+
+

फेवातालमा चिनियाँ ‘ड्रागन बोट रेस’को मजा (तस्वीरहरू)

विकास रोकामगर विकास रोकामगर
२०८० असार ८ गते २०:३२

८ असार, पोखरा । नेपाली र अंग्रजी नयाँ वर्षको अवसरमा पोखरा फेवातालमा बर्सेनि डुंगा दौड प्रतियोगिता भइरहन्छ । तालमा खियाइने परम्परागत डुंगामै ३ जना बसेर यसअघि प्रतियोगीहरु भाग लिन्थे ।

नेपाली डुंगा दौडमा दूरी लामो हुन्थ्यो, समय अनिश्चित । भाग लिएका प्रतियोगीमध्ये जो अगाडि पुग्थ्यो, उही विजेता बन्थ्यो । फेवाताल डुंगा व्यवसायी समूहका तर्फबाट ब्रजेश श्रेष्ठ पनि लामो समयदेखि फेवातालमा हुने डुंगा दौड प्रतियोगितामा लामो समयदेखि भाग लिँदै आएका छन् ।

तर, ब्रजेशले शुक्रबार भने शुक्रबार फेवातालमै भएको डुंगा दौड प्रतियोगितामा नयाँ अनुभव लिने मौका पाए । नेपाली परम्परागत काठले बनेको डुंगाभन्दा फरकमात्रै थिएन, एकैपटक १४ जना मिलेर खियाउने मिल्ने लामो आकारमो डुंगा । डुंगाको अगाडि ‘ड्रागन’को मुखाकृति ।

‘यहाँ हुने सबै प्रतियोगितामा भाग लिँदै आएका छु । सबैमा अहिलेसम्म जित्दै पनि आएको छु । तर, यसपटक विल्कुल नयाँ अनुभव पाइयो,’ फेवालेक ड्रागन बोट टिमबाट सहभागी भएका श्रेष्ठले अनुभव बाँडे, ‘हामीले चलाउने ३ जना हुन्थ्यो, यहाँ १४ जनामा त लय मिलाउनै गाह्रो !’

काठबाट बनेको नेपाली परम्परागत डुंगाभन्दा फरक फाइबरले बनेको ड्रागन मुखाकृतिको डुंगा केही दिनअघिमात्रै चीनबाट पोखरा आइपुगेको हो । चीनमा मनाइने ड्रागन बोट फेस्टिबल दक्षिण एसियामै पहिलो पटक नेपालमा मनाउन ८ वटा डुंगा (नौका) पोखरा फेवातालमा ल्याइएको हो । ती डुंगा महोत्सवपछि चीनले पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

चिनियाँहरुको महत्वपूर्ण चार पर्वमध्येको ड्रागन बोट महोत्सवमा यस वर्षदेखि नेपालमा पनि मनाउन सुरु गरिएको हो । ‘डान्बु जी’ भनेर पनि चिनिने ड्रागन बोट फेस्टिबल महत्वपूर्ण महोत्सवका रुपमा लिन्छन् । चाइनिज क्यालेन्डरअनुसार पाँचौं महिनामा यसलाई भव्य रुपमा मनाउँछन् ।

नेपालमा पहिलो पटक महोत्सव मनाउन चीनबाटै खेलाडीसहित विभिन्न प्रान्तका नगरप्रमुख, उपप्रमुख, कलाकार बुधबार चीनको छेन्दुबाट सिचुवान एअरलाइन्सको न्यारोबडी ए–३१९ जहाजबाट बुधबार बिहान पोखरा अवतरण गरेका थिए ।

चार्टड गरेर ल्याइएको उक्त विमान नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको पहिलो अन्तर्राष्ट्रिय विमान पनि हो । पहिलो पटक पोखरा अवतरण भएको पहिलो विमानबाट पहिलो पटक पोखरा आएर पहिलो पटक आयोजना गरिएको ड्रागन बोट रेस महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको एङ्कोजीले प्रतिक्रिया दिए ।

‘नेपालमा पहिलो पटक आएर पहिलो पटक ड्रागन बोट रेस फेस्टिबलमा भाग लिन पाउँदा साह्रै खुसी लाग्यो । पहिलो दिनको हाम्रो अनुभव एकदमै राम्रो भयो,’ सिचुवान ड्रागन बोट रेस टिमका टिम लिडरसमेत रहेका एङ्कोजीले खेलपछि प्रतिक्रिया दिए, ‘अब भोलि पनि झनै राम्रो गर्ने लक्ष्य छ ।’

