
मधेश प्रदेशबाट प्रारम्भ भएको नेपाली कांग्रेस रुपान्तरण अभियानले सातै प्रदेश र डायस्पोरा समेत गरी विश्वको एकफन्को लगाएको छ।
रुकुम निवासी युवा भाइ रमेश केसीले जब कर्णाली प्रदेशको राजधानी र सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा आयोजना गरिएको रुपान्तरण अभियानको कार्यक्रममा एउटा गम्भीर प्रश्न गरे, सभाहलमा केहीबेर सन्नाटा छायो। हामी आयोजक सबैले मुखामुख गर्यौं। १६/१७ वर्षअघि एकजना बाग्लुङको भाइले कीर्तिपुरमा यस्तै प्रश्न गरेका थिए। त्यो प्रश्न त्यसबेला पनि हामीप्रति नै लक्षित थियो अर्थात् नेपाली कांग्रेसप्रति र अहिले पनि।
त्यतिबेला आन्दोलन गरेर प्रजातन्त्र अर्थात् लोकतन्त्र फर्काएका हामीले उत्साहित हुँदै जवाफ दिएका थियौं, देश विकास र युवा पुस्ताको उज्ज्वल भविष्यको ग्यारेन्टी गरेका थियौं र ती भाइ पनि आश्वस्त देखिएका थिए। नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तनपछि त्यतिखेर पहिलो संविधानसभा निर्वाचन समेत भएको थिएन। जनतामा राजनीतिक दल र नेताप्रति ठूलो भरोसा थियो। अब चाहिं केही हुन्छ भन्ने अपार विश्वास थियो। ती भाइ हिजोआज कहाँ छन् थाहा छैन, नेपालमा भएको भए पक्कै भेट हुन्थ्यो होला।
पढाइमा निकै अब्बल ती भाइ अमेरिका गए भन्ने हल्लासम्म सुनेको हो। आज फेरि अर्का भाइ उस्तै प्रश्न लिएर उपस्थित छन्। प्रश्न कलेजो छेड्ने तिखो छ। उनको प्रश्न छ, ‘मसँग विश्वविद्यालयका दुइटा डिग्री छन् तर म अमेरिकाको सपना देखेर बसेको छु। के तपाईंहरूसँग मलाई नेपालमै रोक्ने उपाय छ ? आज ती उपायहरूका बारेमा थोरै चर्चा गर्न पाए हुन्थ्यो !’
हामीलाई पहिल्यै थोरै अनुमान भने थियो, अभियानको क्रममा केही पेचिला प्रश्नहरू उठ्ने छन्। कम्तीमा १५ वर्षअघि नै नेपाली युवालाई नेपालमै रोक्ने उपाय खोज्न सुरु गरेको भए आज हामी पुरानै अवस्थामा हुन्थ्यौं र ? र आज फेरि रमेश केसीहरूले उही प्रश्न गर्नुपर्थ्यो र ? नि:सन्देह पर्दैनथ्यो।
अनि हामीले के गरेछौं त बितेका पन्ध्र वर्षमा ? र बारम्बार यस्ता प्रश्न किन उठिरहन्छन्! आज गम्भीर समीक्षा गर्नुपर्ने भएको छ। रमेश केसीहरू त प्रतिनिधि पात्र मात्र हुन्, जसले आफ्नो पुस्ताको पीडा सुनाइरहन्छन्। यस पीडाले वर्षौंसम्म लाखौं युवालाई थिचिरहेको छ, पिल्साइरहेको छ।
