+
+

ओबामाको टिप्पणीप्रति किन आक्रोशित छ भाजपा ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १३:२१

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको अभिव्यक्तिलाई लिएर भारतको सत्तारूढ दल भारतीय जनता पार्टी आक्रोशित भएको छ । ओबामाले अमेरिकी सञ्चार माध्यम सीएनएनसँगको अन्तर्वार्तामा भारतले अल्पसंख्यकको अधिकारको रक्षा नगरेमा फेरि विभाजन आउन सक्ने टिप्पणी गरेका थिए । उनले सत्तारूढ दलका नेताहरूलाई अनुदार लोकतन्त्रवादीको संज्ञा दिएका थिए ।

उक्त कुराकानीमा ओबामालाई अनुदार लोकतन्त्रवादीसँग राष्ट्रपति बाइडेनले गर्नुपर्ने व्यवहार र सम्बन्ध विस्तारमामा पुर्‍याउनुपर्ने ख्यालबारे प्रश्न सोधिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदमा सम्बोधन गर्नुअघि ओबामालाई चर्चित टेलिभिजन एंकर क्रिष्टिआन अमनपोरले प्रश्न गरेकी थिइन् । ‘यस्तो अवस्थामा भारतीयसँग राष्ट्रपति बाइडेनले कसरी व्यवहार गर्नुपर्छ वा कसरी सम्बन्ध अघि बढाउनुपर्छ?’ अमनपोरको प्रश्न थियो ।

अमनपोरको प्रश्नमा ओबामाले यो विषय निकै नै जटिल रहेको बताए । शासन प्रणालीमा मतभिन्नताकाबीच पनि कयौँ विषयका कारण सहकार्य गर्नुपर्ने बाध्यता आफू राष्ट्रपति हुँदा पनि व्यहोरेको उनको भनाइ थियो । अमेरिकी राष्ट्रपतिलाई निजी वा सार्वजनिक रूपमा समस्यामा पार्ने विषय वा अवस्थालाई बाइडेनले चुनौती दिन जायज हुने उनले बताए ।

‘राष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा हिन्दु बाहुल्य रहेको राज्यमा मुस्लिम अल्पसंख्यकका रक्षाको विषय उल्लेख गर्नु निकै नै महत्वपूर्ण छ । यदि मैले प्रधानमन्त्रीसँग संवाद गरेको हुन्थे भने मेरो संवादको अंश यो हुने थियो कि भारतले अल्पसंख्यकको अधिकारको प्रत्याभूति नगरेमा कुनै विन्दुमा पुगेर भारतमा फेरि विभाजन देखिनेछ । तर मलाई थाहा छ यसो भन्नु भारतीय स्वार्थको विपरीत हुनेछ’ ओबामाले भने ।

ओबामाको यस्तो टिप्पणीबाट आफूहरू अचम्मित र आक्रोशित भएको भारतीय अर्थमन्त्री निर्मला सीथारमनले बताइन् । ‘प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको समयमा समग्र भारतबारे संवाद हुनुपर्नेमा पूर्व राष्ट्रपतिले मुस्लिम समुदायको बारेमा मात्रै टिप्पणी गर्नु निकै आश्चर्यको कुरा हो । हामी अमेरिकासँग राम्रो सम्बन्ध चाहन्छौँ । यसको मतलब यो होइन कि धार्मिक सहिष्णुताबारेको टिप्पणी हामी सहन्छौँ’, उनले भनेकी छिन् ।

ओबामा राष्ट्रपति हुँदा सिरिया र यमनमा मुस्लिमहरूलाई लक्षित गर्दै गोलाबारी गरेको सीथारमनले बताइन् ।  मुस्लिम अधिकारबारेको टिप्पणी अघि ओबामाले आफ्नो पृष्ठभूमि स्मरण गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै रक्षामन्त्री राजनाथ सिंहले भारतले कहिल्यै पनि धार्मिक आस्थाका कारण नागरिकलाई फरक व्यवहार नगरेको जिकिर गरे । ‘मानिसहरूले बुझ्न जरुरी छ कि भारत धर्मनिरपेक्ष राष्ट्र हो । भारतबारे टिप्पणी गर्नुअघि ओबामाले आफ्नै कार्यकालमा मुस्लिम राष्ट्रहरूमा गरेको आक्रमण स्मरण गर्नुपर्थ्यो’, सिंहले भनेका छन् ।

संयुक्त पत्रकार सम्मेलनमा पनि मोदीलाई पत्रकारहरूले मुस्लिम अल्पसंख्यकप्रतिको व्यवहारबारे प्रश्न गरेका थिए । त्यसको जवाफमा मोदीले भनेका थिए, ‘म नेतृत्वको सरकारमा विभेदको कुनै स्थान नै छैन ।’

मोदीको यसपटकको अमेरिका भ्रमणमा भारतीय लोकतन्त्रबारे कुनै बहस भएन । अमेरिकाले तीन प्रमुख स्वार्थका कारण भारतसँगको सम्बन्ध थप विस्तार गर्न चाहेको थियो । भ्रमणका क्रममा राष्ट्रपति कार्यालयले राष्ट्रपति जो बाइडेनले लोकतन्त्रको आधारभूत मान्यता र सिद्धान्तबारे कुनै सम्झौता नगर्ने बताएको थियो । तर भारतीय पक्षको चाहना अनुसार त्यहाँको लोकतन्त्रको अवस्थाबारे कुनै बहस नगर्ने राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका थिए । ‘लोकतन्त्रको निकै लामो इतिहास भएको मुलुकलाई यसको आधारभूत सिद्धान्तबारे पाठ पढाउने पक्षमा ह्वाइटहाउस छैन’, उनले भनेका थिए ।

बाइडेन र मोदी दुबैले अमेरिका र भारतको सम्बन्ध पहिलेभन्दा निकै बलियो भएको बताएका छन्  । मोदीको अमेरिका भ्रमणमा उनले व्यापारिक समुदायको न्यानो आतिथ्य पाएका थिए भने उनका विरुद्ध प्रदर्शन पनि भएको थियो ।

मोदीको भ्रमणको  समयमा ७५ जना डेमोक्र्याटहरूले बाइडेनलाई पत्र लेख्दै भारतको मानवअधिकारबारे मोदीलाई प्रश्न गर्न ध्यानाकर्षण गराएका थिए । आफूहरूले राखेको सवालबारे बाइडेनले बेवास्ता गरेपछि डेमोक्र्याटका केही सांसदले मोदीको  सम्बोधन बहिष्कार समेत गरेका थिए ।

ओबामाको अर्न्तवार्ताको अंशले भाजपा यति आक्रोशित छ कि बाराक ओबामाको नामको बीचमा हुसेन भएको र यो मुस्लिमसँग मिल्दोजुल्दो रहेकाले उनले यस्तो टिप्पणी  गरेको भन्दै तर्क समेत गरे । असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले भनेका छन्, ‘भारतमा धेरै हुसेन छन् जसलाई तह लगाउनुपर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?