+
+

भारतसँग पराजित भएसँगै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असार ९ गते २१:४३

९ असार, बेंगुलुरु । भारतसँग पराजित भएपछि नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । भारतसँग हारको श्रृंखलाले लगातार चौथो खेलसम्म निरन्तरता पाउँदा नेपाल १४ औं संस्करणको साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको हो ।

भारतसँग २-० को नतिजामा पराजित भएपछि साविक उपविजेता नेपालले एक खेलअघि नै समूह चरणबाट बाहिरिएको हो । भारतको जितमा ६१ औं मिनेटमा सुनिल क्षेत्री र ७० औं मिनेटमा महेश सिंह नाओरेमले गोल गरे ।

६१ औं मिनेटमा साहल अब्दुल सामदको क्रसमा सुनिलले ट्याप इन गोल गरे । भारतका लागि उनको यो ९१औं अन्तर्राष्ट्रिय गोल हो भने जारी साफमा चौथो गोल हो ।

७० औं मिनेटमा सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरणकुमार लिम्बुले पूर्ण रुपमा बचाउन नसक्दा बारमा लागेर बाउन्स भएको थियो । त्यसैमा नेपाली डिफेण्डरले क्लियर गर्न नसकेको बलमा महेश सिंह नओरेमले हेडमार्फत गोल गर्दै भारतको अग्रता दोब्बर पारे ।

त्यसपछि नेपालले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन र पराजित भयो । साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतसँग अहिलेसम्म खेलेका ९ मध्ये ८ खेलमा पराजय ब्यहोरेको छ ।

सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा मात्र नेपालले भारतलाई हराएको थियो । त्यसयता भएका साफ च्याम्पियनसिप र अन्य प्रतियोगिता गरी कुल ११ खेलमा नेपाल भारतसँग जितविहीन छ ।

शनिबार बेंगलुरुस्थित श्री कान्तिरवा स्टेडियममा नेपालले कुवेतविरुद्ध खेलेको टिममा तीन परिवर्तन गर्दै विमल घर्ती मगर, आयुष घलान र देवेन्द्र तामाङलाई पहिलो रोजाईँमा खेलाउँदा पहिलो हाफमा सन्तोषजनक प्रदर्शन गरेको थियो, तर गोल भने गर्न सकेन ।

मिडफिल्डबाट केही बल निस्किएपनि नेपालको फिनसिङ चुस्त हुन सकेन । विमल र मनिषले गोल गर्ने अवसर गुमाउँदा एरिक विष्टको प्रहार भारतीय गोलकिपर गुरिप्रित सिंह सान्धुले बचाएका थिए । पहिलो खेलमा पाकिस्तान विरुद्ध ह्याट्रिक गरेका भारतीय कप्तान सुनिल क्षेत्रीलाई भने नेपाली डिफेण्डर खुलेर खेल्न दिएनन् ।

भारतले भने पाकिस्तानविरुद्ध खेलेको टिमबाट पहिलो रोजाईँमा ८ खेलाडी परिवर्तन गरेको थियो । पहिलो हाफमा सट अन टार्गेट राख्न नसकेको भारतले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै दुई गोल गर्‍यो ।

यस नतिजापछि लगातार दुई खेल जितेका भारत र कुवेत अन्तिम खेलअघि नै समूह ए बाट सेमिफाइनल प्रवेश गरेका छन् ।

नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ ले पराजित भएको थियो भने भारतले पाकिस्तानलाई ४-० ले पराजित गरेको थियो । भारत र कुवेत दुवैको समान ६ अंक छ ।

नेपाल र पाकिस्तान भने समूह चरणबाट बाहिरिएका छन् । अब नेपाल र पाकिस्तानबीच आउने मंगलबार हुने खेल औपचारिकता मात्र हुनेछ । नेपाल सन् २०१५ यता साफ च्याम्पियनसिपमा पहिलो पटक समूह चरणबाटै बाहिरिएको हो । २०१८ मा ढाकामा सेमिफाइनल पुगेको नेपालले २०२१ मा माल्दिभ्समा फाइनल खेलेको थियो ।

साफ च्याम्पियनसिपलाई थप प्रतिस्पर्धात्मक बनाउन पहिलो पटक लेबनान र कुवेतलाई आमन्त्रित टिमको रुपमा साफ खेल्न बोलाएको थियो । तर यसपटकको खेलतालिकामा नेपाल कठिन समूहमा परेको थियो ।

नेपालले अहिलेसम्म हराउन नसकेको कुवेत र दक्षिण एसियाको पावर हाउस भारत रहेको समूहमा परेपछि नै नेपालले यस पटक साफमा स्पष्ट लक्ष्य बनाउन सकेको थिएन भने समूह चरण पार गर्ने अपेक्षा पनि थोरैले मात्र राखेका थिए ।

खेलको १७ औं मिनेटमा नेपालले भारतीय पोष्टमा पहिलो आक्रमण गरेको थियो । लकेन लिम्बुको कर्नर भारतीय डिफेण्डरले हेडमार्फत क्लियर गरेपनि एरिक विष्टले प्रहार गरेको भलि भारतका गोलकिपर गुरप्रित सिह सान्धुले बचाए ।

२५ औं मिनेटमा डी बक्सभित्र मनिषले विमल घर्तीमगरले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिन सकेनन् । २९ औं मिनेटमा लकेन लिम्बुको लङ रेन्ज प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो ।

४० औं मिनेटमा मनिषको क्रसमा विमलले बक्सभित्रबाट वान टच फिनिस गर्न सकेनन् । शनिबारको खेलबाट नेपालका डिफेण्डर सीमान्त थापाले डेब्यु गरे । उनली ६८ औं मिनेटमा सनिस श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?