गत जेठ ११ गतेबाट नेपाली कांग्रेसका हामी केही साथीहरूले पार्टी सुधारका निम्ति राष्ट्रव्यापी रुपान्तरण अभियान प्रारम्भ गर्यौं। सुरुमा पार्टीका केही साथीहरूले खिल्ली उडाए र केहीले सक्नुहुन्छ र ? भन्ने प्रश्न उठाए भने केहीले शुभकामना दिए। केहीले साथ र सहयोग गरे। प्रश्न र उपहासलाई चुनौती र प्राप्त शुभकामनालाई हौसलाको रूपमा लिई निर्धारित कार्यक्रमहरूमा केन्द्रित भयौं।
अभियानका घोषित कार्यक्रमहरूलाई समयभित्रै सम्पन्न गर्नु हाम्रा लागि जीवनकै कठिन परीक्षा थियो र पार्टीका साथीहरूमाझ हाम्रो आफ्नै परीक्षण पनि। हामीले ठूलो राजनीतिक भेलमा होमिने अठोट गरेका थियौं र होमियौं पनि। यो कार्य कांग्रेसको परम्परा विपरीत थियो।
हामीले २०६२/६३ को ऐतिहासिक जनआन्दोलन सम्झियौं। त्यतिबेला राजसंस्थाको भविष्यका बारेमा प्रश्न उठाउनुलाई कांग्रेसभित्र आपत्तिजनक मानिन्थ्यो। आन्दोलनको अग्रपंक्तिमा उभिएर प्रश्न पनि उठायौं, मानसिक तथा शारीरिक यातना खेप्यौं, जसको घाउ–खत अझै शरीरभरि छ साथै राजद्रोहको मुद्दा समेत झेल्यौं। मूलतः राजा स्वयंका कारण र आन्दोलनको प्रचण्ड दबाबको फलस्वरूप राजसंस्था रहेन।
यसको पहिलो हकदार त्यतिखेरको नयाँ पुस्ता हो। निसंकोच भन्नुपर्दा त्यतिबेलाको आन्दोलनकारी नयाँ पुस्ताले साँच्चै ठूलो जोखिम उठाएको थियो। अहिले हेर्दा मुलुकको राजनीतिमा त्यस पुस्तालाई अपवाद बाहेक निर्ममतापूर्वक किनारा लगाइएको छ। कतिपय युवाहरूको जीवन बर्बाद समेत भएको छ। हरेक राजनीतिक दलभित्र यो पीडा छ।
अहिले राजनीतिक प्रसंग फरक छ, कांग्रेस पार्टी रुपान्तरणको सन्दर्भ छ। यसैका लागि अभियानको आवश्यकता महसुस गरेर राष्ट्रव्यापी अन्तरक्रिया जारी छ। अहिले हामी पार्टीका साथीहरूलाई मन खोलेर पार्टीको वर्तमान अवस्थाको चित्रण गर्न आग्रह गरिरहेका छौं। पार्टीका साथीहरू दिल खोलेर बोल्दैछन्, परम्परागत बारबन्देज टुट्दैछन्।
यही क्रममा हामी दलको राजनीतिक किनारालाई छिचोल्दै मझधारमा पुगेका छौं। राजनीतिक उखुमले हपहपी भएका हामी यतिबेला बसन्तको सिरसिरे हावा खाइसकेर राजनीतिक वर्षामा नुहाइरहेका छौं। यो वर्षा पार्टीको नवजीवनका लागि बरदान हुनसक्छ भन्ने हाम्रो बुझाइ छ।
रुपान्तरणमा उठेका प्रतिनिधि प्रश्न
आन्तरिक एकता
आफ्नो सामाजिक, आर्थिक र राजनीतिक परिवेश र अवस्थालाई दृष्टिगत गरेर तदनुरूपको नीति र कार्यक्रम तर्जुमा गर्नु कुनै पनि संस्था, समाज र देशका लागि उपयुक्त हुन्छ। राजनीतिक दलका हकमा समेत यही नीति श्रेयस्कर हुन्छ। बृहत्तर अर्थमा यसका लागि अग्रणी व्यक्तिहरूका बीच बलियो एकताको आवश्यकता पर्छ। यो कुरा दलविशेषको हकमा समेत लागू हुन्छ।
