४ असार, काठमाडौं । नेपालले खेल्ने मध्येकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो साफ च्याम्पियनसिप । १३ पटक यो प्रतियोगिता खेलेको नेपालका लागि एक चोटी फाइनल पुग्नु नै अहिलेसम्मकै ठूलो उपलब्धि हो ।
दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा हुने यस प्रतियोगिताको गत संस्करणमा नेपाल फाइनल पुगेको थियो ।
सन् २०२१ मा माल्दिभ्समा भएको १३औं संस्करणको साफमा फाइनलमा पुगेर इतिहास बनाएको नेपाललाई उपाधि उचाल्नबाट चिरपरिचित प्रतिद्वन्दी भारतले रोक्यो ।
जुन २१ देखि जुलाई ४ सम्म चारतको बेंगलुरुमा हुने १४औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाललाई विगतकै उपलब्धि जोगाउन पनि चुनौती छ । कारण यो साफमा दक्षिण एसियाबाहिरका दुई बलिया टोली कुवेत र लेबनन् पनि सहभागी छन् ।
आमन्त्रित २ र दक्षिण एसियाका ६ गरी ८ टोली सहभागी रहेको प्रतियोगितामा नेपालकै समूहमा भारत, कुवेत र पाकिस्तान छन् । भारत र कुवेतलाई पछि पार्दै शीर्ष २ मा रहेर नकआउट चरणमा पुग्न नै नेपाललाई ठूलो चुनौती छ ।
सबै १४ संस्करण खेल्ने टोली नेपाल र भारत मात्रै
सन् १९९३ मा पाकिस्तानमा सार्क गोल्डकपको नामबाट सुरु भएको प्रतियोगिताको यो १४औं संस्करण हो । अहिलेसम्म भएका १३ वटै संस्करण खेल्ने तीन टिममा भारत, नेपाल र श्रीलंका मात्र छन् ।
तर यसपटक श्रीलंका अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धका कारण प्रतियोगितामा सहभागी छैन ।
त्यसैले नेपाल र भारत मात्र सबै १४ संस्करण खेल्ने टिम बन्नेछन् ।
पहिलो संस्करण नखेलेको बंगलादेशले त्यसपछिका सबै संस्करण खेलेको छ । त्यसपछि माल्दिभ्स र पाकिस्तानले समान १२ पटक खेलेका छन् ।
माल्दिभ्सले पहिलो र दोस्रो संस्कणमा संस्करणमा सहभागिता जनाएन । पाकिस्तानले भने निलम्बनका कारण पछिल्लो पटक माल्दिभ्समा २०२१ मा भएको साफ खेलेको थिएन । त्यसअघि २०१५ मा पनि पाकिस्तानले खेलेन ।
२००३ देखि खेल्न थालेको भुटानले ८ पटक प्रतियोगिता खेलेको छ ।
भारत सर्वाधिक ८ पटक च्याम्पियन
साफको तीन दशकको इतिहासमा भारत सबैभन्दा बलियो टिम हो छ । भारतले जितेको उपाधि संख्याले पनि यो पुष्टी गर्छ । भारतले अहिलेसम्म भएका १३ मध्ये ८ वटा उपाधि जितेको छ ।
चार पटक उपविजेता बनेको भारत एक पटक मात्र तेस्रो भएको छ । पछिल्लो पटक २०२१ मा भएको साफ भारतले जितेको थियो ।
यस्तै माल्दिभ्सले दुई पटक तथा बंगलादेश र श्रीलंकाले समान एक पटक उपाधि जितेका छन् । साफको सदस्यता लिएर ८ पटक प्रतियोगिता खेलेको अफगानिस्तानले २०१३ मा उपाधि जितेको थियो ।
नेपालसहित पाकिस्तान र भुटानले भने अहिलेसम्म उपाधि जितेका छैनन् ।
नेपाल एक पटक उपविजेता बन्दा पाकिस्तान र भुटानको लागि सेमिफाइनल नै अहिलेसम्मको राम्रो नतिजा हो ।
दुई आमन्त्रित टिम
साफ च्याम्पियनसिपलाई अझ प्रतिस्पर्धात्मक बनाउन, टिम संख्या बढाउन र दक्षिण एसियाली राष्ट्रहरुलाई थप एक्सपोजरका लागि यस संस्करणदेखि साफले दुई आमन्त्रित टिमलाई समावेश गर्ने निर्णय गरेको छ ।
जस अनुसार दक्षिण एसिया बाहिरका लेवनान र कुवेतले पहिलो पटक साफ खेल्दैछन् ।
फिफा वरीयतामा लेवनन ९९औं र कुवेत १४३औं स्थानमा छ । दक्षिण एसियाको च्याम्पियन भारत १०१ औं स्थानमा छ ।
