
२०७४ सालदेखि म नागरिकता नपाएर छटपटाएको छु । मेरो घर बारा जिल्लाको बारागढी गाउँपालिका–१ हो ।
नागरिक बा–आमाको अनागरिक सन्तान भएको छु । अहिले २२ वर्ष पुगें । १६ वर्षमा पाउनुपर्ने नागरिकता अझै पाएको छैन । २०७३ सालमा एसएलसी पास गरेपछि नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय, बारामा गएको थिएँ तर, मेरो बुबाको जन्मसिद्ध नागरिकता भएको कारण देखाउँदै मलाई नागरिकता दिइएन ।
मेरो हजुरबुबाको नाममा लालपुर्जा छ । मेरो बुबा बाहेक मेरी आमा, मेरा दुई दाइ र भाउजुसँग वंशजको नागरिकता छ । बुबाले २०६३ सालमा नागरिकता पाउनुभएपछि मेरो ठूलो दाइले २०६५ साल र माइलो दाइले २०६८ सालमा वंशजको आधारमा नागरिकता पाउनुभयो । २०७३ साल नागरिकता बनाउन जाँदा मैले भने पाइनँ ।
२०७३ मा एसएलसी परीक्षा दिएपछि मैले हेल्थ असिस्टेन्स (एचए) पढ्न खोजें । सरकारी छात्रवृत्तिका लागि नागरिकता चाहिनेभयो । २०७५ मा मैले स्थानीय तह र सबैतिरबाट सिफारिस लिएर जन्मदर्ताका आधारमा एचए पढ्न पाएँ । नागरिकता नभएकै कारण मैले एक वर्ष पढ्न पाइनँ ।
स्थानीय तहको सिफारिसपछि बल्ल सीसीईभीटीबाट छात्रवृत्तिमा एचए पढ्न पाएँ । बीपी कोइराला हेल्थ इन्ष्टिच्युट एण्ड रिसर्च सेन्टरबाट एचए पास गरें । मैले मेरो कलेजमै द्वितीय स्थान हासिल गरें ।
एचएको पढाइ पूरा गरेपछि नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट एचएको प्रमाणपत्र (अनुमतिपत्र) लिनुपर्ने भयो । मैले छात्रवृत्तिमा पढेको हुँदा कलेजले मलाई प्रमाणपत्र दिनु अगाडि मेरो नागरिकता माग्यो । मैले हारगुहार गरेपछि मात्र कलेजले मलाई प्रमाणपत्र दियो ।
तर, स्वास्थ्य व्यवसायी परिषदको परीक्षामा भने सहभागी हुन पाइनँ किनकि नागरिकता अनिवार्य भयो । मैले कलेज र सीसीईभीटीलाई आग्रह गरेर स्वास्थ्य व्यवसायी परिषदले लिने एचएको परीक्षामा सहभागी गराइदिन अनुरोध गरें । सीसीईभीटी र कलेजले आग्रह गरेपछि परिषद्ले मलाई परीक्षामा सहभागी गरायो ।
परीक्षामा पास भए पनि मैले अहिलेसम्म प्रमाणपत्र पाएको छैन । प्रमाणपत्रका लागि मैले बुबा, आमा र दाइको नागरिकता र फोटोसहितको नाता प्रमाणित गरेको कागज पनि लगेर बुझाइसकेको छु ।
प्रमाणपत्र नपाएकै कारण मैले अहिलेसम्म एचएको काम पनि गर्न पाएको छैन । एउटा कम्पनीमा रोजगारीको अवसर मिलेको थियो । कम्पनीले नागरिकता वा चालक अनुमतिपत्र माग्छ, म के दिऊँ ?
नागरिकता अभावमा सबैतिर समस्या भोगेपछि २०७८ मंसिरमा सर्वोच्च अदालतमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर रिट हालेको छु । कारण देखाउ आदेश बाहेक उक्त रिटको सुनुवाइ नै भएको छैन । त्यसपछि उक्त मुद्दा सरेको सर्यै छ ।
नागरिकताकै लागि म वडा कार्यालय, गाउँपालिका, प्रशासन कार्यालय र गृह मन्त्रालयसम्म पुगेको छु । तर, हाम्रो समस्या कतैबाट समाधान हुँदैन ।
नागरिकता नहुँदा मैले केही पनि काम गर्न पाएको छैन । मैले अहिले बुबाको नामको सिमकार्ड र बैंक खाता चलाइरहेको छु । सवारी चालक अनुमतिपत्र बनाउन सकेको छैन । लोकसेवाको परीक्षा दिन सकेको छैन ।
मसँगै पढेका कतिपय साथीभाइले जागिर गर्न सुरु गरिसके । कतिले त लोकसेवा नै पास गरिसके भने कोही विदेश उडिसके । म भने नागरिकता नहुँदा अलपत्र जस्तै भएको छु । भविष्य बनाउने उमेरमा नागरिकताका लागि लड्नुपर्दा हाम्रो समय बर्बाद भएको छ । हाम्रो भविष्य अन्योल भएको छ ।
गाउँघर, छरछिमेकले पनि केही गर्न नसक्ने भनेर हेप्छन् । म सक्षम छु, जागिर खान सक्छु तर, नागरिकता नभएकोले मैले क्षमता देखाउन पाउँदिनँ । मैले प्रतिस्पर्धा गर्ने अवसर नै गुमाएको छु ।
सरकारले १७ जेठमा नागरिकता कानुन पास गरेपछि नागरिकता पाइनेभयो भनेर हामी खुसी थियौं । तर, लगत्तै सर्वोच्चले रोक्यो । २४ जेठदेखि हामी माइतीघरमा नागरिकता कानुन रोक्न हुँदैन भनेर धर्ना बसिरहेका छौं ।
मेरो परिवारका सबैले नागरिकता पाउँदा मैले मात्र किन नपाउने ? मेरो बुबा, आमा नेपाली नागरिक हुने, तिनको सन्तान भने कसरी अनागरिक हुन्छ ? राज्यले यसरी विभेद गर्न पाउँदैन । यो विभेदले हामीलाई पीडा दिएको छ, घर न घाटको बनाएको छ ।
यो देशमा बाँच्नका लागि नागरिकता आवश्यक छ । सम्मानजनक जीवनयापनका लागि नागरिकता चाहिंदो रहेछ । नागरिकता नहुनेहरूका लागि यो देशमा हरेक ढोका बन्द छन् । नागरिकता हुनेले यसको महत्व बुझ्दैनन् ।
वर्षौंदेखि नागरिकताका लागि लडिरहेका हामीले नागरिकताको महत्व बुझेका छौं । नागरिकता नहुँदा हामीले अपमान र पीडा सहेका छौं । नागरिकता विनाको जीवन अर्थहीन हुन्छ भन्ने हामीले भोगिसकेका छौं । नरक भएको हाम्रो जीवन सहज हुन्छ भन्ने थाह पाएरै हामी नागरिकताका लागि धर्ना बसिरहेका छौं ।
हेर्नुहोस् भिडियो
प्रतिक्रिया 4