+
+

बालहठ : आयातित सिनेमालाई प्रतिबन्ध लगाएर घरेलु सिनेमाको उत्थान

नेपालको कुनै भूभागमा हुने सीमा अतिक्रमणभन्दा भयानक सांस्कृतिक हस्तक्षेप हो, जुन आज हाम्रो घरभान्सासम्म आइपुगेको छ । किनभने देश भनेको भूगोल मात्र होइन । यो त नेपाली मन र नेपालीपनलाई अभिन्न रुपमा जोड्ने कला, संस्कृति, रहनसहनको सीमाहीन फैलावट हो ।

शिव मुखिया शिव मुखिया
२०८० असार ६ गते ७:१५

यदाकदा हामीभित्र ‘राष्ट्रप्रेम’ यसरी भुलुक्क उम्लिन्छ । आन्दोलित मनलाई थामथुम पार्नै कठिन हुन्छ । अहिले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को एउटा संवादलाई लिएर नेपाली मनमा यस्तै आँधी उछालिएको छ । जानकी भारतकी छोरी भन्ने आशयको संवादमाथि नेपालीलाई चित्त दुखेको हो ।

किनभने हाम्रो ठहरमा त्यो फगत संवाद मात्र होइन, जालसाजी हो । हाम्रो आस्था, अस्तित्व र अस्मितामाथिको हेपाइ हो । हाम्रो पौराणिक विरासतमाथिको खेलाँची हो । यो चित्त दुखाइ त्यति सस्तो छैन । यसले ‘आदिपुरुष’लाई आच्छुआच्छु बनाइदिएको छ ।

देशभरका सिनेमा घरबाट आदिपुरुषको शो हटाइएको छ । एउटा जमात सिनेमा घरमा टाँगिएको पोस्टर च्यात्न हतारिएको छ । आदिपुरुषको ‘झेली संवाद’ नसच्याएसम्म काठमाडौंका हलहरुमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर बालेन्द्र शाहको चेतावनीले अर्को झट्का दिएको छ ।

नेपालकी धर्तीपुत्री जानकीलाई पराइले ‘हाम्री छोरी’ भनी हकदाबी गर्दा हाम्रो रक्तचाप बढ्छ । लिपुलेकको चुच्चे नक्सालाई नेपालको मानचित्रबाट हटाउँदा ‘देशभक्त’ नेपालीलाई जति झोंक चलेको थियो त्यो भन्दा बढ्दा कन्पारो त आदिपुरुषको संवादले तात्छ । आयातीत सिनेमाको कुनै पात्रद्वारा बोलिएको संवादले हामीलाई किन यतिविध्न उद्वेलित र उत्तेजित बनाउँछ ?

हुन सक्छ, यहाँ कसैलाई लोकप्रियता र चर्चाको भोक छ । हुन सक्छ, कसैलाई अन्ध राष्ट्रवादले उक्साएको छ । यी दुईथरी प्राणीलाई पन्छाएर विमर्श गर्ने हो भने यसको अन्तर्य र आयाम फरक देखिन सक्छ ।

किनभने हाम्रो अल्पज्ञानले बुझेजस्तो ‘हल्का रमाइलो’ मात्र होइन सिनेमा । यो कलाले सुशोभित दस्तावेज हो । मान्छेको जीवन पद्धित र दर्शनमाथि थाहै नपाई हस्तक्षेप गर्ने सप्तरंगी हतियार हो । दुनियाँलाई क्षणभरमै सम्मोहित बनाउने सांस्कृतिक जादू हो ।

संक्रामक सिनेमा ?

जहाँ-जहाँ सिनेमाले परिक्रमा गर्छ, त्यहाँ-त्यहाँ यसको नौरंगी पदचाप पनि छाडिने गर्छ । त्यही पदचाप पच्छ्याउँदै हामी थाहै नपाई अरु कसैको रहनसहन, बोलीचाली, वेशभूषा र खानपानमा लपेटिन पुग्छौं । आयातीत सिनेमाले गर्न सक्ने सांस्कृतिक विस्तार वा अतिक्रमण यही हो ।

आज हाम्रा अवोध छोराले उल्कै मन पराएर खेल्ने ‘ट्रान्सफर्मर्स टोय कार’ कहाँबाट आउँदैछ ? आज हाम्री छोरीले हत्ते गरेर किन्न लगाउने ‘बार्बी डल’ कसले बनाउँदैछ ? आज हाम्रा छिमेकी दिदीबहिनीको विवाहमा आयोजित थरीथरी ‘सेरोमनी’ कताबाट प्रेरित छ ? आज हाम्रो चाडपर्वमा घन्किने ‘काला चस्मा’ कसले रच्दैछन् ? हाम्रो आङ ढाक्ने पहिरन, हाम्रो आँत तृप्त बनाउने व्यञ्जन, हाम्रो उत्सव मनाउने पारा कहाँबाट सिको गरिंदैछ ?

