+
+

उपत्यकाको केन्द्रमा साहसिक गन्तव्य : २५ तलामाथि ‘स्काइ–वाक’

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १७:०९

१३ असार, काठमाडौं । ‘दिनको एकपटक डर लाग्ने काम गर’ तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्यांलिन रुजवेल्टकी श्रीमती तथा संयुक्त राष्ट्रसंघमा शान्तिको लागि काम गरेकी एलोनोर रुजवेल्टको भनाइ हो । विश्वमा अहिले हरेक दिन नयाँ साहसिक कुराहरुको चर्चा भइरहन्छ । चाहे त्यो खेलमा होस्, पर्यटनमा होस् वा व्यवसायमा होस् । अग्ला टावरको सिसामाथि हिँड्नु आफैंमा साहसिक र रोमाञ्चक अनुभव हुन्छ ।

यस्ता टावरको टुप्पोमाथि स्काइ वाक अर्थात् सिसामाथि हिँड्ने साहसिक मज्जा लिन अब न्यूयोर्कको ‘द एज’ टावर पुग्नुपर्ने छैन । न त दुबई स्काइ भ्युज अब्जरभेटरी नै पुग्नुपर्ने छ । त्यो अवसर अब काठमाडौंको केन्द्र भाग कमलादीमा पाइने भएको छ । वन्डर्स नेपालले निर्माण गरेको ‘स्काइ वाक’मा सिसामाथि हिँड्दा मुटु ढुकढुक हुने रोमाञ्चकता त अनुभूत हुन्छ नै, काठमाडौं उपत्यकालाई उडेको चराले हेरेजस्तै हेरेर मज्जा पनि लिन सकिनेछ ।

काठमाडौंको कमलादीमा बनेको भव्य स्काइ वाक शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । वन्डर्स नेपालले २ अर्ब लगानी गरेर सञ्चालमा ल्याएको स्काइ वाकमा सर्वसाधारणलाई खुला गर्नका लागि सबै तयारी पुरा भएको वन्डर्स नेपालका प्रबन्ध निर्देशक सोहन श्रेष्ठले बताए ।

कुल १३ रोपनीमा निर्माण भएको टावर ७८ दशमलव ५ मिटर अग्लो रहेको छ, जुन सुन्धाराको धरहरा भन्दा १६ मिटर अग्लो हो । २५ तल्ला रहेको टावरमा २२ तल्लासम्म लिफ्ट चडेर र बाँकी तीन तल्ला सिंढीमार्फत माथि जानुपर्ने हुन्छ । दुई वटा लिफ्ट सुविधा भएको टावरमा एकचोटीमा ४५ जना भन्दा धेरै मान्छे तलमाथि गर्न सक्ने क्षमता छ । २५ औं तलामा रहेको सिसा ओच्छाइएको भुइँमा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा खुला आकाशमा हिँडेजस्तो अनुभूत हुन्छ, वरिपरिका भवन तथा जमिन आफ्नै खुट्टामुनि देखिन्छ । यसरी आकाशमा हिँड्दा आँङ जिरिङ्ङ भएझैँ हुन्छ, मुटु ढुकढुक पक्कै हुन्छ । यही त हो, एडभेन्चर ।

२५ औँ तलमा रहेको स्काइ वाकको क्षेत्रफल झण्डै एक रोपनी रहेको प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए । त्यहाँ एकैपटकमा ५ सय मान्छे अट्ने अनुमान कम्पनीले गरेको छ । एकपटक त्यहाँ पुग्नेले आधा घण्टाको हाराहारीमा वरिपरि घुमेर काठमाडौं उपत्यकाको रोमाञ्चक दृश्यावलोकन गर्न पाउँछन् । त्यसका लागि सर्वसाधरणलाई १ हजार शुल्क निर्धारण गरेको कम्पनीले जनाएको छ । तर, ८० वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फिट उचाइ सम्मको बच्चालाई कुनै पनि शुल्क लाग्दैन । ७० देखि ८० वर्षकालाई ५० प्रतिशत छुट रहेको छ । सिसामाथि हिँड्न कम्पनीले ‘शु कभर’ प्रदान गर्ने छ । तर, त्यहाँ प्रवेश गर्नुअघि सुरक्षा जाँचपास गर्नु अनिवार्य हुनेछ ।

स्काइ वाक गर्ने सिसा पूर्णरुपमा सुरक्षित रहेको श्रेष्ठको दाबी छ । ‘यो ब्रिटिस स्ट्याण्डर्डको सिसा हो, यसमा १० एमएमको ३ वटा तह गरी ३० एमएम मोटो सिसा छ, त्यसलाई जोड्ने डेढ एमएमको दुई वटा सिसासमेत थपेर कुल ३३ एमको बाक्लो सिसा रहेको छ,’ श्रेष्ठले भने । उनका अनुसार यो उत्पादक कम्पनीले पनि यसको सुरक्षाको परीक्षण गरिसकेको छ । यो स्काइ वाक निर्माण गर्दा जमिनको सतहबाट ३५ मिटर मुनिसम्म ५८ वटा फलामका डण्डीहरु गाडेर बलियो बनाएको श्रेष्ठले बताए ।

एडभेन्चर स्पोर्टस्, टुरिजम र रेष्टुरेन्टसहितका सुविधा भएको यति ठूलो स्काइ वाक दक्षिण एसियामै पहिलोचोटी सञ्चालनमा आएको दाबी वन्डर्स नेपालका प्रबन्ध निर्देशक श्रेष्ठले गरे ।

टावरको २३ औं र २४ औं तलामा रेष्टुरेन्ट छ, जहाँ एकैपटक ३ सय मान्छेले सेवा लिन सक्छन् । स्काइ–वाक टावरको कम्पाउण्डमा एम्फी थिएटर र रेष्टुरेन्टको सुविधा रहेको छ, जहाँ शुक्रबार र शनिबार सांगीतिक कार्यक्रमसमेत हुनेछ । कम्पाउण्डमा भएका रेस्टुरेन्ट, एम्पिथिएटरमा जान शुल्क लाग्दैन, स्काइ वाकमा जान मात्रै शुल्क लाग्नेछ ।

कम्पनीका अनुसार एक सयवटा चारपाङ्ग्रे गाडी र करिब ३ सय वटा मोटरसाईकल पार्किङको सुविधा रहेको छ । स्काइ टावरको क्षेत्रमा ३६ वटा सटर निर्माण भइरहेको छ ।

काठमाडौं महानगरपालिकाको पर्यटन विभागले पनि यो स्काइ वाकको अडिट गरिसकेको जानकारी उनले दिए । स्काइ वाक टावरमा नयाँ आकर्षणहरु थपिँदै जाने भएकोले लगानीसमेत थपिने उनले बताए ।

सुरूवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्रै स्काइ वाक सञ्चालन हुनेछ । तर पछि गएर टावर दैनिक २० घण्टा सञ्चालन गर्नै योजना रहेको श्रेष्ठले बताए । ‘हामी बिस्तारै बिहान सूर्योदय हुँदा योग गर्नेदेखि रात्रिकालीन कार्यक्रमसम्म सञ्चालन गर्ने योजनामा छौं, अहिलेको समयलाई बढाउँदै लानेछौं,’ श्रेष्ठले बताए ।

वन्डर्स नेपालले इलामको कन्याममा यसअघि नै स्काइ वाक चलाइसकेको छ । त्यस्तै, धनकुटाको भेडेटारमा नयाँ स्काइ वाक बनाउने तयारी भइरहेको छ । कम्पनीले साहिसक पर्यटनका क्षेत्रमा थप लगानी गर्ने प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।

हेर्नुहोस् भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?