+

करण केसी चम्किँदा अमेरिकामाथि नेपालको दबदबा कायमै

२०८० असार  ५ गते २२:२३ २०८० असार ५ गते २२:२३
करण केसी चम्किँदा अमेरिकामाथि नेपालको दबदबा कायमै

५ असार, काठमाडौं । मिडियम पेश बलर करण केसीले पावर प्लेमा ७ रन खर्चिएर ४ विकेट लिँदै अमेरिकी टप अर्डर ध्वस्त पारे । अनि, जवाफमा भीम सार्कीले अविजित ७७ रनको पारी खेलेपछि नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ र, विश्वकप छनोटमा महत्वपूर्ण २ अंक हात पारेको छ ।

पहिलो खेलमा घरेलु टोली जिम्बाव्वेसँग हारेको नेपाललाई सुपर सिक्सको सम्भावना कायमै राख्न मंगलबारको खेल जित्नुपर्ने दबाब थियो । हरारेस्थित ताकासिंगा स्पोर्टस् क्लबमा टस जितेका नेपालका कप्तान रोहितकुमार पौडेलले विहानको समयमा अमेरिकालाई ब्याटिङको निम्तो दिन ढिला गरेनन् ।

अमेरिकाविरुद्ध दोस्रो ओभरमै बलिङ गरेका करणले पाँचौ र छैटौं बलमा लगातार दुई विकेट लिए । पाँचौं बलमा ओपनर स्टेभेन टेलरलाई एलबीडब्लूको धरापमा पारेका उनले लगत्तैको बलमा सैतेजा मुक्कामल्लालाई स्लिपमा आरिफ शेखबाट क्याच गराएका थिए । टिमको स्कोर ६ हुँदा दुई विकेट गुमाएर दबाबमा परेका अमेरिकी ब्याटरले खुलेर खेल्न सकेनन् ।

उनले आठौं ओभरमा तेस्रो विकेट लिए । २२ बल खेलेर मात्र २ रन बनाएका आरोन जोन्स कुशल भुर्तेलको हातबाट क्याच आउट भए । उनै आरोन जोन्सले दुई पटक जीवनदान पाएका थिए । २.६ ओभरमा रनआउट हुनबाट बचेका उनको क्याच ७.१ ओभरमा भुर्तेलले मिस गरेका थिए । तर त्यसपछिको चौथो बलमा उनलाई करणले कुशलबाटै क्याच आउट गराए ।

करणले अर्को सफलता ९.२ ओभरमा पाए । उनले नोस्थुज केनिजलाई आरिफको हातबाट क्याच गराए । केनिज आउट हुँदा स्कोर बोर्डमा अमेरिकाको मात्र १८ रन थियो ।

पहिलो पावर प्ले पूरा नहुँदै ४ विकेट गुमाए पनि गजानन्द सिंह र सुशान्त मोदनीले अमेरिकी पारी सम्हाल्ने कोशिस गरेका थिए । तर दीपेन्द्र सिंह ऐरीले २१.३ ओभरमा सिंहलाई व्यक्तिगत २६ रनमा आउट गर्दै ४७ रनको साझेदारी तोडे । त्यसपछि ललित राजवंशीले मोदनीलाई व्यक्तिगत ४२ रनमा बोल्ड गरे ।

सिंह आउट भएपछि मोदनीले स्यान जहाँगिरसँग २९ रनको साझेदारी गरेका थिए । गुल्सन झाले ३६.४ ओभरमा निसर्ग पटेललाई ७ औं विकेटका रुपमा आसिफ शेखको हातबाट क्याच आउट गरे ।

त्यसपछि आएका जेस्सी सिंहले जंहागीरसँग ४२ रनको साझेदारी गरे । जेस्सीलाई दीपेन्द्र सिंह ऐरीले कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए ।

क्रिजमा टिकेर बाउण्ड्रीसमेत हानिरहेका जंहागीरले नवौं विकेटका लागि सौरभ नेत्रभालकरसँग ३७ रनको साझेदारी गरे । त्यसक्रममा उनले ४८.३ ओभरमा शतक पूरा गरे । ५६ बलमा करियरमै पहिलो पटक ५० रन पूरा गरेका उनले थप २३ बलमा अर्को ५० रन थपेर शतक पूरा गरे ।

