
६ असार, काठमाडौं । निजामती कर्मचारीको नवीन सोच तथा इनोभेटिभ आइडिया प्रस्तुति गरिएको कार्यक्रम ‘प्रतिभा डबली’मा पाणिनी गाउँपालिका, अर्घाखाँचीका इन्जिनियर मोहराज पौडेल प्रथम भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले आइडिया स्टुडियो नेपालको सहकार्यमा गरको कार्यक्रममा उनले स्थानीय तहको योजना तर्जुमा प्रकृयामा तीन आयामिक-परिदृश्य नमुना अर्थात थ्री डी ल्याण्डस्केप मोडलको प्रस्तुत गरेका थिए ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं का सूचना प्रबिधि निर्देशक राम दत्त भट्ट दोस्रो भए । भट्टले स्मार्ट नागरिक ठेगाना व्यवस्थापन प्रणाली र त्यसको बहु उपयोगी फ्रेम वर्क शीर्षकको सोच पेश गरेका थिए ।
कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालय, बबरमहलका लेखा अधिकृत रविचन्द्र अर्याल तेस्रो भए । उनले सरकारी सेवा ट्रयाकिङ्ग प्रणाली प्रस्तुत गरेका थिए ।
सहभागीहरुको प्रस्तुति हेरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीतन्त्रमा नविन सोचका साथ आमुल परिर्वतन नगरि देश विकास नहुने भन्दै यस्ता खालका कार्यक्रमले सबैलाई उर्जा र उत्प्रेरणा दिने बताए ।
सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले प्रस्तुत गरिएका सबै सोचले सार्वजनिक सेवा प्रर्वाह गर्न सरलीकरण गर्ने हुँदा यी सोचहरुलाई कार्यन्वयन गर्न अधिकतम प्रयास गर्ने बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव तथा कार्यक्रमका अध्यक्ष डा. कृष्णहरि पुष्करले कर्मचारीमा रहेका नविन विचारलाई प्रस्फुटन गर्ने उद्देश्यले प्रतिभा डबली कार्यक्रम ल्याएको बताए ।
संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले आइडिया स्टुडियो नेपालको सहकार्यमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय, सिंहदरवारमा आयोजना गरेको काय्रक्रममा देशभरिबाट प्राप्त आइडियाहरूमध्ये उत्कृष्ट १० लाई प्रस्तुत गरिएको थियो ।
प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धीहरूलाई ५० हजार, ४० हजार र ३० हजार रुपैयाँसँगै सम्मान पत्र प्रदान गरिएको छ । अन्य छ जना सहभागी प्रतिस्पर्धीहरूलाई प्रशंसापत्र प्रदान गरियो ।
निर्णायक मण्डलमा सरकारका सचिव गोकर्णमणि दुवाडी, पूर्वसचिव यामकुमारी खतिवडा र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा रहेका थिए ।
प्रतिक्रिया 4