+
+

प्रधानमन्त्री निकट व्यापारी पोस्ने गरी ग्याँस सिलिण्डरको भन्सारमा बम्पर छुट

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० असार ५ गते २०:५०

५ असार, काठमाडौं । सरकारले प्रधानमन्त्री निकट दुई व्यापारीलाई फाइदा पुग्ने गरी खाना पकाउने ग्याँसको कम्पोजिट सिलिण्डरमा भारी भन्सार छुट दिएको छ ।

सरकारले हालै ल्याएको बजेटमार्फत् प्रधानमन्त्रीका भान्जा गोकुल भण्डारीको ‘नेपाल ग्याँस’ र नेकपा समाजवादीका नेता किसान श्रेष्ठको ‘वान ग्याँस’ कम्पनीले मात्र प्रयोग गरिरहेको खाना पकाउने ग्याँसको कम्पोजिट सिलिण्डरमा ८३ प्रतिशत भन्सार छुट दिने प्रावधान ल्याएको हो ।

फलामे ग्याँस सिलिण्डरको विकल्पका रुपमा चित्रण गरिएको कम्पोजिट सिलिण्डर हाल नेपालमा यी दुई व्यापारीको कम्पनीले मात्र प्रयोग गरिरहेका छन् । यी सिलिण्डरमा यसअघि ३० प्रतिशत भन्सार लाग्दै आएकोमा त्यसमा २५ प्रतिशत विन्दुले घटाएर ५ प्रतिशतमा झारिएको छ ।

नेपालमा राजनीतिक उच्च नेतृत्वसँग जोडिएको दुई वटा कम्पनीले मात्रै यस्तो सिलिण्डरको कारोबार गर्नु र तिनै कम्पनीको सिलिण्डरमा अप्रत्याशित भन्सार महसुल घटेपछि कतिपयले यसलाई राजनीतिक आवरणमा लिइएको लाभको रुपमा व्याख्या गरेका छन् ।

नेपाल ग्याँसका मालिक भण्डारी प्रधानमन्त्री प्रचण्डका बहिनीज्वाइँ खेम भण्डारीका छोरा हुन् । प्रधानमन्त्री प्रचण्ड र समाजवादीका नेता श्रेष्ठ बीच निकट सम्बन्ध छ ।

सरकारले कम्पोजिट सिलिण्डरको भन्सार घटाएको विषय शंकास्पद रहेको ग्याँस उद्योगी शिव घिमिरे बताउँछन् । उनका अनुसार संसारमा लगभग यस्तो सिलिण्डरको प्रयोग फेल भइसकेको छ । भारतमा प्रधानमन्त्रीस्तरबाटै यस्तो ग्याँस सिलिण्डरको प्रयोगका लागि अभियान थाल्दा पनि सफल नभएको घिमिरेको दाबी छ ।

‘सस्तो मूल्यमा पाइने फलामे सिलिण्डर करिब डेढ करोडको संख्यामा बजारमा रहेकै अवस्थामा महँगो मूल्यको सिलिण्डर उपभोक्तालाई भिडाउन प्रपञ्च रचिएको हुनसक्छ,’ घिमिरेले भने,‘ यस्तो सिलिण्डरबाट उपभोक्तामा थप आर्थिक भार पर्ने भएकाले सरकारले बरु अहिलेको सिलिण्डरको सुरक्षाका लागि कार्यक्रम ल्याउनुपर्छ ।’

कम्पोजिट सिलिण्डरको मूल्य नै महँगो पर्ने भएकाले उपभोक्ताले यो सिलिण्डर नरुचाएको घिमिरेले बताए । ‘उपभोक्ता पुरानै सिलिण्डरमा बानी परेका छन् , त्यसैले तिनै सिलिण्डर सुरक्षित बनाउन सरकारले कार्यक्रम घोषणा गर्नुपर्छ ,’ उनले भने ।

कम्पोजिटमा भन्दा सर्वसाधारणले प्रयोग गर्ने सिलिण्डरमा धेरै भन्सार

सरकारले आर्थिक विधेयकबाट कम्पोजिट सिलिण्डरको भन्सार दरमा बम्पर छुट दिँदा सर्वसाधरणले प्रयोग गरिरहेका फलामे सिलिण्डरमा उच्च भन्सार लिइरहेको छ ।

कम्पोजिट सिलिण्डरमा २५ प्रतिशत विन्दुले भन्सार छुट दिएर ५ प्रतिशतमा झारिएको छ । अहिले पनि सामान्य एलपीजी सिलिण्डरमा १५ प्रतिशत भन्सार लाग्ने गर्छ । अन्तःशुल्कको दर कम्पोजिट र सामान्य दुवै किसिमका सिलिण्डरमा समान ५ प्रतिशत छ । यसरी सामान्य फलामे सिलिण्डरमा भन्सार र अन्तःशुल्क गरी कुल २० प्रतिशत कर लाग्ने गरेको छ । तर, कम्पोजिट सिलिण्डरमा भने ५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क गरी १० प्रतिशत मात्रै कर लाग्छ ।

मूल्यका कारण जनताले नरुचाएपछि भन्सार छुट दिएर सस्तो बनाउने प्रयास

खरिद मूल्य नै महँगो भएकाले अहिलेसम्म कम्पोजिट सिलिण्डरको प्रयोग नेपालमा अत्यन्तै कम छ । नेपाल आयल निगमकाअनुसार नेपालमा सबै भन्दा पहिले बाराको ग्याँस वान प्रालिले ५० हजार कम्पोजिट सिलिण्डर आयात गरेको थियो । त्यसमध्ये १५ हजार सिलिण्डर नेपाल ग्याँस उद्योगले खरिद गरेको विवरण निगमसँग छ । तर ती सिलिण्डर पनि पूर्ण रुपमा प्रयोगमा छैनन् । सम्बन्धित उद्योगले दिएको जानकारी अनुसार अहिले नेपाल ग्याँस उद्योगले ३ हजार र वान ग्यासले ५ हजार हाराहारीमा मात्रै यस्ता सिलिण्डर प्रयोग गरिरहेका छन् ।

पछिल्लो समय त यस्ता सिलिण्डरको आयात पनि अत्यन्तै न्यून मात्रै भएको देखिन्छ । भन्सार विभागको विवरणअनुसार नेपालमा पछिल्लो ४ आर्थिक वर्षमा १६७ वटा मात्रै यस्ता सिलिण्डर आयात भएको छ । चालु आर्थिक वर्षको १० महिनामा मात्रै ३३ वटा मात्रै यस्ता सिलिण्डर नेपाल भित्रिएका छन्। यस्ता सिलिण्डर उद्योगहरुले नभएर व्यक्तिगत रुपमा कसैले ल्याएको हुनसक्ने उद्योगीहरु बताउँछन्।

उद्योगी भन्छन् : थाहा छैन

खरिद महँगो हुने तर नाफा सामान्य सिलिण्डरभन्दा बढी नहुने भएकाले आफूहरुले पछिल्लो समय यसको प्रयोग बढाउन नसकेको बारामा रहेको ग्याँस वान नेपालका फ्याक्ट्री म्यानेजर सरोजराज ढकाल बताउँछन् । ‘१० हजार लगानी गरेको कम्पोजिट सिलिण्डरमा पनि नाफा ३५ रुपैयाँ र ३५ सयको सिलिण्डरमा पनि ३५ रुपैयाँ नै भएपछि हामीले लगानीमा थप जोखिम लिएनौं,’ ढकालले भने, ‘अहिले पुरानो सिलिण्डर प्रयोगमा छन् तर नयाँ सिलिण्डर नल्याएको ५ वर्ष भयो ।’ आफ्नो कम्पनीले पनि फलामे सिलिण्डरमै धेरै लगानी गरेका कारण अहिले कुनै करछुट नमागिएको ढकालले दाबी गरे ।

नेपाल ग्याँसका अध्यक्ष गोकुल भण्डारी पनि बजेटमा कम्पोजिट सिलिण्डरलाई कर छुटको माग अहिले नगरेको दावी गर्छन् । ४/५ वर्षअघि नेपाल उद्योग परिसंघबाट सरकारलाई कम्पोजिट सिलिण्डरमा भन्सार घटाउन माग गरेको तर संवोधन नभएपछि वास्ता नगरिएको उनको दाबी छ । ‘हामीले छुट मागेको थिएनौं । बजेटमा यस्तो व्यवस्था आएछ,’ भण्डारीले भने, ‘महँगो भएका कारण उपभोक्तालाई कम्पोजिट सिलिण्डरमा चासो छैन । हामी आफैं पनि फलामको सिलिण्डर उद्योग खोलेर बिक्रि गरिरहेका छौं । यस्तो अवस्थामा हामीलाई किन कम्पोजिट चाहिन्छ ?’

के हो कम्पोजिट सिलिण्डर ?

अन्य सिलिण्डरको तुलनामा यस्तो सिलिण्डरलाई विष्फोटरहित खाना पकाउने ग्याँस सिलिण्डर मानिन्छ । ग्याँसका निर्माता कम्पनीहरुका अनुसार यस्ता सिलिण्डरसिलिण्डरहरू फाइबर र प्लास्टिकको संयोजनबाट बनेका हुन्छन् । जुन आगो प्रतिरोधी हुन्छन् ।

आगोमा पर्दा समेत विस्फोट नहुने यस्ता सिलिण्डर अन्य सिलिण्डरको तुलनामा निकै महँगो हुन्छ । यसैकारण फलामे ग्याँस सिलिण्डरभन्दा सुरक्षित विकल्पको रुपमा लिइन्छ ।

यस्ता सलिण्डर पारदर्शी हुने भएकाले ग्राहकहरूले आफ्नो सिलिण्डरमा रहेको कन्टेनरमा एलपीजी ग्याँसको मात्रा हेर्न मिल्छ । सिलिण्डरहरूमा ग्याँस चुहावट पत्ता लगाउने, बन्द–अफ भल्भ र सुरक्षा सुरक्षा जस्ता केही अन्य सुरक्षा सुविधाहरू हुन्छन् ।

नेपालमा नेपाल ग्यास उद्योगले दुई साइजमा यस्तो सिलिण्डर उपलब्ध हुन्छ । १४.२ केजीको सिलिण्डरको मूल्य ९ हजार २५५ रुपैयाँ र अर्को ५ किलोको सिलिण्डरको मूल्य ६ हजार ९५५ रुपैयाँ पर्ने गरेको थियो। भन्सार छुट दिएपछि यी सिलिण्डर २५ प्रतिशतसम्म कम भएर १४ दशमलव २ केजीको ६ हजार ९ सय ४१ रुपैयाँ र ५ किलोको ५ हजार २ सय १६ रुपैयाँसम्म पर्नसक्छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?