
१० असार, काठमाडौं । जिल्ला प्रहरी परिसर, ललितपुरमा मिटरब्याजमा ऋण दिएर लाखौं असूली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर नखिपोटका ज्ञानेन्द्र महर्जन रहेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताए ।
महर्जनविरुद्ध प्रहरीले अपराधिक लाभ तथा अनुचित लेनदेनको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, ललितपुरबाट म्याद लिएको छ ।
मिटरब्याजविरुद्ध पीडितले गरेको लामो आन्दोलनपछि सरकारले यसलाई सम्बोधन गर्न छुट्टै कानून ल्याएको हो ।
प्रहरीले त्यही कानूनमा टेकेर महर्जनविरुद्ध मुद्दा चलाएको हो । ‘नयाँ कानून अनुसार अनुचित लेनदेनमा संलग्नलाई मुद्दा चलेको यो पहिलो पटक हो’, एसएसपी शाहले भने, ‘उनले ३० लाख ऋण दिएर १ करोड २४ लाख फिर्ता दिइसक्दा पनि अझै एक करोड बाँकी रहेको दाबी गरिरहेका थिए ।’
पीडितले एक करोडभन्दा बढी बुझाइसकेको फेला परेपछि उनलाई पक्राउ गरिएको शाहले बताए । थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4