यतिबेला कांग्रेसमाथि चौतर्फी आक्रमण छ। प्रतिद्वन्द्वीहरू मात्र होइन, प्रजातन्त्र विरोधीहरूको खुलेआम चुनौती छ। प्रजातन्त्र मासेर आफ्नो सत्ता स्वार्थ पूरा गर्ने र देशलाई अँध्यारो सुरुङमा जाक्ने निन्दनीय प्रयत्नहरू जारी छन्। जनताको सुखसँग यो तत्वलाई कुनै मतलब छैन। रुपान्तरण अभियानमा साथीहरूले उठाएको मूल चिन्ता यही हो।
कांग्रेसका शीर्ष तहका सबै नेताबीच पार्टी र देश चलाउने विषयमा मतैक्यता होस् भन्ने प्रबल चाहना देखिन्छ। यसका लागि पार्टीको मूल नेतृत्वले अग्रसरता लिनुपर्छ भन्ने आग्रह पनि छ। दलको मूल नेताले अन्य नेतासँग वादविवादमा उत्रन शोभा दिंदैन। पार्टीभित्रका सबै नेता र समूहलाई साथै लिएर हिंड्न सक्नु तथा आलोचनालाई सुझाव सम्झनु नेतृत्वको परिपक्वता, सक्षमता र सफलता दुवै हो।
अहिले नेपाली समाज तनावग्रस्त र अशान्त छ। यसका अनगिन्ती कारण छन्। मुख्य कारण कुशासन हो। नेतृत्वले समयमै सुझबुझ नदेखाउने हो भने देशले नयाँ राजनीतिक दुर्घटना बेहोर्नुपर्ने हुन सक्छ। देशको राष्ट्रिय अस्मिता समेत खतरामा पर्न सक्छ।
यी सबै संकटबाट देशलाई जोगाएर अघि बढ्ने तागत अझैसम्म कांग्रेससँग मात्र छ। तर यसको प्रमुख शर्त कांग्रेसको आन्तरिक एकता र कुशल व्यवस्थापन हो। गृह कलहमा रमाएर यी ऐतिहासिक दायित्व पूरा गर्न सकिंदैन।
अभिभावकीय भूमिका
कांग्रेस लोकतन्त्रको पाठशाला अर्थात् गुरुकुल हो। यो दलबाट अरु दलले धेरै राम्रा नराम्रा कुरा सिकेका छन् र राम्रो भूमिकाको अपेक्षा पनि गर्छन्। पछिल्लो समयमा आएर यसले आफ्नो व्यक्तित्व, पहिचान र छविलाई जोगाउन सकेको देखिंदैन। यसको ऐतिहासिक प्रतिष्ठा दिनानुदिन क्षयग्रस्त र ह्रासोन्मुख छ। जनताको भरोसा र विश्वसनीयता टुटिरहेको छ। देशमा राजनीतिक संकट उत्पन्न हुँदा होस् या अन्य सामाजिक, आर्थिक विषयमा, कांग्रेसप्रति नेपाली जनताको ठूलो भरोसा थियो। विगतको त्यस्तो विश्वासपूर्ण आस्थालाई जोगाएर थप भरोसा जित्नुपर्ने वर्तमानको दायित्व निर्वाहमा पार्टी कहाँ चुक्यो भन्ने विषय रुपान्तरणका सहभागी साथीहरूले एक–एक गरी बताए।
हनुमानले आफ्नो शक्ति थाहा नपाए झैं कांग्रेसले आफूलाई चिन्नै सकेन। खासगरी कांग्रेसले आफूलाई एउटा दह्रो पार्टी मात्र होइन, प्रजातान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने सबै नेपालीको दर्विलो साझा धरोहरको रूपमा आफूलाई उभ्याउन सक्नुपर्थ्यो। कांग्रेस राजनीतिको प्रमुख प्राथमिकता सत्ता वा सरकार हुँदै होइन। बीपीले भन्नुभएको छ– ‘प्रजातन्त्रको जग बलियो भयो र विधिको शासन चल्यो भने सरकार जसले चलाए पनि हुन्छ, कांग्रेस नै बसिरहनुपर्दैन। कांग्रेस प्रजातन्त्रको संरक्षक र मुलुकको अभिभावक भएर बस्दा फरक पर्दैन।’ आज फेरि त्यो समय आएको छ।
