
७ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एक सहसचिवलाई भर्ना गर्न चक्रवर्ती हवी एजुकेसन एकेडेमी, बिजुलीबजारले एक छात्रालाई निस्कासित गरेको विवाद न्यायपरिषदसम्म पुगेको छ ।
कलेजले कानूनको स्नातकोत्तर एलएलएममा अध्ययनरत सुष्मा पण्डितलाई कलेजबाट निस्कासित गरी उनको ठाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव शेरजंग कार्कीलाई भर्ना गरेको हो ।
पण्डितले १५ मंसिर २०७७ मा कानूनको स्नातकोत्तर(एलएलएम)का लागि प्रवेश परीक्षा दिएर उत्तीर्ण भएकी थिइन् । त्यसपछि उनले ९५ हजार रुपैयाँ बुझाएर कलेजमा भर्ना भइन् । उनको नाममा जारी विद्यार्थी परिचयपत्र ३० माघ २०७९ सम्म कायम थियो ।
कलेजले विद्यार्थीहरुलाई विश्वविद्यालयमा नाम दर्ताका लागि फारम बुझाउन र शुल्क तिर्न आग्रह ग¥यो । सबै कागजात बुझाएपछि समेत स्थानान्तरण(माइग्रेसन) सर्टिफिकेट नबुझाएको आरोपमा कलेजबाट आफूलाई निस्कासित गरेको पण्डितको दावी छ ।
कलेजले पूर्वाञ्चल विश्वविद्यालयलाई पठाएको पत्रमा उनले माइग्रेसन सर्टिफिकेट पेश नगरेकाले उनको ठाउँमा प्रतिक्षासूचीमा रहेको व्यक्ति भन्दै अख्तियारका सहसचिव समेत रहेका कार्कीको भर्ना गरेको हो । त्यो ब्याचको प्रवेश परीक्षामा कार्की सहभागी थिएनन् ।
परीक्षाको मिति नजिकिँदै गर्दा कलेजले अर्को विद्यार्थी भर्ना गरेर आफूलाई परीक्षाबाट बञ्चित गरेको उनको भनाइ छ । एक वर्ष पढेर अध्ययन टुट्ने भएपछि उनले फागुन २०७८ मा उच्च अदालत पाटनमा कलेज र विश्वविद्यालय विरुद्ध मुद्दा हालिन् ।
उच्च अदालत पाटनले १८ फागुन, २०७८ मा उनलाई परीक्षामा सामेल हुन रोक नलगाउनु भनी आदेश दियो । अन्तरिम आदेशका कारण उनी परीक्षामा सामेल त भइन् तर नतिजा आएपछि मार्कसिट पाइनन् ।
विश्वविद्यालय र कलेजका कर्मचारीहरुले ‘अदालतले तिमीलाई परीक्षा दिलाउनू भनेको थियो, रिजल्ट होइन’ भनी जवाफ दिएको पण्डित बताउँछिन् । उनीहरुले मार्कसिटका लागि अर्को आदेश चाहिन्छ भनेपछि उच्च अदालतको पत्रको आधारमा उत्तरपुस्तिका थाहा पाइन् । अदालतको अन्तरिम आदेशका आधारमा उनको अध्ययन चलिरहेको थियो ।
फेरि अन्याय…
३ जेठ, २०८० मा त्यही मुद्दाको अन्तिम सुनुवाइ थियो । उच्च अदालत पाटनमा सुनुवाइ सकिएपछि न्यायाधीश विमल सुवेदीले पीडित विद्यार्थीलाई बोलाएर प्रलोभन देखाएको उनले न्यायपरिषदमा पेश गरेको उजुरीमा उल्लेख छ ।
‘तपाईंको उमेर छ, अहिलेले आफ्नो दाबी छोडिदिनुहोस् । अर्को वर्ष भर्ना हुनुहोस्,’ न्यायाधीश सुवेदीले भने, ‘त्यसको लाग्ने सम्पूर्ण खर्च कलेजबाट दिलाइदिन्छु भने । रिट निवेदन खारेज भयो ।’
उनको ठाउँमा त्यो वर्ष प्रवेश परीक्षा नै नदिएका अख्तियारका सहसचिव शेरजंग कार्कीलाई अवसर दिए पनि प्रवेश परीक्षा नदिएको र अरु प्रक्रिया मिचेको व्यक्तिको बारेमा इजलासले अध्ययन नगरेको उनले बताइन् । कार्की विरुद्ध समेत मुद्दा परेपनि उच्च अदालतले प्रवेश परीक्षा नदिएका उनलाई अध्ययनमा रोक लगाएन ।
अदालतले पूर्णपाठ नदिएकाले के आधारमा फैसला भयो भन्ने खुलेको छैन । तर पीडित सुष्मा पण्डितले उच्च अदालतका न्यायाधीशद्वय विमल सुवेदी र धिरबहादुर चन्दले न्यायको मूल्यमान्यता विपरीत मुद्दाको फैसला गरेको आरोपमा न्यायपरिषदमा उजुरी दिएकी छन् ।
न्यायाधीश सुवेदीले आचरण विपरीत इजलासमा नै मुद्दाको पक्षलाई प्रभावित पार्न खोजेको र त्यस अनुसार फैसला गरेको उनको आरोप छ । ‘अदालतको न्यायाधीशले बेन्चमा नै बोलाएर पक्षलाई यसरी प्रभावित गरेर फैसला गर्न मिल्छ ?’ उनले उजुरीमा भनेकी छन्, ‘न्यायाधीशले आचारसंहिता, संविधान र कानूनको कुनै जानकारी वा हेक्का राख्दैन भने ऊ कसरी न्यायाधीश हुन्छ ?’
प्रवेश परीक्षा नै नदिएका अख्तियारका सहसचिव शेरजंग कार्कीलाई आफ्नो ठाउँमा भर्ना गरिएको भन्दै सुष्माले उजुरीमा कार्की विरुद्धको म्याद तामेल गर्न समेत झण्झट र असहयोग भएको गुनासो गरेकी छन् ।
अख्तियारको प्रभावमा ४ महिनासम्म म्याद तामेल हुन नसकेको भन्दै उजुरीमा उनले भनेकी छन्, ‘आफैं अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर गैह्रकानूनी तरिकाले पूर्वाञ्चल विश्वविद्यालयको दर्ता नम्बर लिएको घटनामा अनुसन्धान गरी कारवाही सिफारिस होस् ।’
प्रतिक्रिया 4