आयातीत सिनेमा, शृंखला नै यसका मूल स्रोत हुन् ।

नेपालको कुनै भूभागमा हुने सीमा अतिक्रमणभन्दा भयानक सांस्कृतिक हस्तक्षेप हो, जुन आज हाम्रो घरभान्सासम्म आइपुगेका छन् । किनभने देश भनेको भूगोल मात्र होइन । यो त नेपाली मन र नेपाली पनलाई अभिन्न रुपमा जोड्ने कला, संस्कृति, रहनसहनको सीमाहीन फैलावट हो ।

दशैंको तिथिमा जहाँ-जहाँ मालश्री धुन बज्छ, उभौलीउधौलीमा जहाँ-जहाँ साकेला नाचिन्छ, असार पन्ध्रमा जहाँ-जहाँ दही चिउरा खाइन्छ, तिहारमा जहाँ-जहाँ देउसी-भैलो भट्याइन्छ, त्यहाँ-त्यहाँ विस्तारित हुन्छ देश । त्यहीं -त्यहीं  हुन्छ नेपाली मन र मुटु पनि । भौगोलिक मानचित्र फगत देश होइन ।

नेपाली फिल्ममेकरले गर्ने बेहिसाब श्रमलाई तुलना गर्ने हो भने अहिले जे जस्ता सिनेमा बनिरहेका छन्, त्यसको उछितो काढ्नु त्यति न्यायोचित छैन । त्यसो भए घरेलु सिनेमालाई पोलियोग्रस्त बनाउनमा को जिम्मेवार छ ?

जब-जब हाम्रा यी रीतिथिति, विश्वास पद्धति, जीवनशैलीमाथि हस्तक्षेप हुन थाल्छ, तब हामी यता न उताको हुन पुग्छौं । आयातीत सिनेमा, शृंखलाको प्रभावमा हुन सक्ने खतरा यही हो । त्यसो भए ती सिनेमाहरुको अतिक्रमण रोक्न ‘पूर्ण प्रतिबन्ध’ लगाउने ? वा ज्ञानेन्द्र शाहीहरुले भने झैं ‘कोटा प्रणाली’ लागू गरेर घरेलु सिनेमाको उत्थान गर्ने ?

यी तरिकाहरु न विवेकसम्मत छन्, न विज्ञानसम्मत ।

गाँठी कुरा के पनि हो भने सिनेमा आफैंमा संक्रामक हुँदैन । वर्तमान युगको सर्वाधिक उन्नत र सर्वप्रिय कला हो यो । तर हरेक कमजोर वस्तुमाथि बलशाली वस्तु हाबी हुने प्राकृतिक सत्य सिनेमाको हकमा पनि लागू हुन्छ ।

टिठलाग्दो कुरा त के भने हाम्रो सिनेमा आफैंमा आयातीत सिनेमाका सहउत्पादनजस्ता छन् । यदि घरेलु सिनेमाले आफ्नै अवयव निर्माण गर्न सकेका भए, आफ्नै इन्द्रियहरुलाई जागृत गर्न सकेको भए, आफ्नै प्राणायामले प्राण भर्न सकेको भए, आयातीत सिनेमाको यतिविध्न बिगबिगी हुँदैनथ्यो ।

कसले कमजोर बनायो सिनेमा ?

त्यसो भए नेपाली सिनेमालाई तागतिलो र आफ्नै खुट्टामा उभिन सक्ने बनाउनबाट कसले रोकिरहेको छ त ? फिल्मकर्मीले ? लगानीकर्ताले ? पटकथाकारले ? हल सञ्चालकले ? वितरकले ? वा घरेलु सिनेमालाई माया नगर्ने दर्शकले ?

बजेट र बजारको आकारलाई आँकलन गरेर भन्ने हो भने नेपाली फिल्ममेकरले जसरी सिनेमा निर्माण गरिरहेका छन् त्यो अतुलनीय छ । हिन्दी सिनेमाको एउटा आइटम नृत्य छायांकन गर्ने रकमले नेपालमा चारवटा सिनेमा निर्माण हुन सक्छ । नेपाली फिल्ममेकरले गर्ने बेहिसाब श्रमलाई तुलना गर्ने हो भने अहिले जे–जस्ता सिनेमा बनिरहेका छन्, त्यसको उछितो काढ्नु त्यति न्यायोचित छैन । त्यसो भए घरेलु सिनेमालाई पोलियोग्रस्त बनाउनमा को जिम्मेवार छ ?

शासक, जसले सिनेमाको सौन्दर्य, शक्ति र सुगन्ध महसुस गर्नै सकेनन् । बेलाबखत फिल्मकर्मीले गर्ने निमन्त्रणामा पुगेर ‘देशप्रेम झल्किएको कथा’ भनी टिप्पणी गर्ने, लोकप्रियताका लागि ‘विदेशी फिल्म प्रतिबन्ध गर्नुपर्छ’ भनी भाषण ठोक्ने बाहेक ठोस काम गर्न सकेन, जानेन वा चाहेन ।

कथित वुद्धिजीवी, जसले सिनेमाको मर्म, महत्व र मधुरता अनुभूत गर्नै सकेनन् । सिनेमालाई ‘हल्का मनोरञ्जन’को कोटीमा राखेर यसलाई समय कटाउने बहानाको रुपमा मात्र बुझे ।

नीति-निर्माता, शासक, बुद्धिजीवीले सिनेमालाई सही रुपमा बुझ्न, सुन्न, हेर्न र मन्थन गर्न सकेको भए हास्यस्पद ढंगमा अन्धाधुन्ध यसो भन्नु पर्दैनथ्यो, ‘विदेशी फिल्म रोकौं, नेपाली फिल्मको उद्धार गरौं ।’

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?