
४ असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले तीन वर्ष भित्रमा काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सम्पन्न हुने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताए ।
प्रधानमन्त्रीसहित द्रुतमार्गको निरीक्षण भएको भन्दै अब लामो समय नलगाउने गरी महँगोमा भएपनि तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो ।

समयमा नै काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सक्नेगरी नेपाली सेनालाई जिम्मा दिएपनि विभिन्न कारणले काममा ढिला भएको उनले बताए ।
‘फास्ट ट्रयाकको लागत र समय बढेको छ । तर, अब सरकारले समय निर्धारण गरेको छ । २०८३ सालभित्र महँगो नै भएपनि निर्माण गर्ने योजना बनाएका छौं । छिटो होला भनेर सरकारले नेपाली सेनालाई जिम्मा दिएको हो । अहिले विभिन्न कारणले ढिलो भएपनि अहिले काम तीव्र रुपमा अघि बढेको छ । अब २०८३ भित्र सम्पन्न हुन्छ’ उनले भने ।
प्रतिक्रिया 4