अभियानका क्रममा यो विषय राम्रोसँग उठेको छ। कोसँग मिलेर कति सिट लिने होइन कि सम्पूर्ण मुलुकका प्रजातान्त्रिक शक्तिलाई एकताबद्ध गरी समाजको कुशल व्यवस्थापन कांग्रेसको दायित्व हो। पार्टीका सदस्यहरूको चाहना नेपालका सम्पूर्ण लोकतन्त्रवादीहरूको छाता कांग्रेस बनोस् भन्ने छ र आम नेपालीको छहारी। यस भूमिकामा कांग्रेस खरो र सही सावित हुन सक्नुपर्छ।
विधिको पालना
विधिपूर्वक सञ्चालन गरिने हो प्रजातान्त्रिक शासन प्रणाली। प्रजातन्त्रलाई व्यावहारिक अभ्यासले सिद्ध गर्ने हो। र यसको सिद्धान्त हेर्दा निकै सहज तर प्रयोगबाट प्रमाणित गर्न निकै कठिन शासन प्रणाली हो। यसलाई भट्याएर मात्र पुग्दैन, संविधान, कानुन र पार्टी विधानको निष्ठापूर्वक अभ्यास गर्नुपर्छ।
भद्रतापूर्वक विमति राख्ने, जनतासँग शालीन र विनम्र व्यवहार गर्ने, निर्धारित प्रक्रियाहरूको अनुसरण गरी कार्यसम्पादन गर्ने, पूर्णरूपमा अनुशासित रही उत्तरदायी र जवाफदेही भएर जिम्मेवारी पूरा गर्ने, कडा आर्थिक अनुशासनमा रहने र साधारण जीवनशैली अपनाउने जस्ता कार्य प्रजातन्त्रका आधारभूत शर्त हुन्। यसको परिपालना निकै गाह्रो छ। प्रजातन्त्रवादी भइटोपलेर मात्र पुग्दैन।
रुपान्तरण अभियानमा साथीहरूले पार्टी विधानको पालना नभएकोमा तीव्र आक्रोश प्रकट गर्दै आन्तरिक जीवन अस्तव्यस्त भएकोमा नेतृत्वसँग गम्भीर आपत्ति व्यक्त गरे। पार्टीका अङ्गहरू गतिहीन, भ्रातृ संगठन लथालिङ्ग, नेतृत्व पंक्ति सुस्त र समग्र पार्टी जीवन विशृङ्खलित भएकोमा चिन्ता व्यक्त गरे। पार्टीसामु परम्परागत र नयाँ गरी आधा दर्जन चुनौती रहेको औंल्याउँदै तत्काल गृहकार्य नथाल्ने हो भने कांग्रेसलाई जनताले छाडिदिने चेतावनी समेत दिए।
एक प्रकारले पार्टीको वर्तमान कार्यशैलीमा पूर्णतया गैरकांग्रेस चरित्र हावी भएको र यसले पार्टीलाई रसातलमा पुर्याउने चिन्ता व्यक्त गरे। संसदमा सबैभन्दा ठूलो पार्टी भए पनि देशभरि कतै पनि कांग्रेसको सकारात्मक चर्चा नसुनिनु साँच्चै दुःखद रहेको र सरकारमा गएका मन्त्रीहरूलाई पार्टीले कुनै कार्ययोजना नदिएको, मन्त्रीको कार्यशैली शास्त्रीय रहेको साथीहरूको गुनासो छ।
