
झमक्क साँझ परेसँगै मानिसहरूको चहलपहल बढिरह्यो। पशुपतिनाथ मन्दिर पछाडि बागमतीको किनारमा आरती सुरु हुनै लागेको थियो। करिब–करिब हजारौंको संख्यामा मानिसको भीड बढ्दै गयो। हामी आरती हेर्न कुरिरह्यौं। धर्मको भक्त या धर्ममा लिप्त हुने व्यक्ति त म हैन तर पनि मन्दिर देख्नासाथ टाउको थोरै निहुराएर हातले शिर र छाती छोइहाल्नुपर्ने बानी छ मेरो।
‘भोले बाबा की’ भनेर गुरुले सुरु गर्नुभयो। लगभग सबैले दुवै हात उठाउँदै ‘जय’ भन्न थाले। मैले नि साथीहरूले देख्लान् कि भनेर अप्ठेरो मान्दै थोरै हात उठाएर विस्तारै मनमनै ‘जय’ भनें। तीनजना गुरुहरूले आरती सुरु गर्नुभयो। र अर्को गुरुले चैं बडो मीठो आवाजमा भजन गाउनुभयो र सोही तालमा थपडी बजिरहेको थियो।
गुरुको भजन र मादलको ताल बढेसँगै थपडी पनि बज्दै गयो। त्यो थपडीको आवाज यति मजाको सुनिएको थियो कि मानौं ती हजारौं मानिसले सयौं पटक अभ्यास गरेर प्रदर्शन गरिरहेका छन्। सोही धुन र तालमा मेरा हात पनि चलिरहे।
आरती सुनिरहँदा त्यहाँ छुट्टै खालको गन्ध आइरह्यो। चार–पाँच जना मरेका मानिसहरू आरती सँगै जलि नै रहे। ती जलिरहेका लासको धुवाँले पक्कै पनि वरिपरि बसेका सबै मानिसहरूलाई जीवनको ठूलो सत्यको अनुभूति गराइरहेको थियो।
मेरो मनमा पनि धेरै कुरा आइरहे। सधैंको दौडधुप, पढाइ, करिअर, परिवार सबै झल्झली फ्लास ब्याक जसरी आइरह्यो। कता कता म पनि यो सत्यको तलासमा थिएँ। मेरो एकजना कलेजको टिचरले भन्नुहुन्थ्यो, ‘सब नाटक हो, हामी नाटकका पात्र हौं, जो परिस्थिति अनुसार नाच्न सक्छ त्यही व्यक्ति मात्र अगाडि बढ्न सक्छ।’
अहिले सम्झिंदा सरको कुरा हो जस्तो लाग्छ। के म नाच्न सकेको छु त ? भनेर आफैंलाई प्रश्न गरें। तर उत्तरमा केवल एउटा मुस्कान आयो।
भोले बाबाको भजनको तालमा धेरैजसो नाचिरहेका थिए र कोही भने ताण्डव पनि देखाइरहेका थिए। विशेषगरी खरानी घसेका जोगीहरू। कोही भने टिकटकमा लाइभ बसेर संसारलाई आरती हेर्न आमन्त्रित गरिरहे।
अधिकांशले आफ्नो फोनबाट फोटो र भिडियो लिइरहेका थिए। म भने त्यो क्षणमा मन्त्रमुग्ध भएर टोलाइरहें। जीवनको गहिरो सोचमा डुबिरहें। जीवनको सत्यतालाई बुझ्न खोजिरहें।
त्यो क्षणमा डुब्दाडुब्दै मेरा आँखाहरू रसाएर छचल्किन थाले। मानौं त्यही पलमा सबै मनको भारी बिसाइरहेछु। मन हलुङ्गो हुँदै गयो र यो पालि ‘जय’ भन्दा चैं मैले यताउति कतै नहेरी बस दुवै हात माथि उठाएर ठूलो आवाजमा कराइरहें। यसो गर्दा मन भित्रैदेखि सुकुन महसुस भयो। लाग्यो कि अब फेरि ममा केही ऊर्जाहरू आइरहेको छ। सायद यही कारणले पो हो कि यी हजारौं मानिस यहाँ भेला भएर बसेका।
नभन्दै मानिसहरू छटपटिन थाले। आरती लगभग सकिन लागेको थियो। अघि अनुशासित भएर थपडीको तालमा ताल मिलाएर बसेका अहिले ठेलमठेल गर्दै आ-आफ्नो गन्तव्यतिर हिंड्न लागे। मैले नि घर जाने निधो गरें र पछाडि फर्केर पशुपतिनाथलाई ढोग्दै आजको मनको शान्तिको लागि धन्यवाद भनें।
प्रतिक्रिया 4