
काठमाडौं । हिप्को सुपरबिल्ड उद्योगले वीरगञ्जमा स्टिल फ्याब्रिकेसन तालिम एवम् रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । हुलास स्टिल उद्योग अन्तर्गतको हिप्को सुपरबिल्डले वीरगञ्ज महानगरपालिका–३१ बेलवाको परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा तालिम तथा रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
उद्योगका अनुसार असार महिनामा सञ्चालन हुने यो तालिम सात दिनसम्म चल्ने छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशमा स्थायी वा अस्थायी रुपमा बसोबास गरिरहेका नेपाली नागरिकहरु तालिममा सहभागी हुन पाउने छन् ।
तालिम विशेष गरी स्टिल/फलामका श्रमिक, महिला, अति निम्न आय भएका व्यक्ति र विपन्न वर्गलाई लक्षित गरिएको उद्योगको भनाइ छ । तालिमले निर्माण र निर्माण सामग्री उत्पादन गर्ने निजी क्षेत्रका कलकारखानाहरुलाई आफ्नो व्यवसायको माग अनुसारको दक्ष कामदार प्रदान गर्दछ ।
हुलास स्टिलले प्राकृतिक श्रोत र सामाजिक विकासलाई सन्तुलनमा ल्याउँदै समग्र मुलुकको दिगो आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको उद्योगको भनाइ छ ।
यस कार्यक्रमले नेपालको श्रम बजारको प्रमुख चुनौतीलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका लागि सीप कार्यक्रम नेपालको लुम्बिनी र मधेश प्रदेशमा कार्यान्वयन हुँदै आएको छ ।
कार्यक्रमलाई दिवाकर गोल्छा कर्पोरेसन अन्तर्गत हुलास स्टिल उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रुपमा कार्यान्वयन गर्दै आइरहेको छ भने यसको साझेदारी नेपाल उद्योग परिसंघ र मेक इन नेपाल (स्वदेशी) अभियानले गरेका छन् ।
प्रतिक्रिया 4