
१३ असार, काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी नगराउने बताएका छन् ।
बुधबार राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री बस्नेतले निजी अस्पताल र मेडिकल कलेजलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी नगराउने विषयमा सरकारको स्पष्ट भइसकेको बताएका हुन् ।
‘स्वास्थ्य बीमा कार्यक्रम अत्यन्तै महत्वपूर्ण, ऐतिहासिक र नभइ नहुने कार्यक्रम हो । तर सही ढंगबाट कार्यक्रम भइरहेको छैन । रोगको पत्ता लागेपछि यसको उपचारको कुरा होला । धेरैकुरा हामीले सुधारेर जानुपर्ने स्थिति छ’ उनले भने, ‘निजी अस्पताल र मेडिकल कलेजहरुलाई अब स्वास्थ्य बीमा दिने कि नदिने ? लगभग नदिने कुरामा राज्यले एउटा धारणा बनाइसकेको छ ।’
मन्त्री बस्नेतले स्वास्थ्य बीमाको रकम लिन बिरामी नै नभएको व्यक्तिलाई बिरामी बनाउने गरेको पाइएको पनि बताए । ‘स्वास्थ्य बीमा भएपछि त्यहाँ बिरामीहरु बढ्ने रहेछ, त्यो फाइदा अस्पताललाई छ । … नभएको बिरामीलाई बिरामी बनाएर डकुमेण्ट मिलाएर त्यहाँ खर्च गराइदिने जस्तो पाइयो’, उनले भने, ‘यसलाई नियन्त्रणमा लिनुपर्छ ।’
प्रतिक्रिया 4