
काठमाडौं । बलिउड फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ र यसको दोस्रो श्रृंखला ‘लगे रहो मुन्नाभाइ’ले हास्यव्यङ्ग्य ढंगमा प्रस्तुत गरेको सामाजिक विषयवस्तुले दर्शकलाई प्रभावित पारेको थियो । मुन्नाभाइको भूमिकामा देखिएका सञ्जय दत्त र सर्किटको रोलमा देखिएका अरशद वारसीको जोडीको केमेस्ट्रीलाई दर्शकले निकै रुचाए ।
उक्त फिल्मलाई बलिउडको सफल व्यावसायिक फिल्ममध्ये एक मानिन्छ । त्यसपछि तेस्रो श्रृंखला कहिले बन्छ भनेर दर्शकले लामो समयदेखि प्रश्न गर्दै आइरहेका छन् । केही समयअघि फिल्मको तेस्रो श्रृंखला निर्माण हुने चर्चा पनि थियो तर भारतीय सञ्चारमाध्यमले फिल्मको तेस्रो सिक्वेल तत्काल नबन्ने बताएका छन् ।
इण्डिया टुडेसँगको कुराकानीमा अरशदले ‘मुन्नाभाइ ३’ निर्माणको सम्भावनाबारे आफू पनि निश्चित नभएको बताए । ‘मुन्नाभाइ ३ नहुन सक्छ, यो अनौठो कुरा हो । हामीसँग यो बनाउन चाहने निर्देशक, निर्माण गर्न चाहने निर्माता, हेर्न चाहने दर्शक, अभिनय गर्न चाहने कलाकार छन्, तर पनि त्यो भइरहेको छैन,’ उनले भने ।
उनले प्रिय फ्रेन्चाइजको तेस्रो श्रृंखला बनाउन लामो समय लागिरहेको पनि बताए । उनले भने, ‘कुरा यो हो कि राजु हिरानी एकदमै पूर्णतावादी मान्छे हो । उहाँसँग तीनवटा स्क्रिप्ट छन् जुन शानदार छन् । तर त्यहाँ केही त्रुटिहरू छन् । त्यसैले जबसम्म उनी स्क्रिप्टको बारेमा १००–२०० प्रतिशत ढुक्क हुँदैनन्, तबसम्म उनले यसलाई सुरु गर्दैनन् ।’
मुन्नाभाइ सिरिजको सफलतापछि अरशदले हलचल, गोलमाल सिरिज, मैने प्यार क्युँ किया र जोली एलएलबीमा अभिनय गरे । ती सबै फिल्मले बक्स अफिसमा सफलता पाएका थिए ।
प्रतिक्रिया 4