१० असार, काठमाडौं । विजय लिम्बू र समीक्षा राईले छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको उपाधि जितेका छन् ।
फ्रिस्टायल बेस्ट रन स्पर्धाको पुरुषमा विजय तथा महिलामा समीक्षा पहिलो भएका हुन् ।
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा बसन्त राई दोश्रो तथा गजेन्द्र बर्देवा तेश्रो भए ।
महिलामा स्वाति श्रेष्ठ दोश्रो तथा अर्लिन लामा तेश्रो स्थानमा रहे । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए । रविभवनस्थित नाथम कलेजमा भएको प्रतियोगिताका विजेतालाई संघीय सांसद् शोभिता गौतम, आयोजक संघका अध्यक्ष अच्यूत खनाललगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताको पुरुषमा १ सय ५० तथा महिलामा ४० गरी १ सय ९० खेलाडी सहभागी थिए ।
शुक्रबार खेलाडीको छनोट प्रतियोगिता भने सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको थियो ।
त्यसबाट पुरुष/महिलामा समान १०–१० खेलाडी फाइनल चरणमा छनोट गरी शनिबार प्रतिस्पर्धा गराइएको थियो ।
प्रतिक्रिया 4