+
+
अभिनेत्री शिल्पा मास्केसँग संवाद :

‘नेपाली कला र फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा देखाउन चाहन्छु’

विष्णु शर्मा विष्णु शर्मा
२०८० असार ३ गते १६:२६

काठमाडौं । लण्डनमै हुर्के-बढेर ठूली भएकी शिल्पा मास्केलाई एक दिन हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’मा अतिथि भूमिका गर्न प्रस्ताव आयो । नेपालको कथावस्तु र पात्र चाहिने भएकाले निर्माताले उनलाई यस्तो प्रस्ताप राखेका थिए । उनले पनि खुसीले प्रस्ताव स्वीकारिन् ।

तर लण्डनबासी भएर प्रस्ताव गरिएको भने होइन । कथानुसार चाहिएको नेपाली पात्रको भूमिकालाई हेरेर उनलाई यो रोल अफर गरिएको थियो । यो बिन्दुमा उनलाई आफ्नो पहिचानको बोध भयो । त्यसपछि उनी फिल्म खेल्न नेपाल आइपुगिन् । अनि सुरु भयो नेपाली फिल्म, म्युजिक भिडियो र नाटकमा अभिनय गर्ने सिलसिला ।

शिल्पालाई नेपालमा अभिनय करिअर थालेको चार वर्ष पुगेको छ । यसबीच सात फिल्ममा काम गरिन् । ‘द ब्रेकअप’देखि सुरु भएको यात्रा ‘परस्त्री’सम्म आइपुगेको छ । ‘डक्टर स्ट्रेन्ज’मात्र होइन, अक्षयकुमारको ‘गोल्ड’मा कोरस डान्सरको रोल होस् या अन्य केही अन्तर्राष्ट्रिय सिरिज उनको नाममा छन् । उनै शिल्पा अहिले घरेलु फिल्मकी व्यस्त अभिनेत्री हुन् ।

अनलाइनखबरसँगको गफमा मास्केले देशप्रेम, करिअर र निजी रुचिका कुरा गरिन् । नेपाली कला र फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा देखाउने उद्देश्य बोकेर आफू नेपाल फर्किएको बताए ।

‘मैले विदेशी फिल्ममा धेरै केमियो गरें, क्यामेरा पछाडि काम पनि गरें । डक्टर स्ट्रेन्जमा म जोडिनुको मुख्य कारण म नेपाली भएर हो । म मेरो पहिचानले गर्दा नै जोडिएको हुँ । नेपाली नभएको म त्यो फिल्ममा हुँदिन थिएँ होला,’ उनी भन्छिन्, ‘यहाँ आएर करिअर सुरु गर्नु मेरो लागि एकदमै ठूलो निर्णय थियो । आएर पनि करिअर चल्छ कि चल्दैन भन्ने रिस्क थियो । आफूलाई र नेपाली कला, फिल्मलाई अन्तर्राष्ट्रिय रुपमै देखाउन मन छ ।’

हुन सक्छ, यही कारण उनी नेपाली र विदेशी प्रोजेक्टबीच काम गराइमा भिन्नता हुने गरेको बताउँछिन् । नेपाली कलाक्षेत्र अझै व्यावसायिक बन्न नसकेकोतर्फ इंगित गर्दै उनी स्तर सुधार्न व्यावसायिकता, कानुनी सम्झौता र एजेन्सीको पक्षमा ध्यान दिनुपर्ने बताउँछिन् ।

‘विदेशी फिल्मसँग हामीलाई तुलना गर्न सकिंदैन किनकि उनीहरुको इतिहास लामो छ । उहाँहरुको प्रि–वर्क नै धेरै हुन्छ । बजेटको कारणले पनि होला । उहाँहरुको दिनमा एउटा मात्र दृश्य छायांकन हुन्छ । हाम्रोमा एक दिनमै चार-पाँच दृश्य खिच्नुपर्ने हुन्छ । मुभी सेट नहुँदा वास्तविक लोकेसनमै गएर खिच्नुपर्ने हुन्छ,’ उनी अनुभव बाँड्छिन् ।

शिल्पा कम फिल्म गर्ने अभिनेत्रीमध्ये पर्छिन् । कहिलेकाहीं स्क्रिप्टमा राम्रो लाग्ने फिल्म पर्दामा देखिंदा अर्कै हुन्छ । केहीबाहेक शिल्पाले खेलेका अधिकांश फिल्मले बक्स अफिसमा कमाल गर्न सकेनन् । फिल्म नचल्दा एउटा कलाकारलाई चुनौती हुनु स्वभाविक हो । ‘फूलबारी’मा उनको छोटो तर सशक्त रोलले शिल्पालाई चर्चामा ल्यायो ।

बक्स अफिसको तथ्यांकलाई एकातिर पन्छाउने हो भने शिल्पा आफूलाई कलाकारको रुपमा आफ्नो ‘ग्रोथ’ भइरहेको महसुस गर्छिन् । ‘जति पनि मलाई अप्रोच आएका थिए, यो मेरो रुचि नै हो । स्क्रिप्टमा चुजी भएकी हुँ । एक्टरको रुपमा धेरै कुरा हेर्नुपर्छ । एक्टर, स्क्रिप्ट सबै हेर्नुपर्छ । मैले एक्टरको रुपमा धेरै ग्रोथ देखेकी छु । यसमा खुसी छु,’ उनी भन्छिन् । शिल्पा आफूलाई ‘स्टिल स्ट्रगलिङ’ मान्छिन् ।

