
१२ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । सोमबार किरातीले महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।
मन्त्री किरातीले सो निर्णय भएको विषयमा सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका छन् । महानिर्देशक अधिकारीले आफूलाई ‘अति जरुरी/गोप्य’ भनेर आएको पत्र सामाजिक सञ्जालमा मन्त्री आफैंले सार्वजनिक गरेकाले त्यसको स्पष्टीकरण पेश नगर्ने बताएका हुन् ।
‘म परेको सबै फेस गर्छु, तर स्पष्टीकरण दिन्नँ,’ महानिर्देशक अधिकारीले अनलाइनखबरसँग भने,‘राष्ट्रिय सुरक्षामा नै गम्भीर असर पर्ने खालका सूचना चुहिने गरी मन्त्रीज्यूले पत्र सामाजिक सञ्जालमा राख्नुभएको छ, यो सही छैन ।’
महानिर्देशक अधिकारीमाथि मन्त्रालयले उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाएको छ ।
पर्यटनमन्त्री किरातीले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट घोषणा तथा अन्तर्राष्ट्रिय हवाई संगठनको सिफारिसअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकायका रुपमा छुट्याउने नीति विपरीत सार्वजनिक सञ्चारमाध्यममा कार्यात्मक विभाजन मात्रै गर्दा हुने अभिव्यक्ति दिएको सहित अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रुबाहक विमान र ३ वटा हेलिकप्टरहरु दुर्घटना भएको लगायतका विषय उल्लेख गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेका छन् ।
मन्त्रालयले उनलाई दुर्घटना रोक्नभन्दा दुर्घटनापछिको प्रतिक्रिया दिन मात्रै अघि सरेको, एरोड्रम सेफ्टी स्टान्डर्ड विभाग र राष्ट्रिय गौरबका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाएर पोखरा विमानस्थलको प्रमाणीकरण गरेको, फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई उड्डयन सुरक्षा मूल्यांकनको पूर्व तयारीसमेत नगरीकन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको, परीक्षण उडानपछि प्रतिवेदन प्राप्त नभई एयरबस ३२० विमानलाई पोखरा विमानस्थलमा उडान गराएको, पोखरा विमानस्थल उद्घाटनको दिन भीएफआरको समय सकिएपछि पनि लापरवाहीपूर्वक उड्डयन सुरक्षा नियम प्रतिकुल हुने गरी ५ वटा विमान कम्पनीका उडानहरु गराएको विषयमा मन्त्रालयले अधिकारीलाई जवाफ पेश गर्न भनेको छ ।
पोखरा विमानस्थलको सञ्चालनमा ल्याउन छिनडाँडा काट्दा आर्थिक हानि नोक्सानी पुर्याएको लगायतका विषयमा पनि स्पष्टकीरण सोधिएको छ ।
प्रतिक्रिया 4