
१३ असार, काठमाडौं । मंगलबार दिउँसो ३ बजे प्रेमध्वज लामा बौद्ध परिसरस्थित हिमालयन ह्यान्डीक्राफ्ट हाउसमा टोलाइरहेका थिए । पर्यटक आउने सिजन सकिएका कारण खासै व्यापार थिएन । ६/७ जना मानिस उनको पसलमा छिरे । १२ वर्षदेखि बौद्धमा ह्याण्डीक्राफ्ट पसल गरिरहेका लामाका पसलमा छिर्नेहरु चिनियाँ मूलका थिए । एक जना नेपाली पनि थिए । चिनियाँले धेरै बार्गेनिङ गर्छन् भन्ठानेर प्रेमले ग्राहकलाई खासै वास्ता गरेनन् । ‘हेर्दैगर है,’ स्टाफ भाइलाई यति भनेर उनी फेरि टोलाउन अभ्यस्त भए ।
भाइले पसलमा छिरेका ग्राहकलाई आफ्ना सामान देखाउन थाले । मास्क लगाएका तर चाइनिज भाषामा एक अर्कासँग बोलिरहेका उनीहरुले पसलबाट दुई वटा सामान छाने । एउटा थियो सिङ्गिङ् बल र अर्को थियो मेडिटेसन गङ । त्यो सामान छानेपछि स्टाफ भाइले प्रेमलाई सामानबारे ब्रिफिङ गरिदिन भने । प्रेमले उक्त सामानबारे आफैंले बताउन थाले । ‘यो आफूहरुले बनाएको विशेष किसिमको ठूलो सिङ्गिङ् बल र मेडिटेसन गङ हो,’ प्रेमले ती व्यक्तिसँगको सम्वाद उदृत गर्दै अनलाइनखबरसँग भने, ‘सामान छानेका व्यक्तिले आफैं सिङ्गिङ् बल बजाए र गुड भने ।’
ती व्यक्तिले आफूसँगै रहेको अर्को व्यक्तिलाई सामान किन्न इशारा गरे । खरानी रङ्गको जुत्ता हाइफ पाइन्टमाथि खैरो रङको टीसर्ट र खरानी कलरकै क्याप लगाएका पातला कदका ती व्यक्ति प्रेमको पसलका सामानहरु मिहिन रुपमा हेर्न थाले । उनले इशारा गरेका व्यक्ति प्रेमसँगै काउण्टरमा आए । दुवै सामानको बिल जम्मा ५० हजार रुपैयाँ भयो ।
उनीहरुले डलरमा उक्त बिल तिरे । पैसा तिर्ने व्यक्तिले सामान पुर्यादिनु भन्दै एक होटलको ठेगाना दिए । ‘हामी त्यहाँ बस्छौं, बेलुकीको ७ बजे सामान छोडिदिनु होला,’ ती व्यक्तिको भनाइ उदृत गर्दै प्रेमले भने । मास्क लगाएका सबै जनाले पसलमा खासै थप कुरा गरेनन् । उनीहरु सामान्य मानिस जस्तै गरी पसल पसेका थिए । ३ बजेर ४ मिनेट जाँदा पसल छिरेका उनीहरू ३ बजेर २५ मिनेटमा निश्किए ।
साँझ ५ बजेतिर प्रेमले चिनियाँ अर्बपति ज्याक मा नेपाल आएको समाचार थाहा पाए । दिउँसो बिल तिर्ने बेलामा उनले सोधेका मानिसले आफ्नो ठेगाना हङ्कङ् बताएका थिए । तर समाचारमा ज्याक मा भनिएका मानिस र पसलमा आएका ग्राहक मिल्दोजुल्दो देखिन्थे । सामान डेलिभर गर्न भनिएको होटल र ज्याकमा बसेको होटल समाचार अनुसार उही भएको खुलेपछि प्रेम चकित भए । आखिर दिउँसो उनको पसलमा आएका ग्राहक त ज्याक मा पो रहेछन् ।
साँझ साढे ७ बजे प्रेम हर्षित मुद्रामा ज्याक मा ले खरिद गरेकाे ती दुई सामान लिएर होटल द्वारिकाजमा पुगे । होटल प्रशासनमा उनले सामान बुझाए । तर ज्याक मा सँग उनको भेट भएन ।
‘म त छक्क परेँ,’ प्रेमले अनलाइनखबरसँग भने,‘मेरो पसलमा चिनियाँ अर्बपति आएको कुरा पहिल्यै थाहा पाएको भए त पसल नै किन्न भन्थे नि ।’ उनी यसो भन्दै बेस्सरी हाँसे ।
पहिले वास्ता नगरेको ग्राहक बिल तिरेर फर्किसकेपछि अर्बपति भएको थाहा पाएपछि लाज पनि लागेको उनले सुनाए । रामेछाप बेथानका प्रेम १२ वर्षको आफ्नो व्यावसायिक करिअरमा पहिलो पटक विश्वले चिनेको सबैभन्दा ठूलो व्यक्तिले आफ्नो पसल टेकेकामा प्रफूल्लित छन् ।
‘हामी जस्तो सानो मानिसको व्यवसायमा चिनियाँ अर्बपति आएर किनमेल गर्नु हामीलाई हौसला हो,’ प्रेमले भने, ‘दोहोरो कुराकानी भयो तर तिनै मानिस ज्याकमा हुन भन्ने उनी बाहिरिएपछि मात्रै थाहा पाएर थक्क थक्क लागेको छ ।’
प्रतिक्रिया 4