लेवनन र कुवेतको आगमनपछि भारतलाई पनि उपाधि रक्षा गर्न चुनौती छ ।
कुवेतसँग नेपालले एसिया कप छनोट र मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै आएको छ । तर कुवेतलाई हराउन सकेको छैन ।
लेवननसँग भने नेपालले अहिलेसम्म खेलेको छ ।
पाकिस्तान फिफा निलम्बन फुकूवापछि पहिलो पटक साफ खेल्दैछ ।
अर्को समूहमा लेवनन, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।
लेवननले भारतमा केही दिनअघि भएको हिरो इन्टरकन्टिनेन्सल कप खेलेको थियो । जसमा भारतले लेवननलाई फाइनलमा पराजित गरेर उपाधि जितेको छ ।
नेपालले भने ए डिभिजन लिग ढिलो सकिएपछि फिलिपिन्ससँग एक मात्र मैत्रीपूर्ण खेल खेलेको थियो । फिलिपिन्सको मनिलामा भएको उक्त खेलमा नेपाल १-० ले पराजित भएको छ । उक्त खेलमा नेपालका मिडफिल्डर लकेन लिम्बु र डिफेण्डर विमल पाण्डेले डेब्यु गरेका थिए ।
भारतमा चौथो पटक आयोजना
दक्षिण एसियाको पावर हाउस भारतले चौथो पटक साफ च्याम्पियनसिप आयोजना गर्दैछ ।
भारतले यसअघि सन् १९९९, २०११ र २०१५ मा आयोजना भएको थियो । रमाइलो संयोग के छ भने भारतले तीनपटक आफू आयोजक हुँदा उपाधि जितेको थियो ।
भारतपछि बंगालदेशले तीन पटक साफ आयोजना गरेको छ । बंगलादेशले पनि २००३ मा पहिलो पटक आयोजना गर्दा च्याम्पियन बनेको थियो ।
आयोजककै रुपमा श्रीलंका र माल्दिभ्सले पनि उपाधि जितेका छन् । श्रीलंकाले सन् १९९५ मा दोस्रो संस्कण आयोजना गर्दा उपाधि जितेको थियो ।
माल्दिभ्सले २००८ मा श्रीलंकासँग मिलेर आयोजना गर्दा च्याम्पियन बनेको थियो ।
पछिल्लो साफ खेलेका १० खेलाडी मात्र नेपाली टिममा
माल्दिभ्समा १३औं साफ भएको दुई वर्ष समेत भएको छैन । तर नेपाली टिममा अहिले धेरै परिवर्तन भइसकेको छ । यसको कारण खेलाडीहरु विदेश पलायन हुनु नै हो । राष्ट्रिय टिमबाटै खेलिसकेका दर्जन भन्दा बढी खेलाडी अहिले भविष्य हेर्दै अष्ट्रेलिया पुगिसकेका छन् ।
अघिल्लो साफको टिममा रहेका कप्तान किरण कुमार लिम्बु सहित दीप कार्की, विशाल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, पुजन उपरकोटी, अन्जन विष्ट, आयुष घलान, मनिष डाँगी, नवयुग श्रेष्ठ मात्रै अहिलेको टिममा छन् ।
अधिकांश खेलाडी विदेशिनु र टिममा नयाँ युवा खेलाडीहरु रहनुले यस पटक साफ उपाधि जित्छौँ भनेर भन्न नसकिने कप्तान किरणले फिलिपिन्स जानुअघि नै बताएका थिए ।
यस्तै यस पटक नेपालको प्रशिक्षककमा इटालियन प्रशिक्षक भिनसेन्चो अल्बर्टो एनेस छन् । उनको लागि यो पहिलो ठूलो प्रतियोगिता हो र उत्तिकै चुनौती पनि छ ।
उनले फिलिपिन्स जानुअघि मैत्रीपूर्ण खेलमा मात्र केन्द्रित हुने बताएका थिए । नेपालले खेल हारे पनि प्रदर्शन राम्रो देखिएको थियो । नेपाली टिमले उतैबाट बेंगलुरु पुगेर प्रशिक्षण गरिसकेको छ ।
यस पटक टिममा विमल घर्ती मगर, देवेन्द्र तामाङ र निशान्त खड्काले पुनरागमन गरेका छन् ।
प्रशिक्षक एनेस आएपछि डेब्यु गरेका सनिश श्रेष्ठ, मणिकुमार लामा, दिपक राज सिंह ठकुरी, लकेन लिम्बु र विमल पाण्डेको लागि यो पहिलो साफ हुनेछ । यस्तै एरिक विष्ट, नविन लामा, आवास लामिछाने र आशिष चौधरीको लागि यो पहिलो साफ हुनेछ । पहिलो पटक टिममा परेका सिमान्त थापाले डेब्यु गर्न बाँकी छ ।
प्रतिक्रिया 4