनले भने, ‘धेरै व्यवहारवादी हुँदा हामीले गल्ती गरिरहेका हुन्छौं।’
कांग्रेसले सिद्धान्तहरुलाई छोड्दै जानु चिन्ताको विषय भएको उनले बताए । ‘निरङ्कुशका विरुद्ध लड्दा कांग्रेस कहिल्यै पनि चुकेको छैन। त्यसपछिका दिनमा कांग्रेस व्यवहारवादी भएर चुक्दै गएका छौं, ‘ उनले भने, ‘सिद्धान्तहरुलाई छोड्दै जान्छौ। यो कुरा नेपाली कांग्रेसको लागि चिन्ताको विषय बनेको छ।’
नेता कोइरालाले कांग्रेस विगतको गौरवमय चरित्रमा अल्मलिन थालेको महसुस आफूले गरेको पनि बताए । उनले अहिले कुनै पनि संवैधानिक संस्थाहरुमा सवल बन्न नसकेको जिकिर गर्दै संसदको समेत अवस्था चिन्ताजनक रहेको उल्लेख गरे।
उनले संसदमा प्रधानमन्त्री बोलेपछि संसद रोकिनु, प्रधानमन्त्री बोले लगत्तै प्रमुख प्रतिपक्षी दलको नेता बोल्नु संसदीय मर्यादा विपरीत भएको बताए । ‘अहिले कुनै पनि संवैधानिक संस्थाहरुमा सवल छैनन्, संसद नै हेर्नुस्। संसद हो कि होइन भन्ने लाग्न थालेको छ’, उनले भने, ‘संसदमा दोहोरी हुन्छ, संसदमा प्रधानमन्त्री बोलेपछि संसद रोकिन्छ। तर प्रमुख प्रतिपक्ष दलको नेताले म बोल्छु भन्नुहुन्छ । त्यो संसदीय मर्यादा विपरीत हो ।’
उनले सरकारले संवैधानिक निकायहरु निर्वाचन आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,मानव अधिकार आयोग लगायतका निकायहरुको अधिकार कटौती गर्दासमेत सांसदहरु मौन बसेको बताए ।
नेता कोइरालाले देश भूराजनीतिक भुमरीमा फस्दै गएको बताए। उनले अघि भने, ‘देश भू-राजनीतिक (जिओपोलटिक्स)को भुमरीमा फस्दैछ। मुलुक राजनीतिक पार्टीहरुका नेतृत्वको कारणबाट नै भू-राजनीतिक (जिओपोलटिक्स)को भुमरीमा फस्दैछ।’
नेता कोइरालाले लोकप्रियताको नाममा लोकरिझ्याइँको राजनीति हावी हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । ‘नेताहरु लोकरिझ्याइँ र लोकप्रियताको नाममा बोलेर सामाजिक सञ्जालमा हालेका छन्। अनि त्यसैलाई विश्वविद्यालयका प्राध्यापकहरुले नै उनै नेता हो भनेर हिंडेका छन्’ उनले भने, ‘प्राध्यापकहरु पनि यो विषयमा दोषी हुनुहुन्छ, तपाईंहरुको पनि जिम्मेवारी हो ।’
प्रतिक्रिया 4