+

बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

२०८० असार  १४ गते ८:०५ २०८० असार १४ गते ८:०५
बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

१४ असार, बेंगलुरु । बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । भारतको बेंगलुरुस्थित कान्तिराव स्टेडियममा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भुटानलाई ३-१ ले पराजित गर्दै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको हो ।

बंगलादेशले पछिल्लो पटक २००९ मा घरेलु मैदानमा भएको साफमा सेमिफाइनल खेलेको थियो ।

बुधबारको खेलमा भुटानले पहिले अग्रता लिए पनि बंगलादेशले पुनरागमन गर्दै जित निकाल्यो र ३ खेलबाट ६ अंक जोडेर समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनायो ।

आमन्त्रित टिम लेबनान तीनवटै खेल जित्दै ९ अंक जोड्दै समूह विजेता बनेर सेमिफाइनल पुगिसकेको छ ।

खेलको १२औं मिनेटमा तेसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । तर भुटानले अग्रता कायम राख्न सकेन । २१औं मिनेटमा शेद मोर्सालिनले बंगलादेशका लागि बराबरी गोल फर्काए । ३०औं मिनेटमा भुटानकै फुन्सो जिग्मेले आत्मघाती गोल गर्दा बंगलादेशले २-१ को अग्रता लियो । राकिब होसेनले ३६औं मिनेटमा गोल गर्दै बंगलादेशलाई पहिलो हाफमै ३-१ को अग्रता दिलाए । त्यसपछि दुवै तर्फबाट गोल भएन ।

बंगलादेशको जितपछि समूह चरणका खेलहरु सकिएका छन् र सेमिफाइनल समीकरण तय भएको छ । पहिलो पटक साफ खेलिरहेका आमन्त्रित टिमद्वय लेबनान र कुवेतसहित घरेलु टोली भारत र बंगलादेशले यसपटक सेमिफाइनल खेल्नेछन् ।

अब समिफाइनलमा बंगलादेशले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । कुवेत भारतलाई पछि पार्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यस्तै समूह ‘बी’ को विजेता लेबनानले भारतसँग खेल्नेछ ।

दुवै सेमिफाइनल खेल आगामी शनिबार हुनेछन् । फाइनल खेल भने आगामी मंगलबार हुनेछ ।

बंगलादेश साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय