+

कञ्चनरुप राइनोज र बजाज खडक वारियर्स सप्तरी प्रिमियर लिगको फाइनलमा

२०८० असार  १० गते १८:०२ २०८० असार १० गते १८:०२
कञ्चनरुप राइनोज र बजाज खडक वारियर्स सप्तरी प्रिमियर लिगको फाइनलमा

१० असार, राजविराज । कञ्चनरुप राइनोज र बजाज खडक वरियर्स सप्तरी प्रिमियर लिगको फाइनल प्रवेश गरेका छन् ।

सप्तरीको राजविराजमा उपाधिका लागि यी दुई टोलीले सोमबार एक प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणको सम्पूर्ण खेलहरु समाप्त हुँदा बजाज खडक वारियर्स ५ खेलमा ४ जित पछि ८ अंक सहित शिर्ष स्थानमा रह्यो ।

कञ्चनरुप राइनोज, छिन्नमस्ता लायन्स र रुपनी राइडर्सको समान ६ अंक रहे पनि नेट रन रेटमा अघि रहँदै कञ्चनरुप फाइनल प्रवेश गरेको हो ।

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा आइतबार सम्पन्न जित्नै पर्ने खेलमा कञ्चनरुप राइनोजले शिर्षमा रहेको बजाज खडक वारियर्सलाई ३ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

लिगको अन्तिम खेलमा वारियर्सले दिएको ६३ रनको लक्ष्य राइनोजले ७ विकेट गुमाउदै १२.१ ओभरमा पूरा गर्‍यो । कञ्चनरुपको ब्याटिंगमा राशिद खानले सर्वाधिक ३२ रन योगदान दिए जुन क्रममा उनले २५ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

खराब सुरुवात गरेको राइनोजले २१ रन बनाउदा ६ विकेट गुमाएको थियो। उक्त अवस्थामा आठौँ नम्बरमा ब्याटिङ गर्दै राशिदले टिमलाई जितसम्म पुर्‍याए ।

वारियर्सका बलर दिनेश अधिकारीले ४ विकेट लिएता पनि जित्न पर्याप्त रहेन ।

यसअघि, टस हारेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले १४.३ ओभरमा ६२ रनमा सबै विकेट गुमायो ।

वारियर्सका लागि विशाल सुश्लिङले सर्वाधिक २४ रन बनाए ।

कञ्चनरुपको बलिंगमा प्लेयर अफ द म्याच घोषित राशिद खानले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १२ रन खर्चिए ।

पप्पु यादवले २ तथा चित्र बिस्ट, नारायण जोशी र सुमित श्रेष्ठले १/१ विकेट लिए ।

आइतबार सम्पन्न पहिलो खेलमा छिन्नमस्ता लायन्सले बलान बिहुल सुपर किंग्सलाई २६ रनले पराजित गरेको हो । १२५ रनको लक्ष्य पछ्याउने क्रममा बलान बिहुलले १६.४ ओभरमा ९८ रनमा सबै विकेट गुमाउँदै खेल गुमाएको हो ।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ, उपविजेताले एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगिताको प्लेयर अफ द सिरिजले २५ हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र बलरले १५ हजार रुपैयाँ तथा उदयमान खेलाडीले क्रिकेट किट प्राप्त गर्ने संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी गराए ।

राजविराज प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय