
१० असार, काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक तलब पाउने भएका छन् । त्यसका लागि ३० करोडको सोध भर्ना कोष खडा गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब भुक्तानी गर्न ३० करोडको सोध भर्ना कोष बनाइएको जानकारी दिइन् । हाल शिक्षकहरुले चौमासिक रुपमा तलब पाउँदै आएका छन् ।
काठमाडौं महानगरपालिकाले प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गर्ने घोषणा समेत गरेको छ । तर कति वृद्धि गर्ने भन्ने चाहिँ खुलेको छैन ।
काठमाडौं महानगरले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ ।
यस अन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ५० करोड रुपैयाँ खर्च गरिने छ ।
यसैगरी सामुदायिक विद्यालय परिसरको सरसफाइ र सौन्दर्यीकरण गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापन समेत गरिने छ ।
महानगरपालिकाले यो शैक्षिक सत्रदेखि कक्षा ९ का विद्यार्थीहरुको लागि ९० घन्टाको छोटो अवधिको सीपमूलक एग्रिकल्चर एन्ड अर्वान फार्मिङ, ब्युटिसियन एन्ड हेयर स्टाइल, कारपेन्ट्री एन्ड उड कार्भिङ लगायत १० वटा तालिम सञ्चालन गरिरहेको छ ।
चालु आर्थिक वर्षमा कक्षा ८ सम्म दिवा खाजाको लागि प्रतिविद्यार्थी २५ रुपैयाँ छुट्याएको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ ।
विद्यार्थीको दिवा खाजाको लागि छुट्याएको रकम पारदर्शी बनाउन विद्यार्थीको डिजिटल हाजिरी प्रमाणित अभिलेखका आधारमा खाजा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाले सामुदायिक विद्यालय परिसरभित्रको सौन्दर्यकरणको लागि ५ करोड बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया 4