+
+

फुकेन कित्ताकाटको गाँठो

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० असार ६ गते १८:०५
फाइल तस्वीर

६ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेट वक्तव्यमा भनिएको छ, ‘केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरिनेछ । यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास लिएको छु ।’

यो घोषणापछि धेरैलाई लागेको थियो, अब सबैतिर जग्गाको कित्ताकाट खुलिहाल्ला । तर, वास्तविकतामा त्यस्तो भएन ।

तर, अहिलेसम्म घोषणाअनुसार जग्गाको कित्ताकाट खुलेको छैन । भूमि व्यवस्था तथा अभिलेख विभागले अहिलेसम्म जग्गाको रोकिएको कित्ताकाट खोल्ने गरी कुनै निर्देशन र परिपत्र नआएको र अवस्था यथावत रहेको बताएको छ ।

विभागका महानिर्देशक पद्मनिधि सोती जग्गाको कित्ताकाट खोल्ने सरकारको घोषणाअनुसार कानुनी गाँठो फुक्न बाँकी रहेको बताउँछन् । ‘जग्गाको कित्ताकाट खोल्न पहिलो संशोधन सम्बन्धी नियमावली–२०७९को संशोधन गर्नुपर्ने भएकाले त्यसमा तयारी गर्न समय लागेको हो,’ उनी भन्छन्, ‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवावरण मन्त्रालयले यसका लागि तयारी गरिररहेको छ ।’

उनका अनुसार अहिले जग्गाको वर्गीकरणसँग सम्बन्धित विषयगत मन्त्रालयहरुसँग नियमावली संशोधनका लागि राय मागिएको छ । र, मन्त्रालयहरुले धमाधम राय पठाइरहेका छन् ।

२३ जेठ, २०७९ जारी भएको भू–उपयोग नियमावलीले जमिनलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र सरकारले तोकेको अन्य क्षेत्र भनेर वर्गीकरण गर्न सक्ने व्यवस्था गरेको छ । सरकारले भदौ, २०७९ देखि कम्तीमा स्थानीय तहभित्र कृषि र गैरकृषि जमिन नछुट्याए जग्गा कित्ताकाट नहुने व्यवस्था गर्‍यो । स्थानीय तहले भू–उपयोग परिषद्‍बाट जमिनको वर्गीकरण नभएर जग्गाको कित्ताकाट गर्न नपाइने भएपछि धरै ठाउँमा जग्गाको कारोबार प्रभावित भएको थियो ।

यसलाई सहज बनाउन भन्दै गत वैशाखमा मन्त्रिपरिषद्‍ले कित्ताकाट खुलाउने गरी निर्णय गरेपनि विषयगत मन्त्रालयहरुले त्यसमा ध्यानाकर्षण जनाएपछि निर्णय कार्यान्वयन हुन पाएको थिएन । त्यसैअनुसार मन्त्रिपरिषद्‍ले नियमावली संशोधनअघि थप गृहकार्य खोजेको थियो ।

‘मन्त्रालयहरुको रायअनुसार नियमावली संशोधनको मस्यौदा बनाएर कानुन मन्त्रालयको सहमतिमा मन्त्रिपरिषद्‍बाट नियमावली संशोधनको निर्णय गरिनुपर्छ,’ उनी भन्छन्, ‘सरोकारवाला मन्त्रालयहरुको राय लिएर नियमावलीलाई संशोधन गर्ने मन्त्रालयको योजना रहेको बुझेको छु ।’

जग्गाको कित्ताकाट खोल्ने मन्त्रिपरिषद्‍को निर्णय कार्यान्वयन नहुँदै रोकिन पुगेपछि घरजग्गा व्यवसायीले यसलाई छिटो खुलाउन माग गर्दै आएका छन् । मन्त्रिपरिषद्‍ले कित्ताकाट खुलाउने कानुनी आधार र विषयबारे पुनः प्रस्ताव पठाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको थियो । आर्थिक क्षेत्रलाई चलायमान गराउने र नियमावली कार्यान्वयनका समस्याहरु सम्बोधन हुने गरी प्रस्ताव गर्न निर्देशन दिएको थियो ।

मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै ५ वैशाखमा सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय भएका बताएकी थिइन् । ‘नियमावली संशोधन नभएका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनका लागि मन्त्रिपरिषद्ले भू–उपयोग नियमावली २०७९को पहिलो संशोधनलाई स्वीकृत गर्ने निर्णय गरेको छ’ उनले भनेकी थिइन् ।

भू–उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकोट खोल्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको थियो । तर, माइन्युटअघि विभिन्न विषयहरु अस्पष्ट र अपुरो रहेको निष्कर्ष निकाल्दै मन्त्रालयलाई पुनः प्रस्ताव पेश गर्न भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले निर्देशन दिएको थियो ।

भू–उपयोग नियमावलीले स्थानीय तहले कृषियोग्य र गैरकृषियोग्य भूमि भनेर छुट्याएपछि मात्रै जग्गाको कित्ताकाट गर्न सक्ने व्यवस्था गरेको छ । यसअनुसार १७० स्थानीय तहले वर्गीकरण टुंग्याए पनि अन्य अन्योलमा छन् ।

यस्तो अवस्थामा आर्थिक गतिविधि चलायमान गराउन भन्दै सरकारले जग्गाको कित्ताकाटमा जग्गाको वर्गीकरणसम्बन्धी व्यवस्था अनिवार्य नगर्ने निर्णय गरेको थियो । तर, सो निर्णय मन्त्रालय नपठाएर मन्त्रिपरिषद्‍ले नयाँ प्रस्ताव पठाउन भनेको हो ।

मन्त्रालय अधिकारीहरुका अनुसार भू–उपयोग नियमावली संशोधनका लागि २/३ वटा मात्रै विषय सम्बोधन गर्ने गरी संक्षिप्तमा प्रस्ताव पठाएको र मन्त्रिपरिषद्‍को आर्थिक तथा पूर्वाधार समितिमा छलफलपछि पुनः प्रस्ताव पेश गर्न निर्देशन आएको थियो ।

त्यसैअनुसार अहिले भूमिक व्यवस्था मन्त्रालय गृहकार्यमा व्यस्त छ ।

बढ्न थाल्यो जग्गा कारोबार

सरकारले कित्ताकाट नखोले पनि जेठ महिनामा घरजग्गाको कारोबार उच्च दरमा बढेको छ । जेठमा लिखत पासको संख्या ५५ हजार ६९ पुगेको छ । यो लिखत पास चालु आर्थिक वर्ष २०७९/८० कै उच्च हो । जेठमा कारोबार बढ्दा पनि मालपोत राजस्वको असुली भने ३ अर्ब ७५ करोड पुगेको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत वैशाखमा ४२ हजार ४६१ र चैत महिनामा ४९ हजार १५० वटा जग्गाको लिखत पास भएको थियो । गत फागुनमा ४० हजार ७३४, माघ महिनामा ४१ हजार ८६, पुसमा ३८ हजार ८३१, मंसिरमा २९ हजार १८४, कात्तिकमा २७ हजार ९३९, असोजमा २५ हजार ७८९, भदौमा ३४ हजार ७२० र साउनमा ३३ हजार ७३४ लिखत पारित भएको थियो । विभागका अनुसार गत असोजमा मासिक लिखत पास करिब २६ हजारसम्म झरेपछि पुनः सुस्त गतिमा वृद्धि हुँदै आएको हो ।

बैंकहरुमा लगानीयोग्य पूँजी बढेसँगै लगानी बढेपछि घरजग्गाको कारोबारमा सुधार भएको हो । बैंकहरुमा लगानी थुप्रिन थालेपछि घरजग्गामा लगानी बढ्न थालेको छ, जसका कारण फेरि घरजग्गाको कारोबार बढ्दै जान थालेको छ ।

‘यो जग्गाक किन्ने/बेच्ने सिजन नै हो,’ विभागका महानिर्देशक सोती भन्छन्,‘अब वर्षा लागेपछि पहाडी क्षत्रेमा जग्गाको कारोबार घट्न सक्छ ।’

घरजग्गा कारोबार शिथिल भएपछि अर्थतन्त्रको अन्य क्षेत्र पनि सुस्ताएको व्यवसायीले बताउँदै आएका छन् । मन्दीका कारण घरजग्गा नबिकेपछि ‘रियलस्टेट’का लगानीकर्ताहरुले समस्या परेको बताउँदै आएका छन् । आर्थिक समस्यामा परेपछि ठूला व्यवसायीहरु पनि आफ्ना जग्गा बेच्न कस्सिएका छन्, तर बिकीरहेको छैन ।

बजारमा माग घटेकाले समस्यामा परेका व्यवसायीले बैंकको ऋण तिर्न जग्गा बेच्न खोजे पनि मूल्य राम्रो पाइरहेका छैनन् । ठूला सहकारीहरुको लगानी पनि घरजग्गामै फसेको छ । जसका कारण सहकारीका बचतकर्ताहरुले आफ्नो बचत समेत समयमै फिर्ता नपाउनेदेखि सहकारीहरु समस्याग्रस्त हुने क्रम बढ्दै गएको छ ।

धितोमा राखेका जग्गाहरुको समेत मूल्य प्रभावित हुँदा खराब बैंक ऋणको धितोको लिलामीमा समेत समस्या छ । यसले बैंकको खराब कर्जा बढ्दै जाने जोखिम देखिएको छ ।

एकातर्फ घरजग्गाको मूल्य घट्ने, कारोबार नहुने तथा लगानी फस्ने भइरहँदा नयाँ परियोजनाका लागि ऋण लिन जग्गा नै धितो खोज्ने बैंकिङ प्रणालीको चरित्रले पनि समस्या थपेको छ । जग्गाको कमजोर मूल्याङ्‍कनका कारण ऋण लिन समेत व्यवसायीहरुलाई सकस परेको छ ।

‘१७० स्थानीय तहले कित्ताकाट खुलाउने गरी निर्णय गरिसकेका छन्,’ महानिर्देशक सोती भन्छन्,‘अन्य स्थानीय तहका जग्गाको कित्ताकाटमा समस्या यथावत छ, त्यसैले सरकारले यसलाई सहज बनाउन खोजेको हो ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?