पार्टीसामु धेरै चुनौती रहेको बेला ‘मिसन’ बनाएर काम नगर्ने र घरभित्र दन्तबझान गरेर बस्ने हो भने आउने निर्वाचन सामना गर्न नसकिने निष्कर्ष समेत सुनाए। साथीहरूका सुझाव वस्तुनिष्ठ हुन् र आफ्नो पार्टीप्रतिको अगाध प्रेमले ओतप्रोत छन्। यी सल्लाहलाई कसैले पनि बेवास्ता गर्नुहुँदैन।
नेतृत्वको आलोचना
अभियानका कार्यक्रमहरूमा नेतृत्वको राम्ररी आलोचना भयो तर यो निकै स्वस्थ थियो। भाषाको स्तर सम्मानित र निकै परिष्कृत बरु व्यङ्ग्यात्मक थियो। कतिपय ठाउँमा त अभियानकर्ता हामीलाई नै मुख्य नेता ठानेर आलोचना भयो। यो हामी मार्फत केन्द्रीय नेतृत्वसम्म आफ्नो सुझाव पुगोस् भनेर पनि हो। सबभन्दा ठूलो आपत्ति त चुनावी गठबन्धनका प्रति थियो, जसका कारण कांग्रेसले मौलिकता गुमाएको मात्र होइन, जनविश्वास खस्किएको र आफू हिंड्ने मूल बाटो बिराएर सत्ताका निम्ति भौंतारिएको समेत टिप्पणी भयो।
यसैगरी संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको दुरूपयोग गरिएकाले कांग्रेसको मत घटेको हो भन्ने ठहर समेत साथीहरूले गरे। तर यी सबै कुरामा पार्टीप्रतिको गहिरो माया छचल्किन्थ्यो। हामीले खोजेको पनि यस्तै थियो। पार्टीका साथीहरूको भोगाइ र सत्यानुभूति जस्ताको तस्तै आओस् भन्ने चाहना पनि थियो।
आलोचना पार्टी सभापति शेरबहादुर देउवाको मात्र भएन, थोरबहुत प्रतिस्पर्धी नेता शेखर कोइरालाको पनि भयो र पदाधिकारीहरूको पनि। सबै आलोचना स्वस्थ थिए। हामीलाई लाग्छ, प्रजातन्त्रमा यसो गर्न पाइन्छ। प्रजातान्त्रिक दलका सदस्यहरूले बेलाबेलामा सत्य औंल्याउन पछि पर्नुहुँदैन।
सबैभन्दा स्पष्ट कुरा यदि पार्टीले आफूलाई अविलम्ब रुपान्तरणको प्रक्रियामा सामेल गर्दैन भने नेतृत्व परिवर्तन गर्न पन्ध्रौं महाधिवेशन किन पर्खने ? भन्ने गम्भीर तर्क पनि आयो। पार्टी विधानको विद्यमान व्यवस्थालाई उपयोग गरी अविश्वासको प्रस्ताव ल्याउनुपर्छ भन्ने विचार पनि आयो।
रुपान्तरण अभियानमा देशको सबै क्षेत्रका जल्दाबल्दा समस्याको चर्चा भयो। हाम्रा किसान दाजुभाइले भोगेका समस्या, मजदुर र साना उद्यमीका दुःख, महिला र युवाका समस्या, मधेशी, दलित र आदिवासी जनजातिका समस्या, विभेदकारी शिक्षा र स्वास्थ्य उपचारका पीडा, सुकुम्बासी समस्या लगायत विषयमा पार्टी प्रभावकारी हुन नसकेको यथार्थ चित्रण भयो।
सबैभन्दा ठूलो कुरा त गरिबीको दुष्चक्र र चरम भ्रष्टाचारका कारण नेपाल र नेपाली अन्तर्राष्ट्रिय छवि धुमिल भएकोमा ठूलो चिन्ता प्रकट भयो। नक्कली भुटानी शरणार्थी प्रकरणबाट नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा कहाँ पुग्यो भन्दै साथीहरू चिन्तित देखिनुभयो।
रुपान्तरण के-केमा?
