+
+

बन्दीपुर ‘मिनी ग्रेटवाल’को काम अलपत्र, सडक पनि बनेन

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते ७:१६

६ असार, चितवन । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा चिनियाँ ग्रेटवालको झल्को दिने भन्दै बनाउन लागिएको ‘मिनी ग्रेटवाल’को काम अलपत्र परेको छ । निर्माणको ठेक्का पाएको ठेकदार सम्पर्कविहीन भएपछि चालु आर्थिक वर्षमा काम सम्पन्न नहुने भएको हो ।

थानीमाई डाँडादेखि मुकुन्देश्वरी डाँडासम्म कूल १ हजार २५० मिटर लामो ढुंगाको पर्खाल लगाइँदै छ । त्यसैलाई ‘मिनी ग्रेटवाल’को नाम दिइएको हो । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेकाले यसको ऐतिहासिक महत्वसमेत छ ।

यसअघि उपभोक्ता समितिमार्फत ३० लाखको लागतमा करिब ५ सय मिटरमा दुईतर्फ पर्खाल लगाइसकिएको छ । पर्यटन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा मिनी ग्रेटवाल बनाउन २०७८ असोज १२ गते धर्मयस कश्यप जेभीसँग सम्झौता भएको थियो । २०७९ चैत ३० गतेभित्र निर्माण सक्ने लक्ष्य राखिएको भए पनि ठेकदारले सामान्य काम बाहेक केही गरेन ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले ठेकदारले काम नगर्दा पालिकाको एउटा महत्वपूर्ण भौतिक पूर्वाधार अलपत्र बनेको दुखेसो गरे । ‘ठेक्का म्याद थप भएको पनि छैन, गाउँपालिकाले पटकपटक पत्र पठाएर निर्माणको काम गर्न अनुरोध गरे पनि ठेकदारले टेरेनन्’ गाउँपालिका अध्यक्ष थापा भन्छन् ‘गाउँपालिकाको महत्वपूर्ण प्रोजेक्ट नै अलपत्र पारिदिए ।’

भ्याटसहित ३ करोड ६९ लाख लागतमा बन्ने भनिएको मिनी ग्रेटवालको दुवैतर्फ पर्खाल लगाउने, पर्खालमा १२.५ एमएमको स्लेट ढुंगा टाँस्ने र भुईंमा पीसीसी गरेर २५ एमएमको ढुंगा टाँस्ने र थानीमाई जाने भानु माविदेखि नै ग्रेटवालसम्म करिब ३ सय वटा आकर्षक बत्ती राख्ने सम्झौतामा उल्लेख छ । अहिलेसम्म ठेकदारले २ सय मिटर पर्खाल मात्रै लगाएको छ ।

म्याद सकिँदा जम्मा भौतिक प्रगति १२ प्रतिशतभन्दा पनि कम भएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख सन्तोष थापा बताउँछन् । ठेकदार माधव घिमिरे र अर्का धर्मलाल तामाङ काम नगरी सम्पर्कविहिन छन् । उनीहरूले म्याद थपका लागि निवेदन दिएको तर म्याद थप नभएको इन्जिनियर थापाले बताए ।

ग्रेटवाल निर्माणका लागि उनीहरुले २० प्रतिशत पेश्की लगेकोमा त्यसलाई फिर्ता गरिएको छ । ठेकदारले ४० लाख ६५ हजार धरौटी राखेको छ । अब ठेकदारको धरौटी जफत गरेर कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्न बाँकी रहेको गाउँपालिका अध्यक्ष थापाले बताए । ‘मलाई यी ठेकदारहरुले धेरै हैरान पारे, पटक–पटक सम्पर्क गर्न खोजें, कहिले हुन्छ कहिले हुँदैन, अब गर्छु भन्छन्, तर म्याद सकिँदा पनि काम गरेनन्,’ अध्यक्ष थापाले भने ।

उनले ठेकदारलाई कारर्वाही गर्नुको विकल्प नभएको बताए । सिंगो बन्दीपुरवासी माथि ठेकदारले धोका दिएको बताउँदै उनले भने, ‘जता पनि ठेक्का लिने, काम नगर्ने बदनाम कम्पनी र ठेकदारका रुपमा उनीहरु परिचित हुँदै गएको पाएँ ।’

बाटो निर्माण पनि अलपत्र

संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा बन्ने तीन वटा सडकखण्डको कामको ठेक्का पनि यही कश्यप कन्स्ट्रक्सनले अलपत्र पारिदिएको छ । पृथ्वी राजमार्गको बन्दीपुर जाने गेटबाट गुरूङटार चोकसम्मको करिब ९ सय मिटर लामो सडकलाई कालोपत्रे गर्ने काम यही कम्पनीले अलपत्र पारेको छ । अलि–अलि नाला बनाउने र कतै–कतै कटिङ गर्ने बाहेक अरु काम भएको छैन ।

यस्तै, बन्दीपुर खण्डको ९ सय मिटर कालोपत्रे सडक पनि अलपत्र छ । गाउँपालिका जाने चोकदेखिको सडक ढलानको काम यत्तिकै छाडेर ठेकदार बेपत्ता छन् । जम्मा ३४० मिटर लामो, ७ मिटर चौडाइ र ८ मिटर बाक्लो सडक ढलानको कामसमेत अलपत्र छ ।

सडकमा ढलानका लागि रड बिछ्याइएको छ तर, रड खियाले खाएको मात्रै छैन, तलबाट उम्रिएका झारले ढाकिन थालेको छ । गाउँपालिकाको गेट नजिकैको बाटोसमेत ठेकदारले नबनाएर हदैसम्म दुःख दिएको पालिका अध्यक्ष थापाले बताए ।

२०७८ वैशाख २८ गते २ करोड ५८ लाखको लागतमा यो सडक बनाउने जिम्मा कश्यपले पाएको थियो । २०७९ वैशाख २७ गते भित्र निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ । ठेकदारले २०७९ पुस ३० गतेसम्म म्याद थप लिए पनि अहिलेसम्म काम अगाडि बढाएको छैन । ‘नत अहिले म्याद थप गरिएको छ न त ठेकदारले काम नै गरेको छ’ गाउँपालिकाका प्राविधिक शाखा प्रमुख थापा भन्छन्, ‘उसको पेश्की रकम कट्टा गरियो, धरौटी जफत गरेर कालो सूचीमा राख्ने तयारी छ ।’ ठेकदार कम्पनीले ३२ लाख २० हजार धरौटी जम्मा गरेको छ ।

यही कश्यप कम्पनीले तीनधारादेखि बाहुन भर्याङ्गसम्मको सडक पनि ठेक्का लिएर अलपत्र पारेको पालिका अध्यक्ष थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?