
२ असार, काठमाडौं । पर्यटनकर्मी तथा सांस्कृतिक अभियन्ता श्याम सामसोहाङ राईको संस्मरणात्मक कृति मुन्दुम ट्रेल सार्वजनिक भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराती, वरिष्ठ संस्कृतिविद् डा. भक्त राई, प्राज्ञ राजन मुकारुङ, आख्यानकार भानु बोखिम र आख्यानकार जानुका खतिवडाले संयुक्त रुपमा यो पुस्तकको लोकार्पण गरेका हुन् ।
किरातीहरूले परम्परागत रुपमा सुन्दै र सुनाउँदै आएका आफ्ना भाषा, साहित्य, संस्कृति, इतिहास, भूगोल, गीत–संगीत, धर्म–दर्शनको समग्र विवरणलाई मुन्दुम भन्छन् । किरातीहरुका लागि महत्व राख्ने थुप्रै ठाउँको विवरण मुन्दुममा पाइन्छ ।
मुन्दुममा सुनिएका केही ठाउँहरु हुँदै भोजपुरको साल्पापोखरी र सिलिचुङ पर्वतसम्म यात्रा गर्ने पदमार्ग नै मुन्दुम पदमार्ग अर्थात् मुन्दुम ट्रेल ।
नेपालको उत्कृष्ट १० पदमार्गमध्येमा पर्ने मुन्दुम ट्रेललाई स्थापित गराउँदा भोगेका दुख सुख र कठिनाइको संस्मरणका रुपमा मुन्दुम ट्रेल पुस्तक आएको हो ।
तर लेखक राई मुन्दुम ट्रेललाई स्थापित गर्न सामूहिक प्रयास भएको बताउँदै आफूले त त्यो समूहको एउटा सदस्य मात्र रहेको बताउँछन् । उनले यसकुरालाई पुस्तकमा पनि उल्लेख गरेका छन् ।
पुस्तक लोकार्पण गर्दै प्राज्ञ मुकारुङले आफूले मुन्दुम ट्रेलको अवधारणा कसले ल्याएको होला भनेर खोजी हिँडेको तर त्यो अवधारणा लाउने श्याम सामसोहाङ राई रहेको धेरै पछि मात्र थाहा पाएको बताए । राईसँगको आफ्नो पुरानो सम्बन्ध केलाउँदृ उनले भने, ‘चिनजानकै गायक श्याम सामसोहाङ पो रहेछन्, यो थाहा पाउँदा मलाई सरप्राइज भयो ।’
वरिष्ठ संस्कृतिविद् डा. भक्त राईले पाठकलाई सँगसँगै यात्रा गराउने गरी लेखिएको पुस्तकमा उत्कृष्ट संस्मरण समावेश गरिएको बताए ।
कार्यक्रममा खतिवडाले यो पुस्तक पढेपछि किरात संस्कृतीका बारेमा बुझ्न धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया 4