असार १५ गते प्रदर्शनको तयारीमा रहेको ‘परस्त्री’ उनको पहिलो प्रोटागोनिस्ट (शीर्ष भूमिका) रहेको फिल्म हो । कथालाई आफ्नै काँधमा बोकेकी छिन् । यसमा उनले आभ्या नामक रेडियो जक्की (आरजे)को भूमिका निर्वाह गरेकी छन् । ‘स्क्रिप्ट आउँदा केटीको क्यारेक्टर गर्न डर लाग्या थियो । किनभने वास्तविक जीवनमा म अविवाहित हुँ तर विवाहित महिला जो विवाहेत्तर सम्बन्धमा छे, उसको रोल गर्नुपर्ने थियो । किनकि मलाई विवाहको संसारबारे केही थाहा छैन ।’ वैवाहिक जीवनमा दुःखी भएकी महिला जो मायाको खोजीको लागि परपुरुषको प्रेममा पर्छिन्, यो रोलमै शिल्पा यसमा छिन् ।

‘विवाहित महिलाको रोल गर्न मलाई सुरुमा कसलाई आधार मानौं भन्ने चुनौती थियो । सुरुमा त ब्लाइण्ड थिएँ । दीपेन्द्र दाइ (फिल्म लेखक दीपेन्द्र के खनाल) राइटर भएकाले पनि मलाई विश्वास थियो । उहाँले लेख्नुभएको पात्र राम्रै होला तर भिन्न चुनौती हुन्छ भन्ने थाहा थियो । मनोवैज्ञानिक रुपमा एउटा ग्राफ चाहिं बनाएकी थिएँ,’ उनले सुनाइन् ।

शिल्पालाई एक्सपेरिमेन्टल रोल गर्न मनलाग्छ । परस्त्रीको उनको चरित्र यही सोचको नतिजा अवश्य हो । ‘अब म गर्ल नेक्स्ट डोर टाइपका रोलभन्दा प्रयोगात्मक भूमिका गर्न रुचाउँछु । अब गर्ल नेक्स्ट डोरजस्ता भूमिकामा बेसिक बनिसके । ग्रोथको लागि पनि यस्तो रोल गर्नु जरुरी छ,’ उनी भन्छिन् ।

शिल्पाको करिअरमा दोस्रो इनिङ्स सुरु हुँदैछ । अर्थात् मञ्चन तयारीमा रहेको नाटक ‘ट्रान्जिट’बाट उनले रंगमञ्च डेब्यु गर्दैछिन् । यसका लागि शिल्पी थिएटरमा धमाधम रिहर्सल भइरहेको छ । मायावीको रोलमा उनी देखिनेछिन् । फिल्ममा ‘प्राविधिक अभिनय’ गरेकी अभिनेत्रीलाई ‘पर्फमेन्स आर्ट्स’को प्लेटफर्म मानिने नाटकमा काम गर्नु सीप तिखार्ने मौका पनि हो । ‘नाटक सिकिरहँदा म पूर्ण रुपमा अभिनयको ग्राण्ड जिरोमै रहेर काम गरिरहेकोजस्तो फिल भएको छ,’ उनी भन्छिन् ।

‘म बल्ल त सुरुवाती चरणमा छु । नाटकमा पात्रको धेरै तयारी हुने रहेछ । धेरै प्रश्न हुने रहेछ । महिला, संस्कृति, यौनिकता सबै पक्षलाई सोचेर डायलग लेखिंदो रहेछ । फिल्ममा चाहिं स्क्रिप्टमा पनि डिटेलिङमा काम गर्दा अझ राम्रो हुन्छ । नाटकभन्दा फिल्ममा बढी प्राविधिक पक्ष हेर्नुपर्छ,’ उनी भन्छिन् ।

उनी अगाडि भन्छिन्, ‘स्क्रिप्ट सुन्दा पनि गज्जब लाग्यो । अहिले गरेन भने कहिल्यै हुँदैन भन्ने लाग्छ मलाई । कथानुसार यसमा मेरो रोल मायावीको छ । तीनजना अभिनेत्रीले एउटै रोल गर्दैछन् । सय वर्षअघि ट्रान्जिटमा आएर मानवशास्त्री (दिव्यदेव)लाई भेट्ने यात्रा हो यो,’ उनी भन्छिन्, ‘तर पनि राम्रो काम गर्नको लागि कहिल्यै चित्त नबुझ्ने मान्छे हुँ म । के राम्रो गर्न सक्छु भन्ने लाग्छ । एक्टिङ सुरु गर्दा मैले बाँचुञ्जेल कलाक्षेत्रमै लाग्छु भनेर गरेको थिएँ ।’ नाटक र फिल्मलाई भविष्यमै सँगै अघि बढाउने उनको योजना छ ।

अविवाहित शिल्पा आफ्नो जीवनमा आउने पार्टनर व्यवसायलाई बुझ्ने होस् भन्ने चाहिन्छिन् । ‘मायासँगै स्वतन्त्रता पनि होस् । हाम्रो प्रोफेसन हेर्दा समझदार पार्टनर चाहिन्छ मलाई,’ उनी सुनाउँछिन् ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?