
१० असार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि झण्डै पौने ३ अर्व रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख जगेश्वरदेवी चौधरीले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५२९ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलता प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको उपप्रमुख चौधरीले बताइन् ।
बजेटमा चालु खर्चतर्फ १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात ३८.७९ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार ५ सय २९ रुपैयाँ बिनियोजन गरिएको छ ।
तिलोत्तमाले चालु आर्थिक वर्षका लागि २ अर्ब ७ करोड ७८ लाख ८३ हजारको बजेट ल्याएको थियो ।
तिलोत्तमाले आगामी वर्षका लागि भवन, शहरी विकास र पूर्वाधारका लागि सबैभन्दा बढी बजेट छुट्याएको छ । जसका लागि १ अर्ब ९५ लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रका लागि १४ करोड ३८ लाख ७७ हजार बजेट बिनियोजन गरिएको छ ।
त्यस्तै शिक्षा क्षेत्रका लागि ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिँचाइका लागि ३ करोड २३ लाख ५१ हजार, युवा, खेलकुद तथा मनोरन्जनका लागि ७३ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि ३ करोड ६५ लाख ५९ हजार बजेट छुट्याइएको छ ।
आइतबारको बैठकमा आर्थिक ऐन प्रस्तुत गर्दै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहेकी उपप्रमुख चौधरीले आगामी आर्थिक वर्षको लागि करका दर अधिकांश यथावत् राखिएको र कतिपय छुटेका क्षेत्रलाई करको दायरामा ल्याइएको बताइन् ।
प्रतिक्रिया 4