
१३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास क्रमश घट्दै गएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा आइपुगेको बताएका हुन् ।
‘गठबन्धनसँग बहुमत थियो । बजेट पारित हुनु स्वभाविक हो । हामीले आफ्नो मत देखायौं । ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्यो प्रधानमन्त्रीमाथिको विश्वास भन्ने त्यहाँ देखियो । अरु त्यसमा केही भनिरहनु परेन’, उनले भने ।
बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयक मत विभाजनबाट पारित गरिएको थियो । २७५ मध्ये २५५ जना मत विभाजनमा सहभागी हुँदा विधेयक पारितको पक्षमा १४७ मत खसेको थियो ।
एमालेसँग मिलेर सरकार बनाएका बेला प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदा २६८ सांसदले पक्षमा मतदान गरेका थिए ।
पछि एमालेसँग गठबन्धन टुटेर कांग्रेससँग सहकार्य गरेपछि प्रचण्डले ६ चैतमा विश्वासको मत लिँदा १७२ मत पाएका थिए । त्यतिबेला प्रचण्डलाई विश्वासको मत दिएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले भने बजेटको विपक्षमा मतदान गरेका छन् ।
प्रतिक्रिया 4