+
+

प्रधानमन्त्री निवास निल्न खोज्नेहरु पक्राउ पर्न थालिसके : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १२:२५

१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको दाबी गरेका छन् । साथै उनले यस्ता विकृति विरुद्धको लडाइँ यतिमै नरोकिने बताए ।

प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नहरुको बुधबार संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले व्यवस्थाप्रति जनतामा जगाएको भरोसा नै सरकारको सबभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । आफू प्रधानमन्त्री हुँदा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, त्यसमा अहिले सुधार भएको उनले बताए ।

हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको उनले बताए ।

यसले कानुनको मात्र होइन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको उनले बताए । ‘उच्च पदस्थहरु र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणित हुँदै गएको छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ ।’

यो शुद्धीकरण यत्तिमा नरोकिने र निरन्तर अगाडि बढ्ने भन्दै उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । मिटर ब्याजी र सहकारीका ठगहरुमाथि करबाही सुरु भइसकेको छ ।’

वर्षौंदेखि थुप्रिएको विकृतिको डंगुर सफा गर्ने यो लडाइँमा आफूलाई संसद र आम जनताको समर्थन चाहिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?