
१२ असार, काठमाडौं। नेपाल खुला विश्वविद्यालयमा स्नातक तह तेस्रो सेमेस्टरको र एमफिल दोस्रो सेमेस्टरको कक्षा गत चैतमै सकिएको हो, तर अहिलेसम्म परीक्षा हुन सकेको छैन। सेमेस्टर प्रणालीमा पनि कक्षा सकिएको तीन महिनासम्म परीक्षा नहुँदा आफूहरुको भविष्य अन्योलमा परेको विद्यार्थीहरुले बताएका छन्।
एक विद्यार्थीले भने, ‘सेमेस्टर सिस्टममा कक्षा सकिएपछि परीक्षा हुनुपर्ने हो। हाम्रो त चैतमा कक्षा सकिएको अहिलेसम्म परीक्षा रुटिन सार्वजनिक गरेको छैन।’
करिब डेढ वर्षसम्म डिनविहीन रहेको विश्वविद्यालयको सामाजिक शास्त्र तथा शिक्षा संकायमा गत १९ चैतमा डा. खगेन्द्र प्रसाईं डिन नियुक्त भएका थिए। विद्यार्थीहरुले डिनको असक्षमताका कारण आफूहरुको परीक्षा हुन नसकेको आरोप लगाएका छन्।
‘डिनको जिम्मेवारीमध्ये समयमा परीक्षा गराउनु र नतिजा दिनु पनि हो । सबै बुझैकै व्यक्ति आउनुभयो नियमित हुन्छ भन्ने आशा थियो’, एक विद्यार्थीले भने, ‘चैतमा हाम्रो कक्षा सकिएको राम्रोसँग जानकार हुनुहुन्छ त्यही पनि अहिलेसम्म परीक्षा गराउन नखोज्दा उहाँको योग्यतामाथि शंका स्वभाविक रुपमा उठेको छ ।’
समयमा परीक्षा सञ्चालन नभएको विषयमा विद्यार्थीहरुले ध्यानाकर्षण गराएपछि उपकुलपति प्रा.डा.शिलु मानन्धरले डीन र परीक्षा समितिलाई समयमा परीक्षा गराउन पत्राचार गरेकी छिन्।
उपकुलपतिले २६ जेठमा पत्राचार गरेपनि अहिलेसम्म परीक्षा सञ्चालन गराउने तयारी नभएको विद्यार्थीहरुले गुनासो गरे।
डिन सहप्राध्यापक प्रसाईंले भने विगतमा लामो समय डिन खाली हुँदा बिग्रेको तालिका मिलाउँदै जाँदा ढिलो भएको बताए। ‘दुई वर्षदेखि बिग्रिदै आएको तालिका मिलाउँदैछौं। त्यही तन्किएर केही समय लागेको हो । अब चाँडै एक साथ परीक्षा गराउने तयारी भइरहेको छ’ उनले भने।
प्रतिक्रिया 4