
३ असार, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० का लागि राखेको आन्तरिक राजस्व असुली लक्ष्यभन्दा डेढ खर्बले पछि परेको छ । आन्तरिक राजस्व विभागकाअनुसार जेठ मसान्तसम्म विभागले लिएको राजस्व संकलनको लक्ष्य ५ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ हो । यस अवधिसम्म संकलन भने ४ खर्ब ८ अर्ब ६४ करोड रुपैयाँ मात्र भएको छ । यो संकलन चालु आवको जेठ महिनासम्म आन्तरिक राजस्व विभागले लक्ष्यको ७५.३२ प्रतिशत हो । यस आवमा सरकारले शिक्षा सेवा शुल्कबाहेक अन्य कुनैमा पनि लक्ष्य भेटाउन सकेको छैन । समग्र शीर्षकमा संकलन भएको रकम लक्ष्यभन्दा १ खर्ब ४३ अर्ब कम भएको छ ।
यस आवको जेठसम्म सरकारले २ खर्ब ४४ अर्ब ६१ करोड रुपैयाँ आयकर संकलनको लक्ष्य राखेको थियो । संकलन भने १ खर्ब ७० अर्ब ४२ करोड रुपैयाँ भएको छ । यो जेठसम्म लिइएको लक्ष्यको ६९.६७ प्रतिशत हो । यस अवधिमा मूल्य अभिवृद्धि करबाट १ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको थियो । संकलन भने ९९ अर्ब ९० करोड रुपैयाँ भएको छ । यो लक्ष्यको ७९.८९ प्रतिशत हो । आन्तरिकतर्फ अन्तःशुल्क १ खर्ब २२ अर्ब ३८ करोड रुपैयाँ संकलनको लक्ष्य थियो । जेठ मसान्तसम्म संकलन भने ९६ अर्ब ९० करोड रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ७९.१८ प्रतिशत हो ।
अघिल्लो वर्षको जेठसम्म संकलित राजस्व पनि भेटेन
आन्तरिक राजस्वतर्फ अघिल्लो आवको जेठसम्मको तुलनामा समेत यस वर्ष संकलन हुन नसकेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागका अनुसार सरकारले अघिल्लो आवको जेठसम्म ४ खर्ब १० अर्ब ४३ करोड रुपैयाँ संकलन गरेको थियो । जेठ मसान्तसम्म ८ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो आन्तरिक र भन्सार दुबै राजस्व हो । यस वर्ष सरकारले १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा जेठ मसान्तसम्म ५९.६४ प्रतिशत मात्र संकलन भएको छ ।
प्रतिक्रिया 4