शुक्रबारदेखि पोखरामा पहिलो पटक सुरु भएको २ दिने ड्रागन बोट रेसको उद्घाटन चिनियाँ राजदूत छन् सोङ र पर्यटनमन्त्री सुदन किरातीले संयुक्त रुपमा गरेका थिए । राजदूत छोङले नेपाल र चीनबीच धेरै सांस्कृतिक र प्राकृतिक समानता रहेको बताए ।

छोङले एक अर्काको पर्यटकीय प्रवद्र्धन गर्न पनि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘पोखराको पर्यटन प्रवद्र्धन गर्न, चाइना र नेपालबारे सचेतना जगाउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु,’ उनले भने ।

पर्यटनमन्त्री सुदन किरातीले चीनको एक नीति प्रतिआफूहरु प्रतिवद्ध रहेको बताए । चीनसँग सम्बन्ध जोड्ने थुपै्रै सुत्रहरु रहेको र त्यसमा पनि भृकुटी र अरनिकोको सम्बन्ध महत्वपूर्ण रहेको उनको भनाइ छ । ‘भृकुटी र अरनिकोलाई साक्षी राखेर आज पनि हामी चीनको एक नीतिप्रति दृढ छौं,’ उनले भने ।

पोखरामा पहिलो पटक आयोजना भएको २ दिने ड्रागन बोट रेस फेस्टिबल हेर्न हजारौंको उपस्थिति थियो । मध्यान्हको चर्को घामको पनि प्रवाह नगरी उनीहरुले करिब ४ घन्टासम्म महोत्सवको मजा लिए ।

नेपालका २ समूह दोस्रो चरणमा

दक्षिण एसियामै पहिलो पटक पोखरामा शुक्रबारदेखि सुरु भएको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सवमा नेपालका २ समूह दोस्रो चरणमा प्रवेश गरेका छन् । शुक्रबार भएको समूह चरणको खेलमा उत्कृष्टता हासिल गर्दै नेपालका नारा ड्रागन बोट टिम र एनआरसीए ड्रागन बोट टिम दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

पोखरा फेवातालमा भएको महोत्सवमा नेपाल र चीनका गरी ८ समूहले भाग लिएका थिए । पहिलो दिन २ सय मिटर र ५ सय मिटर गरी दुई इभेन्टमा स्पर्धा भएको थियो ।

जसमा २ सय मिटरअन्तर्गत चीनको सिचुवान ड्रागन बोट टिम निर्धारित दूरी १ मिनेट ४८ सेकेन्डमा पार गर्दै पहिलो भयो । नेपालको नारा ड्रागन बोट टिम निर्धारित दूरी १ मिनेट ५८ सेकेन्डमा पार गर्दै दोस्रो चरणका लागि स्थान पक्का गरे हो ।

त्यस्तै, चाइनाकै युनान बोट टिम निर्धारित दूरी १ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान बनायो भने नेपालकै एनआरसीय ड्रागन बोट टिम निर्धारित दूरीमा १ मिनेट ५६ सेकेन्डमा पार गरेर चौंथो हुँदै अन्तिम ४ मा प्रवेश गर्न सफल भएको छ ।

शुक्रबार नै भएको ५ सय मिटरको समूह चरण्को खेलमा पनि नेपालका एनआरसीय र नारा ड्रागन बोट टिम अन्तिम ४ मा प्रवेश गरेका छन् । ५ सय मिटर बोट रेसमा पनि निर्धारित दूरी ४ मिनेट ३८ सेकेन्डमा पार गर्दै पहिलो स्थान बनाएको छ ।

दोस्रो स्थान सुरक्षित गरेको नेपाली टोली नाराले निर्धारित दूरी ४ मिनेट ४७ सेकेन्डमा पार गरेको थियो । तेस्र्रो स्थान बनाएको युनान ड्रागन बोट टिमले ४ मिनेट ५३ सेकेन्ड र चौंथो भएको एनआरसीएले ५ मिनेट २ सेकन्डमा निर्धारित दूरी पार गरेका थिए ।

२ सय र ५ सय मिटरको ड्रागन बोट रेसअन्तर्गत अन्तिम ४ मा प्रवेश गरेका टोलीले उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पहिलो हुनेले ५ लाख ५० हजार, दोस्रो हुनेले ३ लाख ५० हजार र तेस्रो स्थान ल्याउनेले २ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगितामा नेपाली ४ र चीनका ४ गरी ८ टिम सहभागी थिए ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?