अर्को बलमा गुल्सनले नेत्रभालकरलाई बोल्ड गरे । अन्तिम ब्याट्सम्यानका रुपमा क्रिजमा आएका क्याल फिलिपले पहिलो बलमा रन जोड्न सकेनन् । अर्को बलमा योर्कर फालेका गुल्सनले एलबीडब्लू धरापमा पारे र अमेरिका २०७ रनमा अलआउट भयो ।

नेपालका करण केसी एक्लैले ४ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै ३३ रन दिए । म्यान अफ दि म्याचसमेत भएका उनले खेलपछि भने, हामीले टस जितेपछि बलिङ गर्नुथियो । र, मैले सुरुवाती स्पेलको आनन्द लिएँ ।’

यस्तै गुल्सन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । सन्दीप लामिछाने भने मंगलबार पनि विकेटविहीन रहे । १० ओभर बलिङ गरेका उनले ५८ रन दिएका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय १०४ विकेट लिइसकेका स्टार स्पिनर लामिछाने जिम्बाव्वेसँगको खेलमा आफ्नो स्पेल पूरा गरेका उनले ७७ रन दिएका थिए । सन्दीपले विकेट लिन नसकेको अमेरिका त्यही टिम हो, जसविरुद्ध यसअघि खेलेका ७ वटा एकदिवसीय अन्तर्राष्ट्रियमा उनले १५ विकेट लिएका छन् ।

२०२० मा भएको आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूको खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उनले ६ ओभर मात्र बलिङ गरेर ६ विकेट लिएका थिए ।

अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपाल कुनै पनि बेला ठूलो दबावमा परेन । जिम्बाव्वेविरुद्ध कीर्तिमानी साझेदारी गरेका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात गरेका थिए । तर पाँचौं ओभरको अन्तिम बलमा अम्पायरले नेत्राभाल्करको पक्षमा निर्णय लिए र, १२ रन बनाएका आशिफलाई एलबीडब्लू दिए । तेस्रो नम्बरमा आएका भीम सार्कीले पारी सम्हाले । कुशलसँग ४९ रनको साझेदारी गरे । उनी २९ रनमा आउट भए ।

कप्तान रोहित १३ र कुशल मल्ल १३ रनमा आउट भए । क्रिजमा टिकिरहेका भीमले दीपेन्द्र सिंह ऐरीसँग पाँचौं विकेटका लागि अविजित ७४ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । भीम ७७ र ऐरी ३९ रनमा अविजित रहे ।

ओडीआई क्रिकेटमा नेपाल र अमेरिकाको यो सातौं खेल हो, अमेरिकाले दुई खेल मात्र जितेको छ । नेपाालको यो चौथो जित हो ।
जितपछि कप्तान रोहितकुमार भनेका छन्, ‘हामी एउटा जितको खोजीमा थियौं, त्यो पायौं । करण केसी शानदार रहे । उनको परिस्थितिको निकै राम्रो सदुपयोग गरे । ललित राजवंशीको पनि योगदान रह्यो, उनले करणलाई सहयोग गरे ।’

व्याटिङमा भीमसँगै दीपेन्द्रले राम्रो गरेको भन्दै उनले वेष्ट इण्डिजविरुद्ध हुने खेलमा अहिले भएका गल्ती नदोहोरिने आशा व्यक्त गरे । ‘हामी चाहन्छौं कि हरेकले खेलमा योगदान गरोस् र हामीले आफ्नो उत्कृष्ट क्रिकेट खेल्न सकौं’ उनले भने ।

म्यान अफ दि म्याच करणले पनि अब बाँकी दुई खेल (वेस्ट इण्डिज र नेदरल्याण्ड्स) मा कम्तीमा एउटा जिते सुपर सिक्समा पुग्न सक्ने बताए ।

लगातार दोस्रो हार व्यहोरेको अमेरिकाका कप्तान एरोन जोन्सले भने २०८ रनको लक्ष्य पर्याप्त भएपनि आफूहरुको बलिङ राम्रो हुन नसकेको बताए । दुई खेल गुमाएपनि बाँकी खेल जित्ने र विश्वकपमा छनोट हुनेमा आशावादी रहेको उनले बताए ।

जिम्बाव्वे नेपाली क्रिकेट विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय