+

‘पेनकिलर, आयुर्वेदिक औषधि जथाभावी खाँदा मिर्गौला बिग्रिन सक्छ’

२०८० असार  ६ गते १६:१६ २०८० असार ६ गते १६:१६
‘पेनकिलर, आयुर्वेदिक औषधि जथाभावी खाँदा मिर्गौला बिग्रिन सक्छ’

काठमाडौं । मिर्गौलाले शरीरका विकारयुक्त कुरा फाल्ने,  रगतमा हुने विषाक्त पदार्थलाई छान्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हfर्मोन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्ने लगायत काम गर्छ । तर मिर्गौलामा अल्पकालीन तथा दीर्घकालीन रोग लागेपछि यसको काम गर्ने क्षमतामा कमी आउँछ ।

मिर्गौला राम्ररी काम नगरेपछि शरीरमा विषाक्त पदार्थ थिग्रिंदै जान्छन् । फलस्वरूप त्यसबाट शरीरका अन्य अंगमा समेत असर देखिन थाल्छ । मिर्गौलामा रोग लाग्ने कारण के के हुन् ? यसबाट कसरी बच्ने ? यिनै विषयामा केन्द्रित रहेर मिर्गौलारोग विशेषज्ञ डा. समीरकेशरी वैद्यसँग गरिएको कुराकानी :

मिर्गौलामा के के रोग लाग्छ ?

मिर्गौलामा लाग्ने रोग विभिन्न प्रकारका हुन्छन् । एउटा अनुवांशिक नै हुन्छ, जस्तो कि पोलिस्टर किड्नी डिजिज । यो रोग लागेका मानिसको किड्नीमा जन्मैदेखि पानी भरिएका फोकाहरू हुन्छन् । अर्को ‘क्रोनिक किड्नी डिजिज’ मधुमेह,  उच्च रक्तचाप तथा मिर्गौलाको पुरानो रोगका कारण देखा पर्छ ।

आकस्मिक मिर्गौलाको रोग हुन सक्ने अन्य कारण झाडापखाला, मिर्गौलाको पत्थरी, ट्युमर, मिर्गौलामा लाग्ने चोटपटक हुन् ।

मिर्गौलाको रोग लाग्नसाथ हामी अत्तालिन्छौं, जीवन नै सकियो भन्ने ठान्छौ । के मिर्गौलाको रोग त्यति भयानक हुन्छ ?

मिर्गौलाको रोग लागि हाल्दैमा अत्तालिनु पर्दैन । समयमा रोग पत्ता लगाएर उपचार गरियो भने रोग निको हुन्छ । त्यसैले मिर्गौलाको समस्या पत्ता लगाउन पिसाबको जाँच, अल्ट्रासाउन्ड गर्न सकिन्छ ।

मिर्गौलामा रोग लाग्ने मूल जड के हो ?

मिर्गौला खराब हुने मूल कारण उच्च रक्तचाप, मधुमेह,  मिर्गौलामा हुने नेफ्राइटिस, मिर्गौलामा संक्रमण र पत्थरी भएमा, प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा र जथाभावी रूपमा औषधि सेवन गर्दा मिर्गौला बिग्रिने समस्या हुन सक्छ ।

मिर्गौलामा रोग लागेको के कस्तो संकेत मिल्छ ?

कतिपय अवस्थामा मिर्गौलाको समस्यामा संकेत नदेखिन पनि सक्छ । तर सामान्यतया मिर्गौला खराब हुँदा वाकवाक लाग्ने, श्वासप्रश्वासमा असहज हुने, पेट दुख्ने, निद्रा नलाग्ने, हातगोडा सुन्निने र झम्झमाउने, पिसाब पोल्ने, शरीरको ऊर्जा नभएको महसुस हुने, ढाड दुख्ने, मुख सुन्निने, खानेकुरामा रुचि घट्दै जाने जस्ता संकेत देखिन्छ ।

मिर्गौलासम्बन्धी रोग बालबच्चालाई पनि लाग्छ ?

मिर्गौलाको रोग बालबच्चालाई पनि लाग्न सक्छ । तर उनीहरूमा मुख्य रूपमा देखिने भनेको जन्मजात रूपमा नै हुने मिर्गौलाको समस्या हो । समयभन्दाअघि जन्मेका बच्चामा मिर्गौलाको विकास नै राम्ररी नभएर पनि समस्या हुन सक्छ ।

बालबच्चालाई मिर्गौला सम्बन्धी के कस्तो समस्या हुन सक्छ ?

मिर्गौलाको आन्तरिक रोगका कारण बच्चामा मिर्गौलाको समस्या हुन सक्छ । साथै रगतको नसा च्यापिएको वा बिग्रिएको हुने, मिर्गौलामा शिष्ट बन्ने लगायत समस्या देखिन्छन् ।  पिसाब संक्रमण गराउने, पिसाबको थैली र नलीका रोगले पनि बच्चामा मिर्गौलामा समस्या निम्ताउँछ ।

मिर्गौलाको रोग लाग्नै नदिन के गर्ने ?

मिर्गौलाको रोग लाग्नै नदिन सबैभन्दा ठूलो कुरा त हामीले सुगर, प्रेसर जस्ता दीर्घरोगबाट बच्नुपर्छ । यी समस्याबाट सबैभन्दा धेरै मिर्गौलामा समस्या देखिने गरेकोले यी समस्या भएका बिरामीले नियमित औषधि लिने, जीवनशैलीमा ध्यान दिने र समय-समयमा परीक्षण गरिरहनुपर्छ । सबैभन्दा ठूलो कुरा जहिले पनि पेनकिलर खाने काम बन्द गर्नुपर्छ । आयुर्वेद औषधि पनि जथाभावी सेवन गर्नुहुँदैन ।

सामान्य मान्छेले पनि सधैं पेनकिलर खाइरहँदा मिर्गौलामा हानि पुगिरहेको हुन सक्छ । साथै मिर्गौला रोगको कहिलेकाहीं लक्षण नदेखिने भएकाले नियमित स्वास्थ्य परीक्षण गराइरहनु पनि जरुरी छ ।

डा. समीरकेशरी वैद्य मिर्गौला
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?