+
+

उपभोक्ता समिति विचौलिया बन्यो: अख्तियार प्रमुख राई

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १९:४९

३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उपभोक्ता समितिले विचौलियाको काम गरेको भन्दै यसको औचित्यमाथि प्रश्न उठाएका छन् । आइतबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार समितिको बैठकमा उनले उपभोक्ता समिति आफैंले काम नगर्ने र ठेकेदारलाई काम दिने विचौलियाजस्तो बनेको टिप्पणी गरे ।

‘…काम गर्नका लागि होइन बिचौलियाको रुपमा उपभोक्ता समिति खडा भयो अब । ठेक्का लाइदियो उसले काम । यसकारकाण उपभोक्ता समितिको औचित्यमाथि प्रश्न चिह्न खडा भएको छ’, राईले भने ।

सरकारी आयोजनाको काम हात पार्ने उद्देश्यले मात्र उपभोक्ता समिति बनाउने प्रवृत्ति देखिएको उनको भनाइ छ । ‘उपभोक्ता समिति गठन गर्ने र अनसिन ठेकेदारलाई काम दिने, अनसिन ठेकेदारले काम गर्छ उपभोक्ता समितिको नामबाट चेक काटिन्छ’ प्रमुख आयुक्त राईले भने, ‘उपभोक्ता समितिले अनसिन रुपमा उसलाई भुक्तानी दिन्छ ।’

सडक कालोपत्रेका ठूला योजना, अस्पताल र स्थानीय तहका भवन निर्माणका काम पनि उपभोक्ता समितिले लिने गरेको भन्दै उनले सोधे, ‘उसको काम हो त्यो ? उपभोक्ता समितिले गर्न सक्छ ? ऊ सँग क्षमता छ ? उ सँग टेक्निकल मेनपावर छ ?’

राईले चिनजानका व्यक्ति नातागोता र नजिकका व्यक्ति राखेर उपभोक्ता समिति गठन गर्ने गरिएको पनि बताए । उपभोक्ता समितिले गरेको कामको अनुगमन पनि प्रभावकारी रुपमा हुन नसकेको उनको भनाइ छ । ‘उपभोक्ता समितिलाई चेक एण्ड ब्यालेन्स गर्न अनुगमनका निम्ति त्यहाँका उपमेयर÷उपाधयक्षले गर्ने व्यवस्था छ । तर उपमेयरहरु÷उपाध्यक्षहरुले अनुगमन गरिरहनुभएको छैन’ उनले भने ।

उपभोक्ता समितिलाई जस्तो काम पनि दिने प्रवृत्ति पनि खराब रहेको उनले बताए । उपभोक्ता समितिले कस्तो काम गर्न पाउने र कस्तो नपाउने भन्नेबारे बेलैमा विचार गर्नुपर्ने पनि राईले बताए । ‘उपभोक्ता समतिले गर्ने भनेको उसले उपभोग गर्ने, त्यही ठाउँको, त्यही वडाको, त्यही गाउँको उपभोक्ताले उपभोग गर्ने काम मात्रै हो र यस्तै काम मात्रै दिनुपथ्र्यो’ उनले भने ।

स्थानीय स्तरमा हुने कामको स्थानीय वासिन्दालाई अपनत्व होस् भन्ने उद्देश्यले उपभोक्ता समितिको अवधारणा आएको भन्दै राईले अहिले संघीय सरकार र प्रदेश सरकारका कामहरु पनि उपभोक्ता समितिमार्फत हुन थाल्नु गलत भएको बताए ।

असल मनसायका साथ ल्याइएको व्यवस्था भएपनि कार्यान्वयनमा जाँदा उपभोक्ता समिति भ्रष्टाचार गर्ने थलोको रुपमा विकास भएको अख्तियार प्रमुख राईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?