
नेकपा एकता अभियान घोषणा गरेर यसका संयोजक बनेका वामदेव गौतमले आज आइतबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेका छन् । च्यासलस्थित पार्टी कार्यालय पुगेका गौतमले एक घन्टा लामो भेटमा थुप्रै कुराहरु राखेका छन् । त्यसबारे अनलाइनखबरले उनीसँग गरेको संक्षिप्त वार्ता :
तपाईंले ओलीसँग भेटमा के भन्नुभयो ?
मैले खुलस्त आफ्ना कुराहरु राखें । मैले नेकपा कालदेखि नै अब कसरी जानुपर्छ भन्नेबारेमा आफ्ना कुरा लिखित नै राख्ने गरेको छु नेताहरुसँग । त्यस अनुसार मैले अध्यक्ष ओलीलाई पनि दिएको छु । यो बीचको समयमा त मैले नयाँ विचारहरु पनि विकसित गरेको छु । त्यसलाई उपयुक्त मानेर ग्रहण गर्ने हो भने राम्रो हुन्छ भनेर मैले राखें ।
त्यसमा ओलीको जवाफ के पाउनुभयो त ?
उहाँले कुरो राम्रो हो, ठिक हो भन्नुभयो । ढिलो नगरी पार्टीमा ढिलो नगरीकन प्रवेश गर्नुहोस्, एकीकृत भइहाल्नुहोस् भन्नुभयो । पार्टीमा कार्यालय, सचिवालय आदिमा बसेर टुंगो लगाउनुपर्छ भन्ने कुरा भएको छ । अरु साथीहरुको कुरा पनि त्यसै क्रममा टुंगो लगाउँला भन्ने कुरा उहाँबाट भएको छ ।
एमालेमा तपाईंको व्यवस्थापन अब कसरी हुने भयो त ?
त्यही त । एमालेमा मेरो व्यवस्थापन कहाँ कसरी हुन्छ भन्नेबारेमा मलाई जानकारी गराउनुपर्छ भनेर राखेको छु । उहाँले ‘हुन्छ, म जानकारी गराउँछु, माथिल्लो तहका साथीहरुसहितको बैठक, सचिवालय इत्यादिको बैठक बसेर हामी छलफल गर्छौं, त्यहीबाट हुने कुराको जानकारी तपाईंलाई दिउँला’ भन्नुभएको छ ।
तपाईं एमालेमा वरिष्ठ उपाध्यक्ष, वरिष्ठ नेता या केही यस्तो हुन चाहेको हो ?
मैले अहिले त्यसमा केही भन्दिनँ । उहाँहरुले पनि भन्नुभएको छैन । अहिले हेरौं न ।
यो सबै व्यवस्थापन गर्न कति समय लाग्ला ?
त्यसबारे कुरा भएन । उहाँले निरन्तर सम्पर्कमा रहनुपर्यो भन्नुभएको छ । मैले पनि हुन्छ भनेको छु । मैले उहाँलाई के भनेको छु भने, ‘म निरन्तर सम्पर्कमा हुन्छु, तपाईंले जतिसक्दो छिटो व्यवस्थापनको निम्ति तपाईं लाग्नुहुन्छ, अब हामीसमेत संलग्न भएर त्यो व्यवस्थापन गर्ने हो, त्यति छिटो हामी एकीकृत हुन्छौं, प्रवेश गर्छाैं’ भनेका छौं ।
ओलीले अस्ति ‘वामदेव पार्टीमै हुनुहुन्छ, प्रवेश गर्नुपर्दैन’ भन्नुभयो नि ? के भन्नुहुन्छ ?
प्रवेश त अब हेर्नुस्, गर्नपर्छ । किनभने असन्तुष्ट भएर बाहिर निस्केको हो । घर त त्यही हो नि भन्दैमा हुँदैन । घरमा कसरी आउने, के काम गर्ने, कसरी काम गर्ने भन्नेमा अलिक स्पष्ट कुरो त आउनैपर्छ ।
तपाईंले चुनावमा ६० लाख भोट ल्याउने कुरो भन्नुभएछ नि ?
६० लाख कटाउने हो । एमालेले त्यति भोट स्थानीय चुनावमा ल्याउनुपर्छ । मैले अध्यक्षलाई भनेको छु– त्यस काम सफल पार्नका लागि मलाई जिम्मेवारी दिनुहोस्, आवश्यक जनशक्ति दिनुहोस् भनें । म त्यत्रो शक्ति एमालेलाई बनाउने काम फत्ते गर्छु, मलाई त्यसका लागि तपाईंले सहयोग गर्नुपर्छ भनें ।
ओलीको जवाफ ?
उहाँले ‘त्यो काम हामी सबै लागेर गर्ने हो, एक जनाले मात्रै गरेर भोट आउँदैन’ भन्नुभयो । जिम्मेवारी एक जनाले लिने कुरा होला, तर सिंगै शक्ति लाग्यो भने त्यति भोट आउन सक्छ भन्नुभयो उहाँले ।
तपाईं प्रचण्ड या माधव नेपालसँग जाने सम्भावना छ कि छैन ?
अब यो कुरो यता टुंगो लागेपछि मात्रै अरु ठाउँमा जाने नजाने टुंगो हुन्छ । यता छलफल चलाइसकियो । तुरुन्तै अर्कोतिर हाम फाल्ने भन्ने हुँदैन । यता के हुन्छ हेरौं न । व्यक्तिगत रुपमा भेटघाट त गरिहाल्छु ।
प्रतिक्रिया 4