+

साफ फुटबलमा समग्र प्रदर्शनबाट म खुशी छु : प्रशिक्षक एनेस

२०८० असार  १२ गते २०:१३ २०८० असार १२ गते २०:१३
साफ फुटबलमा समग्र प्रदर्शनबाट म खुशी छु : प्रशिक्षक एनेस

१२ असार, बैंगलुरु । साफ च्याम्पियनसिप खेल्न भारत आउनुअघि नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले कुनै स्पष्ट लक्ष्य बताएनन् ।

कारण उनले आफू हल्ला गर्ने भन्दा पनि खेलमा केन्द्रित हुने बताएका थिए र टिमको प्रदर्शन नै आफ्नो लागि मुख्य हुने बताएका थिए ।

यस पटक दुई आमन्त्रित टिम साफ खेल्न आएपछि घरेलु टोली भारत, कुवेत र पाकिस्तानसहित समूह ए मा रहेको नेपाल सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरियो ।

तर अन्तिम खेलमा पाकिस्तान विरुद्ध १-० को जितसहित नेपालको साफ यात्रालाई टुङ्ग्यायो ।

यस जितमा नेपालको लागि केही विशेष रह्यो । किनभने नेपालले पाकिस्तानलाई साफमा १५ वर्षपछि हरायो । त्यसका लागि युवा फरवार्ड आशिष चौधरीले डेब्यु गोल गरे ।

प्रशिक्षक एनेसकै लागि पनि मुख्य प्रतियोगितामा नेपालका लागि यो पहिलो जित रह्यो ।

हुन त नेपालले उनकै प्रशिक्षणमा गत चैतमा भुटान र लाओस सम्मिलित थ्री नेसन्स कपको उपाधि जिताएका थिए ।

त्यसपछि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमा नेपाल १-० ले पराजित भयो भने साफमै नेपाल कुवेतसँग ३-१ र भारतसँग २-० ले पराजित भयो ।

थ्री नेसन्सका लगातार तीन खेल जिताएका एनेसले लगातार तीन हारको श्रृंखलालाई पनि ब्रेक लगाएका छन् र फेरि जितको सुरुवात गरेका छन् । यो जितको श्रृंखला कतिसम्म चल्छ त्यो भने हेर्न बाँकी छ ।

तर अहिलेका लागि भने उनले साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शनबाट सन्तुष्ट  रहेको बताएका छन् । भलै नेपाल समूह चरणबाटै बाहिरिनपर्‍यो ।

‘समग्रमा भन्दा हामीले जे गर्‍यौँ हामीले ‘सुपर जव’ गर्‍यौँ । खेलाडीले राम्रो खेले । सबै राम्रो थियो । मैले इन्जोए गरेँ । खेलाडी परिवर्तन गरेँ र सिस्टम चेन्ज गरे’, पाकिस्तानलाई हराएपछि प्रशन्न देखिएका एनेसले पोष्ट म्याच कन्फेरेन्समा भने ।’

उनले थपे, ‘नेपाली खेलाडीमा पोटेन्सियल र व्यक्तिगत क्षमता छ । तर हामीलाई समय चाहिन्छ । यो साफमा जे गर्‍यौँ त्यो धेरै हो ।’

पाकिस्तान विरुद्ध दुई पटक फर्मेनस परिवर्तन गरेर खेलाउँदा सफल भएको उनले बताए ।

उनले भने, ‘पहिलो हाफमा हामीले दुई अवसर बनायौँ तर गोल भएन । सुरुमा ४-२-३-१ फर्मेसनमा खेलेका थियौँ । दोस्रो हाफमा ४-४-२ मा खेलायौँ र पछि ४-३-३ मा खेलाएँ । हामीले समय अनासर त्यसलाई अडप्ट गर्‍यौँ हरेक क्षेत्रमा ।’

आशिष चौधरीले पाएको अवसरलाई प्रमाणित गरेर देखाएको एनेसले बताए । ‘हामीले स्ट्राइकरलाई चान्स दियौँ । आशिषले गोल पनि गरे । जुन नेपाली फुटबलकमा लागि धेरै महत्वपूर्ण छ । किनकी पछिल्लो ४-५ खेल हेर्दा अन्जनले मात्रै ५० प्रतिशत गोल गरेका थिए । ‘

एनेस त्यत्तिमै रोकिएनन्, ‘कसैले गोल गर्नुपर्ने थियो र त्यो काम आशिषले गरे । उनलाई पहिलो स्ट्राइकरको रुपमा खेलाउन सकिन्छ । म धेरै खुशी छु ।’

उनले नेपाली जनता नेपाली फुटबललाई सम्मान गर्ने भन्दै आफू सबैसँग खुशी रहेको दोहोर्‍याए । उनले अन्य टिमले नेपाल भन्दा धेरै राम्रो तयारी गरेको र नेपालले त्यो अवसर नपाएको बताए ।

उनले नेपालीको प्रशिक्षकबाट अलग हुने हल्ला गलत रहेको बताए । ‘म नेपालकै प्रशिक्षक रहनेछु र नेपाल फर्कनेछु । मेरो सम्झौता बाँकी नै छ र म त्यसको सम्मान गर्छु ।’

अल्बर्टो एनेस साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय