+
+
दाङमा बाल चलचित्र महोत्सव :

‘बालबालिकालाई नेपाली फिल्मप्रति आकर्षण बढाउन जरुरी’

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १४:११

दाङ । चलचित्र विकास बोर्डको आयोजनामा घोराहीमा आयोजित पहिलो राष्ट्रिय बाल चलचित्र महोत्सव-२०८० सम्पन्न भएको छ । बालबालिका तथा किशोरकिशोरीलाई आफ्ना कथा भन्ने र हेर्ने वातावरण तयार गर्न, फिल्मको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउन, मनोरञ्जन अधिकारको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो ।

असार १ गतेदेखि सुरु भएको महोत्सव तीन दिनसम्म चल्यो । बोर्ड अध्यक्ष भुवन केसीको उपस्थितिमा भएको महोत्सवमा बालबालिका, फिल्मकर्मी, साहित्यकार र स्थानीयबासीको उत्साहजनक सहभागिता थियो । महोत्सवमा स्थानीय झाँकी, र्‍याली र लोकसंस्कृति प्रस्तुत गरियो ।

महोत्सवमा बालबालिकाको कथावस्तुमा आधारित फिल्महरु ऐना झ्यालको पुतली, टिजर, छाया, के घर के डेरा, पहिलो नेपाली फिल्म आमा र पहिलो रंगीन नेपाली फिल्म कुमारी स्क्रिनिङ गरिएको थियो । बालबालिका र फिल्मसम्बन्धी पुस्तक तथा फोटो प्रदर्शनीसमेत गरियो । तीन हजारभन्दा बालबालिका महोत्सवमा सहभागी भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए ।

बोर्ड अध्यक्ष तथा अभिनेता केसीले बालबालिकासँग फिल्मबारे दुई घण्टा लामो समय अन्तरक्रिया गरे । ‘बालबालिकासँग भुवन केसी’ नाम दिइएको उक्त समारोहमा केसीले बाल्यकालदेखि अभिनयसँगको यात्रा अनुभव सुनाए । फिल्मलाई लिएर बालबालिकाको बुझाइबारे उनले कुराकानी पनि गरे । बालबालिकाले पनि केसीसँग फिल्मबारे जिज्ञासा राखे ।

महोत्सवमा सहभागी घोराही उपमहानगरपालिका नगरस्तरीय बाल क्लबकी अध्यक्ष लक्ष्मी श्रेष्ठले महोत्सवले बालबालिकालाई आफूहरुबारे बनेको कथा हेर्ने अवसर दिएको बताउँछिन् । ‘गाउँगाउँबाट आएका बालबालिकाले आफ्नाबारे बनेका फिल्म हेर्न पाए,’ उनले भनिन्, ‘फिल्मबारे आफ्ना थुप्रै जिज्ञासा राख्न पाए ।’ महोत्सवमा फिल्म क्षेत्रबारे धेरै कुरा जान्ने र बुझ्ने मौका दिएको बताउँछिन् । विदेशी फिल्म हेर्ने लत लागेका बालबालिकालाई यो महोत्सवले नेपाली फिल्मप्रति आकर्षण बढाएको पनि बताइन् ।

बालबालिकाको मनोविज्ञान बुझाउने फिल्म समेत हेर्ने मौका पाएको उनले बताइन् । ‘बालबालिकाले आजका दिनमा भोगेका समस्यालाई फिल्ममा देख्न पायौं,’ उनले भनिन् । कलाकार तथा फिल्म निर्देशक मुनाल घिमिरेले महोत्सवले फिल्मकर्मी र जिल्लावासीमा उत्साह थपेको बताए । फिल्मसम्बन्धी गतिविधि शून्य हुने मोफसलमा यस्ता कार्यक्रमले सकारात्मक थालनी गरेको उनी बताउँछन् ।

‘फिल्मसम्बन्धी गतिविधि सधैं राजधानीमा केन्द्रित हुन्थे,’ उनले भने, ‘कम्तीमा मोफसलमा पनि फिल्मसम्बन्धी बहस हुन थाले । यो सकारात्मक प्रयास हो । बोर्डलाई धन्यवाद दिन चाहन्छु ।’ महोत्सवमा बालबालिकाले फिल्मसम्बन्धी ज्ञान र साक्षरता बढाउन भूमिका खेलेको उनी बताउँछिन् ।

‘यहाँका कुनाकन्दराका बालबालिकाले पनि फिल्म हेर्न र बुझ्न पाए,’ उनले भने, ‘नायक भुवन केसीको उपस्थितिले झन् उत्साह थपियो ।’

बोर्ड अध्यक्ष भुवन केसीले महोत्सवले बालबालिकामा फिल्म साक्षरता बढाउन भूमिका खेल्ने बताए । ‘नेपालमा पनि बाल महोत्सव गरिनुपर्छ,’ उनले भने, ‘बालबालिकाका आफ्ना कथा र हेर्ने वातावरण तयार गर्न बोर्ड लाग्नेछ ।’ बालबालिकाका कथालाई अन्तर्राष्ट्रिय स्तरमा लैजान पनि बाल महोत्सव गर्न जरुरी भएको केसीले बताए । आगामी दिनमा पनि बालबालिका सम्बन्धी यस्ता महोत्सव गर्नुपर्ने उनले बताए । बोर्ड प्रवक्ता बुढाथोकीले महोत्सवले सिनेमा संस्कृति प्रवद्धर्न गर्ने विश्वास व्यक्त गरे ।

महोत्सवमा लामो समयदेखि फिल्म क्षेत्र तथा कला संस्कृतिको प्रवद्र्धनमा भूमिका खेल्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा खड्ग बुढाथोकी, महेन्द्र बुढाथोकी, कमल गाउँले, चन्द्रप्रकाश चौधरी, जुनु मगर, छविलाल कोपिला, शक्तिराम डाँगी, महेन्द्र बुढाथोकी छन् । दाङमा २०४३ सालमा राप्ती चलचित्र मन्दिर स्थापना गरेका गिरीराज पन्तलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

महोत्सवमा चलचित्र नृत्य प्रतियोगिता, चलचित्रसम्बन्धी हाजिरी जवाफ र अभिनय प्रतियोगिता समेत गरिएको थियो । जसमा नृत्यमा दाङको गोदावरी इङ्लिस मिडियम स्कुल प्रथम, गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल द्वितीय र राजविद्या पाठशाला तृतीय भए । प्रथमलाई २० हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५-५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

चलचित्र हाजिरी जवाफमा मेचीकाली सेकेन्डरी स्कुल प्रथम, गोदावरी इङ्लिस मिडियम स्कुल द्वितीय र गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल तृतीय भएका थिए । साथै दीपशिखा मावि र पश्चिम दाङबाट प्रतिनिधित्व गरेको समूह सान्त्वना भएका थिए । त्यस्तै अभिनय प्रतियोगितामा सृष्टि केसी प्रथम, साल्सा रेग्मी द्वितीय र सुशील सुनार तृतीय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?