
३ असार, बुटवल । बुटवलको धागो कारखाना–योगीकुटी–मगरघाट–तामनगर बाइपास सडकको निर्माण रोकिएपछि स्थानीय वासिन्दाले आन्दोलन सुरु गरेका छन् ।
संघीय सरकारले दुई प्याकेजमा ठेक्का लगाएर काम गरिरहेको सडकमा बजेट पर्न छाडेपछि स्थानीय वासिन्दाले संघर्ष समितिमार्फत चरणवद्ध आन्दोलन गरेका हुन् ।
यो सडकको योगीकुटी पूर्वको कामको ठेक्का एसियाटेक कन्ट्रक्सनले ३ करोड ३७ लाख ७० हजारमा र योगीकुटी पश्चिम खण्डको सिद्धार्थ दर्शन बिकोन जेभीले ६ करोड ५२ लाख ७४ हजार रुपैयाँमा ठेक्का पाएका थिए ।
ठेकेदारले योगिकुटी पूर्वमा १ करोड १२ लाख र योगिकुटी पश्चिममा १ करोड ४३ लाख रुपैयाँ भुक्तानी लिएका सडक डिभिजन कार्यालयले जनाएको छ ।
संघीय सरकारले ठेक्का लगाएको यो सडक आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेश मातहत स्थानान्तरण गरिएको थियो । तर प्रदेश सरकार अन्तर्गतको सडक पूर्वाधार विकास कार्यालयले यो सडकको काम अघि बढाएको छैन ।
संघर्ष समितिले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक पूर्णानन्द गिरीले योजना प्रदेशमा सरे पनि सडक विभागले ठेक्काको फाइल अड्काएर राख्दा सडक निर्माण अलपत्र परेको बताए ।
ठेकेदारको कामलाई तिब्रता दिन संघीय सरकारबाट बजेट निकासा नहुँदा स्थानीयले जमानी बसेर लाखौंको निर्माण सामग्री ल्याएको उनले बताए । सडक बन्ने भनेपछि १२८ घरधुरीले आफ्नो नामको जग्गा पनि सडकलाई उपलब्ध गराएका थिए ।
स्थानीय होटल ब्यवसायी लालबहादुर केसीले सडक अलपत्र पत्रा व्यापार व्यवसाय प्रभावित भएको बताए । ‘हिउँदमा धुलोका कारण र वर्षामा पानी जमेर सडकमा यात्रा गर्न र घरमा बस्न सक्ने अवस्था छैन, व्यापार चौपट भएको छ ।’
सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले मन्त्रिपरिषदबाट नीतिगत निर्णय नभएसम्म केही गर्न नसक्ने बताए ।
प्रतिक्रिया 4