
८ असार, काठमाडौं। युक्रेनमाथि रुसी आक्रमण निरन्तर बढिरहँदा परमाणु युद्धको खतरा पनि बढिरहेको छ। यहीँबेला युक्रेन लगायतका मुलुकहरुले आफ्ना नागरिकलाई एउटा विशेष खालको चक्की औषधि बाँडिरहेका छन्। आखिर के हो त्यो चक्की र किन बाँडिएको छ त ?
वास्तवमा रुसी आणविक हतियारको पहिलो खेप बेलारुसमा पुगेको खबर सार्वजनिक भएसँगै आणविक युद्धको त्रास बढेको छ। यदि आणविक युद्ध भयो भने त्यो फाटफुट क्षतिमा मात्र सीमित हुनेछैन। यसले पूरै सहरहरु नै ध्वस्त पार्नेछ। दोश्रो विश्वयुद्धका बेला अमेरिकाले जापानको हिरोसिमा र नाकासाकीमा परमाणु बम खसाल्दा ती सहरहरु खरानी बन्नुका साथै लाखौँ मानिसको मृत्यु भएको थियो।
बमका कारण तत्कालै मृत्यु हुने मानिसमात्र होइन विकिरणको असरले गर्दा पछि पनि कैयन् मानिसहरु अपाङ्ग बने, क्यान्सरलगायतका घातक रोगका सिकार भए र धेरैको मृत्यु भयो।
आणविक हतियारबाट तत्काल हुने धनजनको क्षतिलाई रोक्न त नसकिएला तर भविष्यमा विकिरणका कारण हुने मानवीय क्षतिलाई चाहीँ कम गर्न सकिन्छ। यसका लागि प्रयासहरु पनि सुरु भएका छन्।
युक्रेनले आफ्नो मुलुकमा आणविक आश्रयस्थल अर्थात् न्युक्लियर सेल्टर बनाइरहेको छ ताकि विकिरणजन्य खतराको समयमा शरण लिन सकियोस्। यसका साथै युक्रेनले एन्टी रेडिएसन पिल्स पनि जम्मा गरिरहेको छ ।
एन्टी रेडियसन पिल्स पोटासियम आयोडाइड ट्याबलेट हो। विकिरणको सम्पर्कमा आउँदा यसले केही हदसम्म सुरक्षा प्रदान गर्दछ। यो औषधिमा नन रेडियोएक्टिभ आयोडिन हुन्छ जसले शरीरमा रेडियो एक्टिभ आयोडिनको अवशोषणलाई रोक्ने काम गर्दछ।
जब कुनै परमाणु बम विस्फोटन हुन्छ वा कुनै आणविक प्लान्टबाट विकिरणजन्य पदार्थ लिक हुन्छ तब तुरुन्तै रेडियोएक्टिभ आयोडिन यत्रतत्र हावामा फैलिन्छ। यसबाट हावा हुँदै पानी, जमिन र खाद्य पदार्थ समेत विषाक्त बन्दछ। जुन शरीरमा जानु निकै घातक हुन्छ।
यस्तो आन्तरिक एक्सपोजरलाई इररेडियसन भनिन्छ, जब विकिरणयुक्त आयोडिन शरीरमा छिरेर थाइराइड ग्रन्थीमा कब्जा गर्दछ । यसबाट थाइराइड कोशिका मर्न थाल्दछन् र मानिसमा थाइराइडको क्यान्सरको जोखिम बढ्दछ ।
आणविक आक्रमण वा दुर्घटनापछि तत्कालै पोटासियम आयोडाइडको चक्की खानाले थाइरोइड ग्रन्थीमा भरपूर आयोडिन हुन्छ । यस्तोमा रेडियोएक्टिभ आयोडिन शरीरभित्र छिर्न खोज्दा थाइरोइड ग्रन्थीले त्यसलाई अवशोषण गर्दैन र खतरा टर्दछ। यदि सही समयमा सेवन गर्न सकिएमा पोटासियम आयोडाइडको चक्कीले हावा, जमिन, पानी तथा खानामा घुलेको विकिरणलाई शरीर भित्र छिरेर हानी गर्नबाट रोक्दछ ।
यसअघि सन् १९८० को दशकमा सोभियत संघको चेर्नोबिल आणविक दुर्घटनाका क्रममा झण्डै ३ हजार मानिस थाइरोइड क्यान्सरको सिकार बनेका थिए।
एन्टी रेडिएसन पिल्स सेवन नगरेकाहरु नै थाइरोइड क्यान्सरको सिकार बनेका थिए भने समयमै यो चक्की खाएकाहरु त्यो रोगबाट बँचेका थिए । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4