सामान्यतया रुपान्तरण भन्नाले यथास्थितिबाट मुक्ति भन्ने बुझिन्छ। यो वस्तुको रूप र गुणमा परिवर्तन हो। समाज विज्ञान,जीव विज्ञान र राजनीतिक विज्ञानले फरक फरक अर्थ बोकेको हुन्छ। यसको दायरा निकै फराकिलो छ। तर अहिलेको सम्बन्ध र प्रसंग राजनीतिक दल कांग्रेस रुपान्तरणसँग छ। अब प्रश्न उठ्छ, दलमा कसरी रुपान्तरण गर्ने ?
नाम, सिद्धान्त, चरित्र, कार्यक्रम, नीति या के केमा ? पूर्वी यूरोपमा कम्युनिस्ट शासन ढलेसँगै पुराना कम्युनिस्ट पार्टीहरूले आफूलाई रुपान्तरण गरे।
उनीहरुले नाम, सिद्धान्त र कार्यशैली सबै बदले। तर हामीले नाम र सिद्धान्तमा रुपान्तरण खोजेका छैनौं। वीपीले प्रतिपादन गर्नुभएको विचार र सिद्धान्त कालजयी छ र नाम सर्वप्रिय छँदैछ। यसको पुनर्व्याख्या भने आवश्यक छ। र, समग्र संगठनको पुनर्निर्माण आवश्यक छ।
साथै यसको मौलिक चरित्र स्खलित भएको छ, पहिचान हराउन लागेको छ। प्रभावकारी कार्यक्रम छैन र १४औं महाधिवेशनयता नीतिविहीनता छ। संगठन चुस्त र नेतृत्व गतिशील छैन।संरचना भद्दा छन्, समितिहरू कामकाजी छैनन्। सदस्यता प्रणाली परम्परागत छ र विल्कुल पार्टीको अधिवेशनमुखी छ। मूल्याङ्कन पद्धति नेताप्रधान र मनोगत छ। न्याय हराएको छ। काम, मेहनत र क्षमताको कुनै कदर छैन। एक प्रकारले साधुलाई शूली र चोरलाई चौतारो छ। कार्यशैली पुरानो र कार्यसम्पादन गतिलो छैन। नयाँ पुस्ताका निम्ति कुनै आकर्षण छैन।
सुन्दा तितो लाग्छ। तर अवस्था यही हो । यस्तो चालाले कहाँ पुगिन्छ ? अभियानमा सरिक भएका साथीहरूको भनाई हो यो। हामी अभियानकर्ता मार्फत् नेतृत्वलाई सुझाव हो। सुझावहरू अत्यन्त जायज र मननीय छन्।
अन्त्यमा
रुपान्तरण अभियानका दौरान पार्टीका साथीहरूको सक्रिय सहभागिताले के प्रमाणित गर्यो भने कांग्रेसभित्र अझै पनि त्यस्तो जीवनदायिनी शक्ति छ, जसले कांग्रेस पार्टीलाई जुरुक्क उचालेर प्रतिद्वन्द्वीहरूले आँक्नै नसक्ने उचाइमा पुर्याउन सक्छ। रुपान्तरण अभियानको समग्र विवेचना समयक्रममा हुँदै जानेछ।
यसपटक कांग्रेसभित्र निकास नपाएर गुम्सिएको पीडालाई अभियानको प्रथम चरणमा थोरै मात्र भए पनि छाम्ने प्रयत्न गरिएको छ। दोस्रो चरणको जिल्लास्तरीय कार्यक्रममा खोतलखातल पारिनेछ।
(कांग्रेसका युवा नेता घिमिरे कांग्रेस रुपान्तरण अभियानमा सक्रिय छन् ।)
प्रतिक्रिया 4